हैदराबादविरुद्ध टस जितेको दिल्ली ब्याटिङ गर्दै, सन्दीपलाई अझै छैन मौका
काठमाडौं, २३ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार बेलुका दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दै छन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।
यद्यपि लिग चरणका १४ वटै खेल र पहिलो क्वालिफायर खेलमा समेत मौका नपाएका सन्दीप दोस्रो क्वालिफायर खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ ।
पृथ्वी शको ठाउँमा प्रवीण दुवे आएका छन् भने डानियल साम्सको ठाउँमा शिम्रोन हेटमायर पुनः टोलीमा फर्किएका छन् ।
आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । लिग चरणका दुवै भेटमा हैदराबादले बाजी मारेको थियो ।
दिल्लीले यस खेलमा जीत निकाल्दै दुवै हारको बदला लिएर आइपिएल इतिहासमा पहिलोपटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।