scheduleबिहिवारमाघ १५ गते, २०७७

पर्यटन क्षेत्रको संकटमोचनको लागि समाजवादी मोडल

डा. रामचन्द्र लामिछाने

लामो समयदेखि विभिन्न प्रतिकुलतासँग जुध्दै आएको पर्यटन क्षेत्र कोभिड-१९ का कारण विगत ९ महिनादेखि ठप्प भएको छ । व्यवसाय ठप्प भएको कारण पर्यटन व्यवसायीहरु तथा पर्यटनकर्मीहरुका आर्थिक कारोबार ठप्प छन् भने यस क्षेत्रसँग आवद्ध ११ हजारभन्दा बढी व्यवसायी र लाखौंको रोजगार प्रभावित भएका छन् । कतिपय व्यवसायीहरु विस्थापित भएका छन् भने लाखौंले रोजगार गुमाइसकेका छन् ।

कोभिड-१९ का कारण विश्व सामाजिक परिस्थितिमा आमुल परिवर्तन आएको छ । सदियौंदेखिको मानव सम्बन्धहरु, आदतहरु, चाहनाहरु, रोजाइ र गन्तव्यहरुमा आमुल परिवर्तन भएको छ । इन्टरनेटको अधिकतम सदुपयोगले भौतिक दूरीलाई समिप बनाइदिएको छ भने भौतिकरुपमा नै गर्नुपर्ने कुराहरुमा सीमितता भएको छ । अति आवश्यक कामबाहेक मानिसहरु बाहिर निस्कन चाहेका छैनन् । घरबाहिरका कामहरु निकै सीमित र थोरै भएका छन् ।

यस परिस्थितिले प्रायः सबै व्यापार व्यवसायलाई प्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ भने पर्यटन व्यवसायमा सबै भन्दा ठूलो नकारात्मक प्रभाव परेको छ । यस व्यवसायलाई बचाउन र चलायमान बनाउन वैकल्पिक सोचको आवश्यकता छ । पर्यटन व्यवसायप्रतिको अहिलेकै बुझाई र त्यही बुझाइमा आधारित सिफारिशले यो क्षेत्र चलायमान हुन सक्दैन ।

डा. रामचन्द्र लामिछाने

कोभिड-१९ को उपचार पद्धती प्रभावकारी नभइन्जेलसम्म पर्यटन व्यवसायलाई ठप्प राख्नु भनेको यस व्यवसायलाई धारासायी बनाउनु हो, जसले अन्ततः राष्ट्रिय अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव पार्नेछ तर के पनि सत्य हो भने पुरानै पर्यटन गन्तव्य र अहिलेकै सेवा र सुविधाले पर्यटन क्षेत्रलाई अगाडि बढाउन सक्दैन । पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रलाई नयाँ सोच र नयाँ पद्धतिको विकास गर्न जरुरी छ । अब कोभिड-१९ ले सिर्जना गरेको अन्यौल र अनिश्चिताले सिर्जना गरेको परिवेशलाई नवनविनतम् परिस्थितिको रुपमा स्वीकार गरी पर्यटन गन्तव्यहरुको व्यवस्थापन गर्न पर्दछ । पर्यटनका सवै उपक्षेत्रहरु सुरक्षित र विश्वासिलो हुनु पर्दछ ।

हवाई तथा जमिनमार्गमा पर्याप्त मात्रामा स्वास्थ्य सावधानीसहित स्वास्थ्य सेवा अनिवार्यरुपमा हुनुपर्दछ । पर्यटकहरुको गन्तव्यका रुपमा रहेका क्षेत्रहरुमा पिसिआर परीक्षण तुरुन्त हुन सक्नु पर्दछ भने पर्यटन क्षेत्रहरुमा पर्याप्त मात्रामा चिकित्सक, आइसोलेन केन्द्र र पर्यटनलक्षित एम्बुलेन्स तथा अस्पतालसहित पर्याप्त मात्रामा सेनिटाइजर र हात धुने व्यवस्था हुन जरुरी हुन्छ । यसका अलावा पर्यटन क्षेत्रका जनशक्तिहरुमा पनि कोभिड-१९ पछिको अवस्थामा सेवा दिनको लागि विशेष क्षमता आवश्यक हुन्छ र त्यसको लागि त्यस क्षेत्रमा कार्यरत जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्नु पर्दछ ।

होटल तथा रेस्टुरेन्टहरुले कोभिड-१९ विशेष मेनुको विकास गर्नु पर्दछ भने बस्ने कोठाहरु निरन्तर सेनिटाइज्ड हुन्छन भन्ने विश्वास दिलाउनु पर्दछ । सरकारले सबै स्वास्थ्य मापदण्डहरु पूरा गरिएका कुराहरुको अनुगमन निरन्तर गरी प्रमाणपत्र दिनुपर्दछ । सञ्चार माध्यमहरुले नेपाल सुरक्षित भएको र यहाँका सेवा तथा सुविधाहरु स्वास्थ्यजनक, सुरक्षित, भरपर्दो र विश्वासिला छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ ।

अहिले सामाजिक परिवेशमा व्यापक परिवर्तन भएको छ त्यसकारण अहिले भएका हिमाल, ताल, पदमार्ग, राष्टिय निकुञ्जजस्ता पर्यटन गन्तव्यहरुले मात्र पर्यटकहरुलाई आकर्षक गर्न सक्दैनन् । अब पर्यटन उत्पादनहरुलाई नयाँ तरीकाले विकसित गरी नयाँ पर्यटक गन्तव्यहरुको विकास गर्न पर्दछ । तुलनात्मकरुपमा नेपाल सुरक्षित देश भएकोले नयाँ पर्यटक गन्तव्यहरु विकास गर्न सकियो भने पर्यटन व्यवसाय पुनः फष्टाउने कुरामा विश्वस्त हुन सकिन्छ । जतिसुकै महामारी भए पनि शैक्षिक, स्वास्थ्य, अनुसन्धान, मनोरन्जन, व्यसायिक सभा, सम्मेलनहरु सुचारु भइनै रहन्छन् ।

त्यसको लागि नेपालको भौगोलिक बनावट, सामाजिक र सांस्कृतिक बनावटको तुलनात्मक लाभ प्राप्त हुने गरी नेपालका शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, अनुसन्धान केन्द्रहरु, मनोरन्जन उद्योग तथा व्यसायिक केन्द्रहरुको स्तरोन्नति गरी अन्तराष्ट्रिय स्तरको बनाउनु पर्दछ र यी पर्यटन उत्पादनहरुको ब्राण्डिङ गर्नुपर्दछ ।

पर्यटन क्षेत्रको उद्धार, नयाँ संरचना निर्माण र नयाँ उत्पादनहरु विकास गर्न सरकारी, गैरसरकारी र नीजि क्षेत्रहरुले ठूलो लगानी गरेर नयाँ परिस्थितिको निर्माण गर्नु पर्दछ । अहिलेकै सोच, काम र व्यवहारले पर्यटन क्षेत्र अगाडी वढन सक्दैन । नयाँ क्षेत्रको विस्तार गर्न आवश्यक रकम लगानीको लागि बैंकहरुको भूमिका महत्वपूर्ण हुन्छ । बैंक भनेको आर्थिक कारोवार गर्ने त्यस्तो आर्थिक संस्था हो जसले अर्थको संकलन तथा लगानी गर्दछ । बैंकहरुले निश्चित ब्याजदरमा नागरिकहरुका बचत रकमको संकलन गर्दछ भने निश्चित ब्याजदरमा पुनः लगानीकर्ताहरुलाई लगानी गर्दछ ।

देशको आर्थिक स्थायित्व र पूँजी संकलन तथा परिचालनको लागि सरकारको उच्च स्तरको अनुगमन रहने गरी बैंकहरुको आवश्यकता हुन्छ । नेपालमा हालसम्म २७ वटा वाणिज्य बैंकहरु, २० वटा विकास बैंकहरु र २२ वटा फाइनान्स कम्पनीहरु कार्यरत छन् । यी बैंकहरुले पर्यटन क्षेत्रहरुमा लगानी गर्दै आइरहेका छन् । नेपालका वाणिज्य तथा विकास बैंकहरुले कुनै निश्चित क्षेत्रमा हुने मुनाफामा केन्द्रित रहेर कारोबार गर्ने गर्दा महामारीमा व्यवसायको संरक्षणभन्दा पनि मुनाफा नै पहिलो प्राथामिकता रहने गरेको छ ।

यत्रो महामारीको बेलामा पनि मुनाफामा गएको क्षेत्र भनेको बैकिङ्ग क्षेत्र र नीजि स्वास्थ्य क्षेत्रहरु मात्रै हुन् । एकपटक लगानी गरेका ग्राहकलाई पुनः कर्जाको आवश्यकता परेमा फेरी नयाँ सझौता गरी ऋण दिने प्रचलन रहेको छ भने ऋण लिँदाको बेलामा गरिएको सम्झौता विपरीतबीच बीचमा ब्याजदर बढाउने प्रचलनका कारण नेपालको बैकिङ्ग क्षेत्र व्यवसायमैत्री छैनन् ।

सीमित मात्रामा बैकिङ्ग संस्थाहरु, पूँजीको व्यवस्था र नीजि क्षेत्रहरु प्रति बढ्दो निर्भरताको कारण संकट व्यवस्थापनमा सरकारको भूमिका र क्षमता सारै न्यून रहेको छ । वर्तमान कोभिड १९ का कारण पर्यटन व्यवसायीहरुले बैकिङ्ग क्षेत्रवाट आशातित सहयोग नपाउँदा व्यवसायबाट पलायन तथा व्यवसायहरु बन्द गर्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायको संरक्षण गर्न सरकारले वैकल्पिक उपायसहित आफ्नो रणकौशल देखाउन जरुरी छ ।

व्यवसायीहरुमाथि ऋणको ब्याज र साँवा भुक्तानीको लागि नीजि बैंकहरुबाट निरन्तर दवाव आइरहेको छ । एक त बन्द प्रायः व्यवसाय, अर्को निरन्तर साँवा र ब्याज भुक्तानीको दवाबले गर्दा व्यवसायीहरुलाई थप निराशा बनाएर व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको छ । यस विषम अवस्थामा व्यवसायको संरक्षण गर्न नेपाल सरकारको मौद्रिक नीतिले केही राहत प्याकेजहरु ल्याएको भए पनि मौद्रिक नीति मुताबिक व्यवसायीहरुलो सुविधा पाएका छैनन् भने सरकार पनि प्याकेज कार्यान्वयनको लागि बैंकहरुमाथि भर पर्न परेको छ ।

बैकिङ्ग क्षेत्रको ठुलो हिस्सा नीजि क्षेत्रको छ । अहिलेका बैकहरुले गर्ने ढिला सुस्ती तथा आनाकानीबाट सरकारले घोषणा गरेका कुनै पनि राहत प्याकेजहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् । नीजि क्षेत्र जत्तिकै सरकारी साझेदारीमा, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुको स्वामित्वमा प्रयाप्त बैंकहरु भएको भए यस प्रकारको महामारीबाट सिर्जित आर्थिक कुप्रभावको सहजै व्यवस्थापन हुन सक्दथ्यो ।

रिफाइन्नास, सहुलियत कर्जा जस्ता व्यवस्था सहजै सामाधान हुन सक्दथ्ये । नवउदारवादमा आधारित भएर नीजि क्षेत्रलाई सम्पूर्ण बैकिङ्ग क्षेत्र जिम्मा लगाउँदाको परिणति अहिले सबै क्षेत्रमा प्रष्ट देख्न सकिन्छ । नेपाल जस्तो देशले पर्यटन क्षेत्रलाई चुस्त बनाउन बैंक, यातायात र स्वास्थ्य क्षेत्र पूर्णरुपमा सरकारी नियन्त्रणमा हुन पर्दछ भन्ने सिकाई यस परिस्थितिबाट सिक्नु पर्दछ ।

वित्तिय संस्थाहरुमाथि सरकारको नियन्त्रण नभएका कारण सरकारले घोषणा गरेका राहत प्याकेज अलपत्र परेका छन् भने सरकारप्रति व्यवसायीहरुको अविश्वास बढेर गएको छ । यस्तो अवस्थामा व्यवसायीहरुलाई संरक्षण तथा व्यवसाय प्रवर्द्धन गर्न सरकारले दिर्घकालीन उपाय खोज्नु पर्दछ । सरकार, व्यवसायीहरु र व्यवसायमा सम्बद्ध कर्मचारीहरु संगठित भएर संयुक्त स्वामित्वमा पूँजी निर्माण गर्नु पर्दछ । जबसम्म यसै क्षेत्रको स्वामित्वमा पूँजीको स्वामित्वको सुनिश्चित हुँदैन तबसम्म यस्ता महामारी र संकटकालहरुमा व्यवसायलाई संरक्षण गर्न सकिँदैन ।

नेपालको संविधानले निदृष्ट गरेबमोजिम समाजवादी बाटोबाट दिर्घकालीनरुपमा आर्थिक विकासको जग निर्माण गर्न, पर्यटन मन्त्रालयको नेतृत्वमा पर्यटन व्यवसायीहरु, सरकार र नागरिकहरुको संयुक्त सहभागिता हुने गरी बैंक स्थापना गरेर दिगो रुपमा पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । यतिबेला सरकारले व्यवसायीहरुलाई सहुलियत ऋणको स्वरुप छुट्याएको रकम, सम्पूर्ण पर्यटन व्यवसायीहरु तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरु र सर्वसाधारण नागरिकहरुले शेयर हाल्न पाउने गरी बैंक स्थापना गरी सोही बैंकमार्फत् सुलभ कर्जा प्रवाह गर्दा दिगोरुपमा समस्या सामाधान गर्न सकिन्छ भने भविष्य आइपर्ने यस्ता महामारीबाट व्यवसायी र व्यवसायलाई संरक्षण गर्न सकिन्छ । सरकार नीतिको स्रोत मात्र नभई पूँजीको स्रोत पनि हुन पर्दछ भन्ने कुरालाई यस महामारीले थप पुष्टि गरेको छ भने नवउदारवादले कुनै पनि प्रकारको संकट समाधान गर्न सक्दैन, संकट समाधान गर्नको लागि समाजवादी मोडल नै उपयुक्त हुन्छ भन्ने तथ्य स्पष्ट रुपमा प्रमाणित भएको छ ।

नयाँ संविधानले निर्दिष्ट गरको समाजवादी समाज निर्माणको लागि असंगठित क्षेत्रलाई संगठित गरेर सरकार, व्यवसायी र यस क्षेत्रमा कार्यरत जनशक्तिको संयुक्त प्रयासले बैंकको स्थापना गरेर पूँजी निर्माणको आधारशिला तयार गर्न सकिन्छ । यसरी पर्यटन व्यवसायी र सरकारको स्वनियन्त्रणमा पुँजीको व्यवस्था भएपछि पर्यटन व्यवसायीहरुले स्वतन्त्ररुपमा सहज र सरल तरिकाले व्यवसाय सञ्चालन गर्न सक्दछन् । व्यवसाय फष्टाउँदै जाँदा बैंक मुनाफामा जान्छ भने बैंक मुनाफा हुँदा व्यवसायलाई भरथेग हुन सक्दछ ।

यसप्रकारको व्यवस्थाले वर्षौंदेखि पर्यटन व्यवसायले भोग्दै आएको बैंकिङ्ग क्षेत्रको मनपरीतन्त्रको अन्त्य गरिदिन्छ । अर्थ मन्त्रालयभन्दा अन्य मन्त्रालयले पनि बैंक स्थापना तथा सञ्चालन गर्न सक्दछन् भन्ने नयाँ मापदण्ड स्थापित हुन्छ । देशमा एक थप प्रतिस्पर्धी क्षेत्रको स्थापना हुन जान्छ भने व्यवसायी, कर्मचारी सरकार स्वयमले परिवर्तनको अनुभूति गर्न सक्दछन् र समाजवादको आधारशिला तयार हुन जान्छ ।

(लामिछाने शहरी योजना आयोग, पोखरा महानगरपालिकाका उपाध्यक्ष हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay