scheduleशुक्रवार मंसिर १२ गते, २०७७

ट्रम्पको पराजयले खुल्ला त ओलीको चेत !

सुदर्शन खतिवडा/समाचार टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प पराजित भएका छन् । उनको पराजय अनपेक्षित थिएन । विगत ४ वर्ष ट्रम्पले अमेरिकामा जुन प्रकारको शासन गरे, त्यो सर्वत्र आलोचित थियो । नश्लीय राष्ट्रवाद र लोकरिज्याईवादी शासनशैलीले निसास्सिइरहेका मानिसले अलिकति सन्तोषको श्वास फेर्न पाएका छन् ।

तर, ट्रम्प जाँदैमा ट्रम्पिज्म जान्छ भन्ने छैन । व्यक्ति ट्रम्प पराजित भए । विचार ट्रम्पिज्म अझै जीवित रहन सक्दछ । ट्रम्पिज्म नयाँनयाँ अवतार र संस्करणमा देखिन सक्दछ ।

समकालीन विश्वमा ट्रम्प दक्षिणपन्थी लोकप्रियतावादका एक्ला प्रतिनिधि हैनन् । देश र कालअनुसार यसको रुप फरक छ । व्यक्ति फरक छन् । पार्टीहरुको पृष्ठभूमि फरक छ । तर सन् २०१५ यताको दक्षिणपन्थी लोकप्रियतावादको चरित्र विश्वभरि नै उस्तैउस्तै देखिन्छ ।

उस्तैउस्तै चरित्रका जायर बोल्सोनारो ब्राजिलमा छन् । पुटिन रुसमा छन् । भिक्टर अर्वान हंगेरीमा छन् । एर्दोगान टर्कीमा छन् । मोदी भारतमा छन् । कम्बोडियामा हुन सेन छन् । नेपालमा ओली छन् ।

संसारमा अझै यस्ता धेरै शासकहरु छन्, जसले साँघुरो राष्ट्रवाद, निश्चित समुदायको सुप्रिमेसी, अधिनायकवादी शासनशैली र बहुसाँस्कृतिकतावाद विरोधी क्रियाकलापलाई आफ्नो राजनीतिक जीवनको अभिष्ट बनाएका छन् । यी अभिष्ट पुरा गर्न समाजलाई विभाजित र अर्थतन्त्रलाई तहसनहस पारेका छन् । विभेद, असमानता र आधिपत्यको विश्व श्रृंखला कायम गरेका छन् ।

यहाँसम्म की भौतिक तथा आर्थिक विकासको उज्यालो च्यादरले परिदृष्यलाई थोरै पारेको छ । अन्यथा सि जिन पिङको शासन पनि ‘साम्यवाद’ भन्दा बढी ‘चिनियाँ राष्ट्रवाद’ कै जगमा बनेको छ । ‘दुई कार्यकालको राष्ट्रपतीय प्रचलन’ लाई हटाएर उनले आफ्नो अधिनायकवादी सर्वसत्तावादी सोचलाई संसार सामु प्रष्ट राखेका छन् । विआरआईदेखि मिसन दक्षिण चीन सागरसम्म उनको महत्वाकांक्षाको मूल्य मानव सभ्यताले कुनै न कुनै रुपमा चुक्ता गर्नैपर्ने छ ।

ट्रम्पको पराजयले यस्ता शासकहरु कतिको झस्केका होलान् ? कतिको चेत्लान् ? कतिको सुध्रेलान् ? केही न केही झस्का अवश्य पसेको होला । तर, सुध्रिने अपेक्षा गर्ने ठाउँ कमै छ ।

पराजित भए पनि ट्रम्पले पाएको भोट अझै कम छैन । उनको रिपब्लिकन पार्टीमा अब कस्तो नेतृत्व आउला ? नयाँ नेतृत्वले पार्टीलाई नयाँ वैचारिकीमा सुधार गर्ला वा ट्रम्प नीतिहरु नै कायम राख्ला ? किनकी, अमेरिकी कांग्रेसमा रिपब्लिकनहरुको अझै बलियो पकड हुनेछ । ट्रम्पिज्मको पीडा त्यहाँनेरबाट फेरि बल्झिन सक्दछ ।

त्यसैले प्रश्न गम्भीर छ- ट्रम्प जाँदैमा ट्रम्पिज्म जाला र ? यदि ट्रम्पिज्म कायमै रह्यो भने ट्रम्पको पराजयमा देखिएको यो विश्वव्यापी खुशीयालीको अर्थ के रहला ?

नेपालको विद्यमान शासकीय सोच र शैलीलाई ट्रम्पिज्मकै स्थानीय संस्करण ठान्न धेरैलाई गाह्रो लाग्न सक्दछ । भन्न सकिन्छ- कहाँको अमेरिकाको दक्षिणपन्थी पुँजीवादी रिपब्लिकन पार्टी, कहाँको नेपालको वामपन्थी कम्युनिष्ट पार्टी । कहाँका ट्रम्प, कहाँका ओली । यो त आग्रा र गाग्राको कुराजस्तो भएन र ?

बुझ्न के जरुरी छ भने पार्टीहरुको मार्का सधैं एकै ठाउँ रहँदैन । कुनै एक बेलाको क्रान्तिकारी पार्टी सधैं क्रान्तिकारी हुने, एक बेलाको क्रान्तिकारी नेता सधैं क्रान्तिकारी रहने भन्ने हुँदैन । जिम्बाबेका रबर्ट मुगाबे कुनै समय एक ठूला क्रान्तिकारी मानिन्थे । उनको राजनीतिक जीवनको अन्त्य एक खुङ्खार तानाशाह र भ्रष्ट शासकका रुपमा भयो । कोम्बोडियाका हुन सेन कुनै समय क्रान्तिकारी थिए । आज उनी विश्वमै सर्वाधिक बदनाम तानाशाह बन्न पुगेका छन् ।

राम्रो भयो कि ट्रम्प मुगाबे वा हुन सेनजस्तो बदनाम हुनुभन्दा अलिक अगाडि नै हारे । अमेरिकी लोकतन्त्र र मतदाताबाट ट्रम्पले त्यो सौभाग्य प्राप्त गरे । जनताले उनलाई एक कार्यकालमै पराजित गरिदिएर उनका दुष्ट आकांक्षाहरुका लागि प्रष्ट सीमारेखा कोरिदिए । स्थापित र संस्थागत लोकतन्त्र भएका देशमा त्यो अवसर हुँदो हरेछ ।

अमेरिकी रिपब्लिकन पार्टी सर्वथा दक्षिणपन्थी पार्टी थिएन । रिपब्लिकन पार्टी अब्राहम लिङ्कनको पार्टी थियो । लिङ्कन अमेरिकी इतिहासका सर्वाधिक लोकप्रिय र क्रान्तिकारी राष्ट्रपतिमध्ये एक हुन् । यो पार्टी अब्राहम् लिंकनले आफ्नै जीवनकालमा बनाएका थिए । सन् १८६१ मा पहिलो रिपब्लिकन राष्ट्रपति लिङ्कन आफैं थिए ।

थियोडोर रुजबेल्ट, हुभर, आइजेनवार, निक्सन, रेगन, बुस थुप्रै लोकप्रिय राष्ट्रपति यो पार्टीले दिएको थियो । आज रिपब्लिकनको छवी त्यो छैन । चिनको कोमिन्ताङ पार्टी सन यात्सेन जस्ता महान राजनीतिज्ञले बनाएका थिए । कालान्तरमा त्यो पार्टी च्याङ काई सेकको पार्टी बन्यो । चीनको इतिहासमै सर्वाधिक बदनाम पार्टी बन्यो ।

‘कम्युनिष्ट’ शब्द प्रयोग गर्दैमा कोही वामपन्थी हुँदैन । त्यसो भए त होनेकर र चाउचेस्कु पनि वामपन्थी थिए भन्नु पर्ने हुन्छ । वामपन्थ कार्यदिशा हो । त्यो एजेण्डमा अभिव्यक्ति हुनुपर्दछ । सोच र कार्यशैलीमा अभिव्यक्त हुनु पर्दछ । सोच, एजेण्डा र कार्यशैली दक्षिणपन्थतिर, पार्टीको नाम र विरासत मात्र वामपन्थी भएर त्यसले कुनै अर्थ राख्दैन ।

लिङ्कनको रिपब्लिकन पार्टी ट्रम्पको हातमा पुगेजस्तै, सन यात्सेनको कोमिन्ताङ पार्टी च्याङकाई सेकको हातमा पुगेजस्तै नेकपा अहिले ओलीको हातमा छ । नेकपासँग पुष्पलाल, मनमोहन र मदन भण्डारीको लोकप्रिय र गौरवमय विरासत नभएको हैन, तर नेकपा र ओली सरकारको एजेण्डा र कार्यशैलीमा अहिले वामपन्थ कहिँकतै देखिँदैन ।

नेकपा र ओली सरकारलाई अहिले नै चरम दक्षिणपन्थी भन्न नमिल्ला । त्यो स्पेशका लागि ज्ञानेन्द्र शाह, पशुपति शमशेर जबरा र कमल थापा छदैँछन् । दक्षिणपन्थको यो लाइनमा त्यसपछिको पालो भनेको नेकपा र ओलीकै हो ।

यो पनि सत्यको कि २०४६ सालसम्म ओली क्रान्तिकारी नै थिए । विशेषतः २०५४ पछि, महाकाली सन्धीको सेरोफेरोबाट ओलीको दक्षिणपन्थीकरण शुरु भयो । त्यस यता उनले सर्वथा देशको क्रान्तिकारी आन्दोलनमाथि हमला गरिरहे । उनी माओवादी जनयुद्धको विरुद्धमा थिए, मधेश आन्दोलनको विरुद्धमा थिए ।

आदिबासी, जनजाति, थारु, महिला, दलित आन्दोलनको विरुद्धमा थिए । जनान्दोलन २०६२-२०६३ मा उनको संलग्नता बाध्यात्मक थियो । पहिलो संविधानसभा भाँड्न उनले सकेसम्मको भूमिका गरे । दोस्रो संविधानसभाको शक्तिसन्तुलन तुलनात्मक रुपमा प्रतिगामी बन्यो ।

ट्रम्पझै ओली विविधतालाई घृणा गर्दछन् । समावेशिता, आरक्षण, समानुपातिकता, संघीयता, बहुसाँस्कृतिकतालाई मन पराउँदैनन् । ‘ओलीराजका राजकुमार’ बाँस्कोटाले भर्खरै सगौरव घोषणा गर्दिएका छन् कि यी सबै चिज ‘द्वन्द्व व्यवस्थापन गर्न बाध्य भएर मान्दिनु परेको हो ।’ यी चिजसँग ओली र ओलीवृत्तको नेकपालाई कुनै मोह छैन । ओलीको उदयसंगै शासकीय स्वरुप परिवर्तनको मुद्दा शिथिल भएको छ ।

यी यथार्थहरु नेपाली जनताले बिर्सेका छैनन् । जनताको हृदयमा यी घाउँहरु खाटा बसेका छैनन् । देशको एक जबरजस्त क्रान्तिकारी रुपान्तरणको प्रक्रिया ओलीको उदयपछि कसरी शिथिलीकरण भयो, कसरी देश विस्तारै यथास्थितिवाद र दक्षिणपन्थको शिकार भयो, यसको एकएक हिसाबकिताब अझै मान्छेहरुसँग छ ।

राजनीतिक मुद्दाहरुलाई एक क्षण पर सार्ने हो भने सुशासन र आर्थिक विकासको सवाल उत्तिकै जटिल हुँदै गएको छ । ट्रम्पले अमेरिकालाई सन् १९३० को महामन्दी उताकै सर्वाधिक बेरोजगारीको अवस्थामा पुर्‍याएका थिए । कोरोना त्यसको एउटा कारण पक्कै थियो तर त्यो मात्र पर्याप्त कारण थिएन ।

सन् २००८ को वित्तिय संकट हल गर्न र सन् २०१२ को इवोला भाइरसको प्रतिरोध गर्न अमेरिकाको जुन प्रतिरोध रणनीति थियो, यसपटक ट्रम्पसंग यी दुवै कुरा थिएन ।

ठीक त्यही कुरा ओलीको हकमा पनि लागू हुन्छ । ओलीसँग न आर्थिक संकट हल गर्ने कुनै योजना छ न कोरोना प्रतिरोध गर्ने कुनै रणनीति । आफ्नै पार्टीभित्रको अन्त्यहीन रडाकोमा उनी गालिएका छन् । अन्तपार्टी लोकतन्त्रको कुनै संस्थागत पद्धति नहुँदा नेकपाको प्रहसन दिनप्रतिदिन भद्दा र अश्लिल प्रतित हुन थालेको छ ।
ओलीलाई अझै आफ्नो लोकप्रियताको भ्रम होला । ठीक यस्तै भ्रम ट्रम्पलाई पनि थियो ।

२०७० को आमनिर्वाचानका कागताली र संयोगबारे ओलीले राम्रै आत्मसमीक्षा गर्न जरुरी छ । स्थिति अहिले बिल्कुलै त्यस्तो छैन । नेकपाको करिब ३ वर्षे सरकारको एकएक कर्मको हिसाब जनताले राखेर बसेका छन् । सूचनाहरुको बहुआयामिक विश्लेषण गर्ने हो भने यथार्थमा नेपालमा ओली वास्तविक हालत ट्रम्पको भन्दा पनि खराब छ । पछिल्ला बहस र मानकहरुमा उनको लोकप्रियता धेरै झरिसकेको प्रष्ट देखिन्छ ।

राम्रो हुन्छ कि यो अन्तर्विरोध हल गर्न २ वर्ष पछिको चुनाव पर्खिन नागरिकलाई बाध्य गर्नु साटो प्रम ओलीले पुनर्विचार र आत्मसमीक्षा गर्नु । राम्रो हुन्छ ट्रम्पको पराजयबाट चेत्नु, आफू र आफ्नो पार्टीलाई सच्याउनु ।

आशा गर्न सकिन्छ । आगे ओलीकै मर्जी !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay