scheduleशुक्रवार मंसिर १२ गते, २०७७

प्रचण्डलाई ‘अर्को सीपी मैनाली’ बनाउने ओली पक्षको धम्की कति सम्भव ?

साझापोस्ट टिप्पणी

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली निकटस्थहरु अचेल बारम्बार दोहोर्‍याई रहन्छन्– प्रचण्ड कि त ‘ओलीको लाइन’ मा हिंड्नु पर्‍यो, कि त उनलाई ‘परेड खेलाइन्छ’ र ‘अर्को सीपी मैनाली’ बनाइन्छ ।

उनीहरु बढो प्रष्ट भाषामा भन्दैछन्, ‘महाधिवेशनसम्म धैर्यता गर्ने र जबजको लाइन पक्रिने हो भने ओलीकै समर्थनमा उनी अध्यक्ष हुन सक्दछन्, यदि दायाँबाँया गर्ने हो भने अर्को सीपी मैनाली हुन राजी भए हुन्छ ।’

यस्तो ‘धम्कीको भाषा’ प्रयोग गर्नेहरु महेश बस्नेत, दयाल बहादुर शाहीजस्ता ओली निकटस्थ दोस्रो, तेस्रो तहका नेता, कार्यकर्ता मात्र छैनन्, उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत निकटस्थहरुसंग ‘पार्टीको आधिकारिक सिद्धान्त जबज हुने’, आगामी महाधिवेशनमा हुने ‘वैचारिक संघर्ष’ लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने र जबजवादीहरुसँग टकराउनेहरुको हालत सीपी मैनालीको जस्तो हुने बताउने गरेका छन् ।

सीपी मैनालीको हालत के भएको थियो ?
सीपी मैनाली झापाली विद्रोहबाट बनेको माले धारका संस्थापक नेता थिए । २०२७ सालको झापा विद्रोहमा मैनाली पूर्वकोशी प्रान्तीय कमिटीको झापा कमिटीका सचिव थिए । २०३१ सालमा को–अर्डिनेशन केन्द्र बन्दा उनी महासचिव थिए ।

त्यसपछि गिरफ्तार भएका मैनाली जेल परे । २०३३ सालको नक्खु जेल ब्रेक गरी उनी भारत निर्वासित भएका थिए । मैनालीले त्यसपछिका केही वर्ष भारतमै बिताएका थिए । २०३५ सालमा मोरङको इटहरा गाउँमा नेकपा (माले) गठनको भेला भएको थियो । त्यो भेलाले मैनालीलाई नै पार्टीको महासचिव बनाएको थियो ।

२०३८ सालमा ‘पार्टी स्वतन्त्रता’ कि ‘राजनीतिक स्वतन्त्रता’ भन्ने विवाद चर्किएपछि मैनालीलाई महासचिवबाट हटाइएको थियो । मैनालीको कारबाहीपछि नेकपा (माले) का महासचिव झलनाथ खनाल बनेका थिए । २०४५ सालमा सिराहाको एक गाउँमा भूमिगतरुपमा भएको मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव नबनाउन्जेलसम्म खनाल नै त्यो पार्टीको महासचिव थिए ।

२०४९ सालको एमालेको पाँचौं महाधिवेशनमा भण्डारीको जनताको बहुदलीय जनवादसँग मैनालीले फरक मत राखेका थिए । उनको दस्तावेजको नाम ‘परिमार्जित नौलो जनवाद’ थियो । भण्डारीको जनताको बहुदलीय जनवाद भारी बहुमतले पारित भएपछि मैनाली पार्टीभित्र लामो समय अल्पमत नेताका रुपमा रहे ।

२०५१ सालको मनमोहन आधिकारी नेतृत्वको सरकारमा आपूर्तीमन्त्री रहेका मैनालीलाई मन्त्रीपदको दुरुपयोग गरी पार्टीभित्र गुटबन्दी गरेको आरोपमा सरकारबाट हटाइएको थियो ।

२०५४ को छैठौं महाधिवेशनमा मैनालीले वामदेव गौतम पक्षलाई साथ दिएका थिए । नेपालगञ्ज महाधिवेशनमा गौतम पक्ष निर्वाचन बहिष्कार गरेर हिंडेपछि १४ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरिएको थियो । फलतः पार्टी विभाजन भई माले, एमाले भएको थियो ।

पार्टी विभाजनपछि मैनाली मालेमा वामदेव गौतमपछिको दोस्रो शक्तिशाली नेता मानिन्थे । तर २०५६ को आमनिर्वाचनमा मालेले एक सीट पनि ल्याएन । निराश भएका वामदेव गौतम एमालेमै फर्किए । सीपी मैनालीले माले पार्टी भिन्नै चलाई रहे ।

पहिलो र दोस्रो संविधानसभामा मैनालीको पार्टीको समानुपातिक तर्फको उपस्थिति थियो । अहिले भने उनको पार्टीको कतै प्रतिनिधित्व छैन, एउटा सानो समूहका रुपमा खुम्चिएको छ ।

प्रचण्डलाई परेड खेलाउने भनेको के हो ?
ओली पक्षले अर्को सीपी मैनाली बनाउनु अघि प्रचण्डलाई परेड खेलाउने भन्ने गरेको छ । परेडको अर्थ निर्णायक ढंगले कमजोर नहुन्जेलसम्म कमजोर पार्दै लाने लामो रणनीति हो । २०३९ देखि २०५४ सम्म मैनालीलाई निरन्तर कमजोर पारिएको थियो ।

मूल नेतृत्व नदिने, दोस्रो, तेस्रो तहको पद दिने तर जिम्मेवारी नदिने, बाहिरबाट हेर्दा ठूलै पद दिएको भ्रम सृजना गर्दिने, आन्तरिक रुपमा संगठनको शक्ति अभ्यास गर्न नसक्ने बनाउने र विस्तारै फरक धारका कार्यकर्ताको मूलप्रवाहीकरण गरी अर्थहीन बनाएर पाखा लगाउने रणनीतिलाई ‘परेड’ खेलाउने भनिन्छ ।

माले नेता सिपी मैनाली

के प्रचण्डलाई अर्को सीपी मैनाली बनाउन सम्भव छ ?

माले–एमालेधारको राजनीतिक इतिहास हेर्दा त्यो सम्भव छ । यो धारमा फरकमतको कार्यकर्ता पंक्तिलाई मूल फरकमत नेताको सम्बन्धबाट निरन्तर छाँटिन्छ । कतिपयलाई फकाएर आफ्नो पक्षमा ल्याइन्छ, कतिपयलाई राजनीतिक भबिष्य समाप्त हुने भय सृजना गरिन्छ । कतिपयलाई आफ्नो धारमा आए हुने फाइदाबारे बताइन्छ । अन्ततः मूल नेतालाई एक्लो पारिन्छ र जे गरे पनि पार्टीलाई खासै हानी नहुने स्थितिमा पुर्याइन्छ ।

पूर्वमाओवादी कित्तामाथि ओली पक्षले यस्तो खेल लेख्न थालिसकेको बुझ्न गाह्रो छैन । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्, प्रभु शाहजस्ता पूर्वमाओवादी हस्तीहरु ओली निकट हुँदै गएको र निर्णायक क्षणमा प्रचण्डलाई साथ नदिने मनस्थितिमा पुगेको बताइन्छ । यो कुरा सत्य सावित भएमा प्रचण्ड निक्कै कमजोर हुनेछन् । ओली पक्षको अबको रणनीति वर्षमान पुनलाई पनि आफूतिर मिलाउने, नमाने मन्त्रीमण्डलबाट बर्खास्त गर्ने हुन सक्दछ ।

ओली पक्षको अर्को रणनीति अब नारायणकाजी श्रेष्ठलाई कमजोर पार्ने र उनको पूर्व समूहको साथ पाएर पनि प्रचण्डका लागि कुनै भरथेक नहुने स्थिति सृजना गर्नु हुनेछ ।

माधव झलनाथको साथ कतिन्जेल ?

तत्काललाई केही पूर्वमाओवादी ओली पक्षतिर मिलेको भए पनि प्रचण्डसँग अहिले पूर्वएमाले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम भएको कारण प्रचण्ड शक्तिशाली नै छन् कि जस्तो प्रतित हुन्छ । तर यो ध्रुविकरण तीव्र हुँदै गएका नेपाल, खनाल र गौतम प्रचण्डको साथमा हुने छैनन् ।

मैनालीलाई एक्ल्याउने प्रक्रियामा पनि ठीक त्यस्तै भएको थियो । झलनाथ खनाल, वामदेव गौतम, सहाना प्रधान यहाँसम्म कि पार्टी अध्यक्ष मनमोहन अधिकारको समेत मैनालीलाई सहानुभूति हुन्थ्यो । तर जब निर्णायक क्षण आयो मैनालीलाई कसैले साथ दिएन, उनी एक्लै भए ।

अहिले प्रचण्ड पक्षतिर जस्तो देखिएका पूर्वएमालेहरु निर्णायक क्षण आएमा प्रचण्डको पक्षमा हुने छैनन् ।

प्रचण्डको नियति
पार्टी एकता गर्दा प्रचण्डको मनोविज्ञानलाई आधा कार्यकाल प्रधानमन्त्री र ओलीको कमजोर स्वास्थ्यले प्रेरित गरेको थियो । आगामी चुनाव आफ्नो प्रधानमन्त्रीत्वमा हुने, त्यतिन्जेलसम्म ओलीको स्वास्थ्य पनि कमजोर हुने हुँदा थोरै धैर्यता गरे एकीकृत पार्टीको नेतृत्व आफ्नो हातमा आउने सम्भावना देखेका थिए ।

तर अहिले स्थिति ठीक उल्टो भएको छ । प्रचण्डले आधा कार्यकाल प्रधानमन्त्रीको दावी छोडिदिएका छन् । आगामी चुनाव अब प्रम ओलीकै नेतृत्वमा हुनेछ । दोस्रोपटकको मृगौला प्रत्यारोपण सफल भएपछि ओलीको महत्वाकांक्षा अझै चुलिएको छ । उनी सजिलै प्रचण्डलाई नेतृत्व छोड्ने मनस्थितिमा देखिन्नन् ।

ओली कुनै हालतमा जबजवादीहरुको पकड र विरासत पार्टीमा गुमाउन चाहँदैनन् । प्रचण्डलाई जबजको घोषित प्रवक्ता हुन गाह्रो छ । यो अन्तर्विरोधले प्रचण्डलाई नेकपाबाट झनै छेऊतिर धकेल्ने छ । ईश्वर पोखरेल, शंकर पोखरेल लगायतले जबजको मोर्चा पुनः सक्रिय बनाउनुको अर्थ त्यही हो । यस काममा ओलीलाई राष्ट्रपति विद्या भण्डारीको पूर्णतः साथ सहयोग हुनेछ ।

के गर्लान् प्रचण्ड ?
नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलन विश्लेषण गर्दा प्रचण्ड निक्कै अप्ठ्यारो अवस्थामा पुगेका छन् । कम्युनिष्ट इतिहास हेर्ने हो भने सोभियत संघमा त्रोतस्की वा चिनियाँ कम्युनिष्ट पार्टीमा लि साओ चीको जस्तो अवस्थमा पुगेका छन् ।

गत वैशाखमा ओलीमाथि निर्णायक हमाला गर्ने अवसर थियो । एकपछि अर्को ठूला भ्रष्टाचारका काण्ड, दल विभाजन अध्यादेश, समाजवादी पार्टी विभाजनका लागि गरिएका अवााञ्छित क्रियाकलाप र कोरोना प्रतिरोधको गलत रणनीतिको कारण ओली बदनाम भएका थिए ।

त्यही अवसरमा संसदीय दलमा अल्पमतमा पारेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु प्रचण्डका लागि सही रणनीति हुन सक्दथ्यो । तर अब त्यो अवसर गुमेको छ । ओली पक्षले नयाँ ढंगले शक्तिआर्जन गरिसकेको बुझिन्छ । यतिखेर ओलीविरुद्ध कुनै कदम चाल्ने हो भने केन्द्रीय कमिटीमा होस् वा संसदीय दलमा ओली पक्षकै बहुमत हुनेछ ।

ओरालो लागेको हरिणको चाल
प्रचण्डलाई माओवादी आन्दोलनमा निक्कै चतुर र आवश्यकताअनुसारको खेल खेल्न सक्ने नेता मानिन्थ्यो । त्यहाँ डा. बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, विप्लवजस्ता हस्तीहरु थिए । माओवादीभित्रको अन्तर्विरोधमा उनले सबैलाई आफ्नो वरिपरि घुमाएका थिए । एमालेसँगको एकतापछि पनि आफ्नो त्यो गुण र क्षमताले कमाल गर्न सक्ने सायद उनको बुझाई थियो ।

तर, प्रचण्डको त्यो चतुरताले नेकपामा खासै काम गरिरहेको छैन । जीवनभरी अरुलाई रिंगाउँदै आएका उनी अहिले आफै रिंग्नु पर्ने अवस्थामा आइपुगेका छन् ।

नेकपाको अन्तर्विरोध आउँदा दिनमा झनै जटिल हुने पक्का छ तर शक्तिसंघर्षको बाघचालमा कसले कसलाई थुन्ने हो, कसले कसलाई खाने हो, त्यो भने पर्खिएरै हेर्नुपर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay