आइपिएलमा सहभागी हुन यूएई पुगेका सन्दीप स्वदेश फर्कँदै
काठमाडौं, २६ कात्तिक । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सहभागिता जनाउन यूएई पुगेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बुधबार राति स्वदेश फिर्ता हुँदै छन् ।
गत साउन १५ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सहभागी हुन नेपालबाट प्रस्थान गरी सिपीएल सकेर उतैबाट यूएई पुगेका सन्दीप तीन महिनापछि स्वदेश फर्किन लागेका हुन् । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार विहानसम्म नेपाल आइपुग्ने छन् ।
नेपालमा झन्डै तीन साता बिताएर उनी फेरि अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेट खेल्न जाने छन् । यद्यपि यस वर्ष सन्दीप खेल्ने टोलीको भने टुंगो लागिसकेको छैन तर सम्झौताको भने अन्तिम चरणमा पुगेको बताइएको छ ।
यसअघि दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण नभएपछि नयाँ टोलीबाट खेल्ने छन् । बिबिएल डिसेम्बर १० देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।
दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले आइपिएलको यस संस्करणमा भने कुनै पनि खेलमा मौका पाएनन् । लिग चरणका १४ वटै खेल दुई क्वालिफायर र फाइनल गरी १७ वटै खेलमा उनी बेन्चमै सीमित भए ।
पहिलोपटक आइपिएलको फाइनलमा पुगेको दिल्ली उपाधि जित्न भने असफल रह्यो । मङ्गलबार भएको फाइनलमा मुम्बईसँग ५ विकेटले पराजित हुँदै दिल्ली उपविजेतामै सीमित भयो ।