scheduleबिहिवारमाघ ८ गते, २०७७

‘सङ्घीयता न ओली–बाँस्कोटाले ल्याएको हो, न उनीहरुले चाहँदैमा मासिन्छ’

साझापोस्ट टिप्पणी

काठमाडौं, २७ कात्तिक । केही दिन यता सामाजिक सञ्जालमा सङ्घीयताविरोधी अभिव्यक्तिहरु तीव्र भएका छन् । सङ्घीयता साँच्चै संकटमा परेजस्तो, यसलाई मास्ने उपयुक्त समय आएजस्तो, यतिखेरै प्रहार गरे सङ्घीयता विरोधी जनमत बलियो हुनेछ भन्ने प्रयोजित प्रयास गरेजस्तो दक्षिणपन्थी तत्वहरु फुर्केको, मुख मिठ्याएको, अनावश्यक रुपमा त्यसैत्यसै उचालिएको प्रतित हुन्छ ।

अझ बुझ्न पर्ने कुरा के छ भने सङ्घीयतालाई तारो बनाएर उनीहरु लोकतन्त्र र गणतन्त्रमाथि समेत हमला गर्दैछन् । सङ्घीयतामाथि चर्को तिक्तता व्यक्त गर्नेहरुको भीडमा ‘राजा आउ, देश बचाउ’ मार्काको पृष्ठपोषण छ भनेर बुझ्न कुनै गाह्रो छैन ।

इतिहासको गतिले दरकिनार गरिसकेको पश्चगामी मुद्दाहरु घिसार्दै हिंड्नु दक्षिणपन्थीहरुको राजनीतिक नियति हो । राणाशासन समाप्त हुँदा पनि फर्किन्छ भन्नेहरु थिए । पञ्चायत समाप्त हुँदा पनि फर्किन्छ भन्नेहरु थिए । राजतन्त्र समाप्त हुँदा पनि फर्किन्छ भन्नेहरु छन् । तर सत्य के हो भने न राणाशासन फर्कियो, न पञ्चायत फर्कियो न राजतन्त्र फर्किन्छ ।

इतिहासको स्वभाव पछाडि फर्किएर हिड्ने खालको हुँदैन । इतिहास कुनै दिशा नभएको, जतापनि जान सक्ने मुर्कुटा वा प्रेत हैन । इतिहासको निश्चित गति हुन्छ । देश, राज्य वा समाज विकासका निश्चित नियम र प्रक्रियाहरु हुन्छन् । लक्ष्य, उद्धेश्य र गन्तव्यहरु हुन्छन् । कसैले चाहँदैमा इतिहास पछाडि फर्किने भए मानव जातिले संसारमा यति ठूलो विकास र उन्नति गर्ने थिएन ।

इतिहासको मूल गति परिवर्तन हो । विकास, उन्नति र प्रगति हो । पुराना चीज पर्याप्त हुन्थे भने ती कायम रहन्थे, पतन हुँदैनथे । ती पतन भए, त्यसको अर्थ हो, ती अनावश्यक र असान्दर्भिक भइसकेका थिए । एकात्मक, बर्चश्ववादी र केन्द्रिकृत राज्य प्रणाली नेपालमा निरंकुश राजतन्त्रको सह–उत्पादन थियो ।

शाह राजतन्त्रको उदय हुनुभन्दा अगाडि पनि नेपाल एकात्मक, बर्चश्ववादी र केन्द्रीकृत थिएन । नेपाल सर्वथा विविधता र बहुलतायुक्त समाज थियो । शाह र राणाहरुले आफ्नो शासकीय सहजता र नश्लीय बर्चश्व कायम राख्न शक्ति केन्द्रिकरणको सिद्धान्तअनुरुप एकात्मक शासन प्रणाली प्रारम्भ गरेका थिए । जब राजतन्त्र नै असान्दर्भिक भयो, ती चिज स्वतः असान्दर्भिक भए ।

सङ्घीयतालाई लोकतन्त्रबाट अलग गरेर प्रहार गर्दा राजतन्त्र फर्काउन सजिलो होला भन्ने कुत्सित मनसायबाट सङ्घीयतामाथि प्रहार भइरहेको छ । यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने सङ्घीयता लोकतन्त्रभन्दा बिल्कुल अलग अवधारणा हैन । सङ्घीयता लोकतन्त्रकै पुरक अवधारणा हो । नेपालजस्तो विविधता र बहुलता भएको देशमा सङ्घीयता विना लोकतन्त्र पूर्ण हुँदैन । लोकतन्त्र विना सङ्घीयता क्रियाशील हुँदैन । गणतन्त्र, लोकतन्त्र र सङ्घीयतालाई एकअर्काबाट फरक गरेर बुझ्नु भनेको निरंकुश राजतन्त्रवादी उद्देश्यलाई मलजल गर्नु हो, अझ कठोर भाषामा भन्ने हो भने मलजल मात्र हैन, राजतन्त्रवादीहरुको पिछलग्गु र सहयोगी हुनु हो ।

सङ्घीयताले स्वशासन, स्वायक्त शासन, भाषिक, सांस्कृतिक अधिकार, शक्ति निक्षेपण, सहभागिता र वित्तिय स्वशासनलाई प्रत्याभूत गर्दछ । यसले क्षेत्रीय विकास सन्तुलन र चुस्त सरकारको अवधारणालाई समेत मद्दत गरिरहेको हुन्छ । शासकीय प्रबन्धनमा विभिन्न तहको सहकार्य र साझेदारीमार्फत् प्रभावकारिता सृजना गर्दछ । यी चिजहरु लोकतन्त्रकै अक्षुण गुणहरु हुन् ।

यति सरल यथार्थलाई नेपालका केही वामपन्थी भनिने समूहले बुझ्न सकिरहेका छैनन् । राष्ट्रिय जनमोर्चाजस्ता केही वामपन्थी भनिने साना समूहहरु हिजैदेखि सङ्घीयताको विरुद्धमा थिए । एकातिर उनीहरु आफूलाई ‘मार्क्सवाद–लेनिनवादी’ भन्छन् ।

यी विचारधारामा स्वायत्तता, स्वशासन, आत्मनिर्णयको आधिकार, भाषिक, सांस्कृतिक अधिकारलाई कसरी बुझिन्छ भन्ने कुरामा आफै बेखबर छन् । वामपन्थी भनिने समूहहरुले दक्षिणपन्थी एजेण्डाको लास बोकेर अनधिकृत सद्गतको भार किन उठाउनु परेको हो ? आश्चर्य छ । सृजनशील र परिवर्तनकारी चेतको अभावमा गुटगत भिन्नता देखाउन प्रतिक्रियात्मक राजनीति गर्दा सायद यस्तो अवस्था सृजना हुन्छ ।

यतिखेर भने स्वयं प्रधानमन्त्री ओली र उनका निकटस्थहरु सङ्घीयताको विरुद्धमा लागेका छन् । केही समय अघि प्रम ओलीले ‘प्रदेश भनेको केन्द्रीय सरकारको प्रशासनिक निकाय मात्र हो’ भन्दै सङ्घीयतामाथि हमला शुरुवात गरेका थिए । त्यसको लगत्तै सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय गर्‍यो ।

अर्कोतिर सेक्युरिटी प्रेस भ्रष्टाचार काण्डका आरोपी तथा प्रम ओलीका निकटवर्ती पूर्वमन्त्री गोकुल बाँस्कोटाले ‘सङ्घीयता देशलाई आवश्यक नै थिएन, द्वन्द्व व्यस्थापनका लागि मान्दिनु परेको हो’ भन्ने चरम आपत्तिजनक अभिव्यक्ति दिए । बाँस्कोटाका कर्म र अभिव्यक्तिहरु कुनै न कुनै रुपमा प्रधानमन्त्री ओलीसँग जोडिएका हुन्छन् भन्ने विश्वास गरिन्छ । प्रम ओलीबाट कुनै संकेत पाएर नै उनले यस्तो बोलेका हुन सक्दछन् ।

रमाइलो कुरा के छ भने देशका ७ प्रदेशमध्ये ६ प्रदेशमा अहिले नेकपाकै सरकार छ । त्यसमा पनि धेरैजसो प्रम ओली निकट मुख्यमन्त्रीहरु छन् । सङ्घीयताको रक्षा, विकास र कार्यान्वयन गर्ने सपथ खाएको ती मुख्यमन्त्री प्रम ओलीको त्यस्तो आपत्तिजनक अभिव्यक्तिप्रति मौन रहन मिल्ने हैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाहेक अरु कुनै नेकपाका मुख्यमन्त्रीले आपत्ति प्रकट गरेका छैनन् ।

यहाँनेर स्वयं नेकपाको भूमिका के हो भन्ने प्रश्न उठ्दछ । हुन त अहिले नेकपामा सबै संस्थागत प्रक्रियाहरु अवरुद्ध छन् । पार्टी शक्तिको औपचारिक प्राधिकार कहाँ छ भन्ने कुरा नै प्रष्ट छैन । कसको बोली, नीति र निर्णयलाई औपचारिक मान्नु पर्ने हो, प्रष्ट छैन ।

सङ्घीयता भर्खरै प्रारम्भ भएको हो । यसले धेरै फल दियो कि दिएन भनेर विश्लेषण गर्ने बेला भइसकेको छैन । कुनै पनि फलफूलको बोट रोप्दा बिरुवाले तत्काल फल दियो कि दिएन भनेर विश्लेषण गरिँदैन ।

एक त नेपालमा सङ्घीयताको अवधारणा मात्र शुरुवात भएको हो, यस सम्बन्धि संबैधानिक व्यवस्थाहरु सङ्घीयताको मर्म, भावना, सिद्धान्त, मूल्य र मान्यताअनुरुप छन् कि छैन भन्ने बहस कायमै छ ।

प्रदेश रचना उपयुक्त नभएको विवाद कायमै छ । वित्तिय संघीयताको अवधारणा लागू नभएको असन्तुष्टि कायमै छ । प्रदेशहरुको नामाकरण नै भइसकेको छैन । प्रादेशिक भाषाहरुको व्यवस्थापनबारे कुनै निर्णय हुन सकेको छैन । प्रादेशिक कर्मचारीतन्त्रको संचरना र निर्माण भएको छैन । ठोस, मूर्त र स्पष्ट प्रकृति कानुनी व्यवस्था भएका छैनन ।

यी सबै चिज हुन नपाउँदै सङ्घीयताले काम गरेन भन्नु या त अज्ञानता हो या त राजनीतिक पूर्वाग्रह । अज्ञानता हो भने अध्ययन गर्नु पर्‍यो । समस्या कहाँनेर छ, त्यो चिन्नु र समाधान गर्नु पर्‍यो । यदि राजनीतिक पूर्वाग्रह हो भने त्यसको युग अब समाप्त भयो । त्यस्तो पूर्वाग्रहको कुनै अर्थ र औचित्य छैन ।

जसरी कसैलाई लाग्दैमा अब देश गणतन्त्रबाट राजतन्त्रमा फर्किन सक्दैन, लोकतन्त्रबाट अधिनायकवादमा फर्किन सक्दैन, समावेशिताबाट एकल बर्चश्ववादमा फर्किन सक्दैन, ठीक त्यसरी नै सङ्घीयताबाट एकात्मकतामा फर्किन सक्दैन । सङ्घीयताबाट एकात्मक तथा केन्द्रिकृत शासन प्रणालीमा फर्किने केही प्रतिक्रियात्मक वामपन्थी समूहको आशा र दक्षिणपन्थीहरुको प्रयत्न सोम शर्माको सपना हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay