scheduleसोमवारबैशाख ६ गते, २०७८

विकास हुँदै गर्ला, अहिले महाव्याधीबाट सामान्य जीवनमा फर्किन पाऊँ

प्रितिश नन्दी

हाम्रा प्रधानमन्त्री मोदी र भर्खरै चुनाव हारेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीच केही रोचक समानताहरु छन् । यिनै समानताहरुले उनीहरुलाई एकसाथ ल्याएको थियो, जसले भारत–अमेरिका सम्बन्धलाई राम्रै गर्‍यो ।

तर ट्रम्पका लागि ‘राम्रो’ शब्दको अर्थ नै उल्टो हुन्छ । उनले यस्ता धेरै कामहरु गरे जसले अमेरिकामा रहेको भारतीयहरुको जिन्दगीलाई अप्ठ्यारो बनाई दियो ।
राष्ट्रपति ट्रम्पले हर चिजलाई व्यापारको आँखाले हेर्नु स्वभाविकै हो किनकी उनी वास्तवमा हुन् पनि व्यापारी । उनले इरान र चीनलाई सजाय दिन व्यापार प्रतिबन्ध लगाइदिए । जब आफ्ना व्यापारिक मित्रहरुलाई सहयोग पुर्‍याउनु पर्ने भयो, कर्पोरेट कर हटाई दिए ।

मोदी गुजरातका हुन् । भारतमा गुजरातीलाई व्यापारी समुदाय मानिन्छ । तसर्थ उनी व्यापारलाई राजनीतिको आधारका रुपमा हेर्दछन् । त्यसलाई उनी विकास भन्दछन् ।

उनी अन्य अत्यावश्यक चिजहरुको मूल्यमा भारतको भबिष्यलाई विकासको चश्माले हेर्दछन् । त्यसैले उनको नयाँ भारत योजनामा नोटबन्दी र जिएसटीजस्ता कुराहरु आउँछन्, जसले सर्वसाधारण र अर्थव्यवस्थलाई नोक्सान पुर्‍याउँदछन् ।

प्रितिश नन्दी

 

प्रष्टै देखिन्छ– मोदीको ६ बर्षे कार्यकालमा धनीहरु अझै धनी भए, साना व्यापारीहरु नष्ट हुँदै गए । मोदीले यो बुझेनन कि जसले कालो धन सृजना गर्दछन्, ती आम सर्वसाधारण वा मध्यम वर्ग हैन, धनीहरु हुन् । र, धनीहरुले नोटबन्दीदेखि जिएसटीसम्म सबैलाई हराउने ताकत राख्दछन् ।

ट्रम्प र मोदीबीच अर्को पनि एउटा समानता छ– यी दुवै बहुसंख्यक भोटको बलमा सत्ता आए । तर यिनीहरुको पाएको भोटको आधार दक्षिणपन्थ थियो । अतिवादी तत्वहरुको समर्थनमा मोदीले हिन्दू भोट पाए । ट्रम्पले श्वेत समुदायको दक्षिणपन्थी हिस्साको भोट पाए ।

कतिपयले आंशका गर्थे– ट्रम्पलाई रुसको भित्रभित्रै समर्थन सहयोग थियो । सायद यही कारण हो कि रुसी राष्ट्रपति पुटिन ती नेतामा पर्दछन् जसले अहिलेसम्म बाइडेनलाई जीतको बधाई दिएका छैनन् । भारतमा होस् वा अमेरिकामा यो पक्षबाट राम्ररी सोचिएन कि यस्तो रुढीवादी भोट बैंक कति छ र यसको ताकत कत्रो छ ?

हामी सबै यही भुलभुलौयामा रह्यौं कि आजको दुनियाँमा उदारवादी मत नै निर्णायक हुन्छ, जो मिडियामार्फत् मुखर हुन्छ र यसैले राष्ट्रिय राजनीतिको नतिजालाई तय गर्दछ । सन् २०१६ मा हिलारी क्लिन्टनले करिब ३० लाख बढी लोकप्रिय मत ल्याउँदा ल्याउँदै पनि ट्रम्पले जितेका थिए ।

मोदी सत्तामा आउने समयमा भने मनमोहन सिंह नेतृत्वको युपिए–२ सरकारमाथि अनेक भ्रष्टाचारका आरोप थिए । जनतालाई बदलाब चाहिएको थियो । मोदी ट्रम्पभन्दा पनि सजिलै सत्तामा आए ।

अमेरिकाका मतदाताले यो कुरा छिट्टै बुझे कि उदारवादी खेमा जति नै कमजोर होस् वा उसका थुप्रै कमजोरीहरु किन नहून्, त्यो ट्रम्पजस्तो झुटो, आडम्बरपूर्ण र कसैको कुनै सल्लाह नसुन्ने ट्रम्पजस्ता भन्दा राम्रो हुन्छ ।

सत्ता नगुमोस् भनेर ट्रम्प निक्कै होसियार थिए । अहिले पनि उनले बाइडेनलाई रोक्ने अनेक कानुनी अडचनहरु सिर्जना गरिरहेका छन् ।

ट्रम्प आफैंले एक महाअभियोग, २६ यौन दुराचारका आरोप र ४००० बढी विभिन्न मुद्दाहरुबाट आफूलाई बचाउँदै आएका छन् । अझ रमाइलो कुरा के छ भने उनका व्यापारिक कम्पनीहरुले अमेरिकामा भन्दा बढी आयकर चीनमा तिरेका छन् ।

यता भने मोदीले दुबै चुनाव सजिलै जिते । तर पनि उनका समस्याहरुमा भने समानता छ । ट्रम्पको टिममा जस्तै मोदीको टिममा पनि इमान्दारिताको खासै मूल्य छैन । मोदीका प्रसंशकहरुले जेजे मानुन, उनी होसियार अर्थशास्त्री वा महामारी विशेषज्ञ दुवै हैनन् । उनको व्यक्तित्वमा सौम्य शक्ति र संस्कृतिको प्रभाव पनि खासै देखिन्न, जसमा भारत सबै अब्बल रहँदै आएको छ ।

मोदी हरतरहले एक राम्रा गुजराती व्यापारी जस्तो लाग्दछन् । उनी राजनीतिको बिकाउ मालका रुपमा विकासको कुरा गर्दछन् । उनलाई लाग्दछ कि भारतका सबै समस्याको हल विकास हो । तर यहाँनेर उनले बुझ्नु पर्ने कुरा के छ भने विकास एक्लै हुने चिज हैन । उनले अलिक राम्रा विचारक वा विश्लेषकहरुबाट यो सवाललाई निरुपण गर्नु उपयुक्त हुन्छ ।

हो, मोदीमा चुनाव जिताउने क्षमता छ । जस्तो कि भरखरै उनले बिहार चुनाव पनि जिताए । तर चुनाव जिताएर मात्र के हुन्छ, जबकी मानिस अझै ती सुधारहरु पर्खिरहेका छन् जुन उनले प्रतिज्ञा गरेका थिए । यदि कांग्रेसलाई साँच्चै अस्वीकार गरिएको हो भने मोदी शासनको ६ वर्षमा तपाई हाम्रो जीवनमा किन कुनै वास्तविक अन्तर आएन ?

मोदी डिजिटलाइज्ड विकासका कुरा गर्दछन् । के डिजिटल हुनु नै सबै समस्याको हल हो र ? नोटबन्दीले भ्रष्टाचारको अन्त्य भए न त ? जिएसटीले करोडौं साना व्यापारीको जीवन झनै दयनीय बनाइ दियो । सत्य के हो भने कथित बलियो सरकारले गर्ने कडा शासनले अन्ततः कमजोरहरुलाई नै मुस्किल पार्दछ ।
अहिले त्यही त भइरहेको छ । अर्थतन्त्रमा एकाधिकार बढिरहेको छ । ठूला व्यापारिक घरानाहरुले बैंकलाई लुटिरहेका छन् । आम मानिसको जीवनमा वास्तविक बद्लाब कडाईले हैन, सहजताले आउँछ ।

हामी साम्यवादी देश हैन कि यहाँ हरेक कुरामा सरकारले हस्तक्षेप गर्नु परोस् । हामीले सधै सरकारसँग डराएर बाँच्न जरुरी छैन । मोदीको प्रतिबद्धता ज्यादा शासन हैन, कम शासन नै थियो । तर, आज सरकार हाम्रो जीवनको हरेक पक्षमा हस्तक्षेप गरिरहेको छ ।

हामी अहिले साँच्चै खराब अवस्थामा छौं । महामारी र अर्थतन्त्रमाथि तुरुन्तै ध्यान दिन जरुरी छ । मोदीका लागि यो अवसर हो कि उनले देशलाई सम्हाल्न सक्छन् भन्ने कुरा गरेरै देखाऊन् । अरु कुरा बरु केही समय पर्खौंला ।

अहिले नयाँ संसद भवन र बुलेट रेलमा कसैलाई रुचि छैन । अहिले हामीलाई रोजगारी र महामारीबाट मुक्ति चाहिएको छ । हामीलाई नोकरी र भ्याक्सिन चाहिएको छ । अहिलेको माग हामी सामान्य जीवनमा फर्किन पाऊँ भन्ने हो ।

दैनिक भाष्करबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay