scheduleबिहिवारमाघ १५ गते, २०७७

जुँगा कालो भाको हो कि कम्युनिष्ट चरित्र कमरेड ?

रुद्रप्रसाद भट्ट

संघीय गणतन्त्र नेपालको ४१ औं प्रधानमन्त्री हुन् खड्गप्रसाद ओली । तर, उनी संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री भन्‍न रुचाउँदैनन् । राजतन्त्रात्मक बहुदलीय व्यवस्थाअन्तर्गत नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह समक्ष दाम चढाएर श्री ५ सरकारको निगाहमा प्रधानमन्त्री हुने सपना चकनाचुर भएपछि खड्गप्रसाद ओली बाध्य भएर गणतन्त्र मान्न तयार देखिएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

३० वर्षे पञ्चायती शासनमा लुकिछिपी पार्टी काम र संगठनभन्दा ज्यान जोगाउन दौडधुप गरेका ओली १४ वर्ष जेल बसेको ब्याजमा ०४६ सालको आन्दोलनपछि व्यवस्थाअन्तर्गत तत्कालीन एमाले पार्टीको ९ महिने सरकारमा मन्त्री बनेका थिए । सोझो, ईमान्दार, सर्वहारा कम्युनिष्ट चरित्रका मार्क्सवादी नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला गृहमन्त्री रहेका ओलीले बहुदलमा गरेको त्याग भनेको संवैधानिक हिसाबले पनि बस्न नमिल्ने ९ महिने अल्पमतको सरकारबाट सजिलै निस्किएर बाटो लाग्नु मात्रै हो ।

२०५२ सालमा जनयुद्ध सुरु भएको दिनदेखि २०७५ जेठ ३ गते (नेकपा एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा घोषणा भएको दिन)सम्म माओवादीले शुरु गरेको जनयुद्ध, माओवादी नेता र कार्यकर्ता, जनयुद्धमा सहिद, बेपत्ता, घाइते, अपाङ्ग भएकालाई अत्यन्त तुच्छ शैलीमा अपमान र तिरस्कार गर्ने मुख्य पात्र यिनै खड्गप्रसाद ओली हुन् । २०६२/०६३ को जनआन्दोलनलाई त यिनले ‘बयलगाढा चढेर अमेरिका’ जानु जस्तै हो भनेर तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाललगायत नेताहरुको सडक संघर्ष र जनयुद्धको जगमा जनआन्दोलनमा समर्थन जनाउने प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य र रामबहादुर थापा बादलहरुलाई खिसीटिउरी गर्ने पनि यिनै खड्ग प्रसाद हुन् ।

परिवर्तनका लागि भएका मधेस आन्दोलन, जनजाति आन्दोलन, दलित आन्दोलन, थरुहट, मगराँत, ताम्सालिङ, कोचिला, भोजपुरा वा लिम्बुवान, खम्बुवान र खसान आन्दोलनमा पनि यिनको कुनै सहभागिता, समर्थन र भूमिका थिएन । यतिमात्रै होइन यिनले जनताको अधिकार प्राप्तिका लागि भएका संघर्ष र बलिदानलाई होच्याउने, घृणा गर्ने र दम्भ देखाउनेबाहेक कुनैपनि साथ र समर्थन दिएनन् ।

मार्क्सवाद, लेनिनवाद हुँदै जनताको बहुदलीय जनवादसम्म आफैंले जानेको छु भन्ने कम्युनिष्ट नेता भएर पनि यिनले गुण्डागर्दी, दादागिरी, बलात्कारी, भ्रष्टाचारी, कमिसनखोरका विरुद्ध आवाज उठाएको वा कुनै कानुनी कारवाही गरेको सुन्न र देख्न पाईएको छैन ।

यतिबेला दक्षिण एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपाको पहिलो नम्बरको अध्यक्ष र देशको प्रधानमन्त्री समेत रहेका खड्गप्रसाद ओलीले हावादारी गफ गर्दै सत्ता सञ्चालन गरेको साढे २ वर्ष पुरा भईसकेको छ । यो बीचमा जनताले निर्मला पन्तको बलात्कारी पत्ता लगाएर कारवाही गरेको, ३३ किलो सुन प्रकरणमा मुख्य दोषी पत्ता लागेको, बालुवाटार जग्गा प्रकरण, वाईडबडी, सेक्युरिटी प्रिन्टीङ प्रेस सम्बन्धी ७० करोड प्रकरण, बूढीगण्डकी, मेलम्ची खानेपानी, औषधि खरिद लगायत विभिन्न खरिद प्रकरणमा के कसो भएको हो भनेर जान्न चाहेका थिए ।

भूकम्पले भत्केका घर बने कि बनेनन् ? कोरोनाको यो महामारीमा जनताले स्वास्थ्य सेवा पाएका छन् कि छैनन् ? ज्यान जोखिममा पारेर तुईन तरेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भयो कि भएन ? फुसको छानोमा जस्तापाता लाग्यो कि लागेन ? दुर्गममा सिटामोल र हुम्लामा चामल पुग्यो कि पुगेन ? कृषकले मल र बिऊ समयमा पाए कि पाएनन् ? यी सबै कुराको उत्तर खोजेका जनतालाई बालुवाटार, खुमलटार वा कोटेश्वर र शितलनिवासको भेला र भेटको के अर्थ ?

जनताबाट तिरस्कार भएका नारायणकाजी श्रेष्ठ र वामदेव गौतम राष्ट्रियसभामा पुगेको कुराले जनताको कुन समस्या समाधान भयो ? वा कस्तो समृद्धि आयो प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यु ? अनि नेकपा जुट्नु-फुट्नु वा प्रचण्ड र ओलीबीच बार्गेनिङ्ग चल्नु र माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमको गुटले हार्नु र जित्नुसँग जनताको के साईनो छ ?

झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारलाई समृद्धिको यात्रामा हिँडाइरहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई जनताले गुणकारी देख्‍न चाहेका हुन् तर ओली आफैं चाहिँ किन यति धेरै अहंकारी र भष्मासुर बन्दै गएका हुन् ? उनको चुनावी घोषणापत्र वा पार्टी एकताको दिन प्रचण्डसँगको अंकमालपछि गरिएका बाचालाई त जनताले बिर्सिदिएकै छन् । चुनावी घोषणापत्र वा आमसभामा गरिएका यस्ता बाचा केवल हावादारी ‘ओली गफ’ मात्रै हुन् र बोल्नका लागि मात्रै हो काम गर्न होईन भन्ने जनताले बुझिसकेका छन् ।

घोषणापत्रमा लेखेको वा भाषणमा बोलेको आधारमा केही गरिदिनुपर्ने बाध्यता नै छैन । अनि त्यो कास्की, झापा, चितवन र काठमाण्डौंमा उखान-टुक्कासहित कुर्लिएका रेल, तेल, पानीजहाज र भातै खान काम गर्नै नपर्ने भन्ने कुरा पनि जनताले मागेका छैनन् । उखान–टुक्कालाई प्रयोग गरेर हँसाउन र छकाउन खड्गप्रसाद ओली चतुर छन् भन्ने पनि जनतालाई थाहा छ । खड्गप्रसाद ओलीमा झुठलाई पनि सत्यजस्तै बनाएर उखान टुक्काकै भरमा ५ वर्ष सजिलै सरकार चलाउने ताकत छ भन्ने नेकपाको चुनाव चिन्ह ‘सूर्य’ जस्तै छर्लङ्ग छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको नक्सा छापेर राष्ट्रवादी देखिन खोजेका ओलीको असली रुप भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँगको भेटपछि जनताले बुझेकै छन् । ‘हलेदो’ भनेपछि कोट्याउनै किन पर्‍यो र ? त्यो पहेंलो नै हुन्छ । अब अयोध्या काण्डको रामको खोजी मात्रै बाँकी छ । यसमा उनले राम खोज्ने वा जनताले हराम खोज्ने त्यो भविष्यले बताउने छ ।

रुद्रप्रसाद भट्ट

देशैभर राजा आऊ देश बचाऊ भन्ने नारा लाग्नु, खड्गप्रसाद ओलीले संघीय लोकतान्त्रीक गणतन्त्र भन्ने शब्द हटाउन जोड गर्नु र उनको कुरालाई अन्तिम राजा ज्ञानेन्द्र शाहको मन्त्रीमण्डलका गृहमन्त्री कमल थापाले समर्थन गर्नु संयोग मात्रै नहोला यो पनि जनताले हिसाब राख्ने बेला भएको छ । गणतन्त्र नेपालमा एकमात्र राष्ट्रवादी भनिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीको बोलीमा कमल थापा र पशुपति शमशेर राणाको समर्थन आउनु भनेको राणा र पञ्चायती शासन ढलेपनि राणा र पञ्चको भूत अझै जीवित आत्मा बनेर खड्गप्रसादको छत्रछायामा घुमिरहेको छ कि भन्ने शंका गर्न सकिन्छ ।

यसर्थ, राणाविरोधी, पञ्चायतविरोधी, बहुदल, जनयुद्ध, जनआन्दोलन, लोकतन्त्र र गणतन्त्रका निम्ति भएका कुनैपनि आन्दोलनमा सक्रिय सहभागिता नभएका तर लोकतन्त्रमै जनताले अथाह माया र समर्थन अनि समयले बलवान साबित गरेर प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीमा यतिबेला मै मात्रै जान्ने, म नभए देश बर्बाद हुन्छ भन्ने भ्रम कसरी पैदा भयो ? पार्टी नेताहरुको कुरा नसुन्ने अटेरी, जनताको पीडा र रोदन नबुझ्ने घमण्डी अनि कार्यकर्ताको भावनामा आघात पुर्‍याउने अहंकारी हुनुको पछाडि के कारण हुनसक्छ ? यो प्रश्नको जवाफ अब खोज्ने बेला भएन र ?

भष्मासुर प्रवृत्तिका खड्गप्रसाद ओलीमा बढ्दो घमण्ड र अहंकारले नेकपालाई कहाँ पुर्‍याउँछ त्यो उनकै पार्टीले जान्ने कुरा भयो । तर, यही प्रवृत्ति रहिरहने र ओली नै सत्तामा टिकिरहने हो भने नेकपाभन्दा देश ठूलो बर्बादीतर्फ जाने कुरामा शंका छैन ।

मृगौला प्रत्यारोपणपछि मेरो जुँगा कालो भएको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति बाहिरियो । उनले सार्वजनिकरुपमै यस्तो अभिव्यक्ति दिएका छन् । कालो जुँगाले उनीभित्र हुर्कन थालेको ‘कालो’ महत्वाकांक्षालाई प्रतिबिम्बित त गर्दैन ? कहिले पार्टी फुटाउने अध्यादेश ल्याउँछन् कहिले राष्ट्रपति देखाएर आफ्नै पार्टीका नेताहरुलाई धम्की दिन्छन् । कम्युनिष्टको छवि छैन, जीवनशैली सामन्तको जस्तो छ, कारोबार कालै छ ।

यसरी हेर्दा त यस्तो लाग्छ कि, प्रधानमन्त्रीको जुँगा कालो भएको होइन कम्युनिष्ट चरित्र उदाङ्गो भएर सिद्धान्त र व्यवहार नै कालो हुन लागेको वा मन नै कालो हुन थालेको त होइन ? दर्शनभेटका लागि बोलाईएका नेताले यत्तिचाहिँ सोध्‍ने कष्ट गर्ने हो कि ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay