scheduleबिहिवारमाघ १५ गते, २०७७

अमेरिकाले नेतृत्व गर्नैपर्छ

जो वाइडन

वाइडन भर्खरै सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक उम्मेद्वार रहँदा द फरेन अफेयर्समा ‘अमेरिकाले नेतृत्व गर्नैपर्छ ’ शिर्षकमा प्रकाशित एउटा लामो लेखको संक्षेपीकरणसहितको भावानुवाद साझापोस्टले प्रकाशन गरेको थियो । उनी राष्ट्रपति पदमा निर्वाचित भएपछि यही लेखमा अभिव्यक्त नीतिलाई लागू गर्दछन् कि नयाँ नीतिहरु अबलम्बन गर्छन् भन्ने प्रश्न जन्मिएको छ । साझापोस्टले यसअघि ‘ट्रम्पबाट छुटकारा पाए मात्र अमेरिकाले विश्वको नेतृत्व गर्न सक्दछ’ शीर्षकमा प्रकाशन गरेको उक्त आलेख अहिले पुनः प्रकाशन गरिएको छ ।

सन् २०१७ को जनवरी २० का दिन राष्ट्रपति बाराक ओबामा र मैले ह्वाइट हाउस छोडेका थियौं । त्यसयताका प्रत्येक मानकले अमेरिकाको प्रभाव, जस र लोकप्रियता हराएको मात्र देखाउँछन् । राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकाका साझेदार र गठबन्धन राष्ट्रहरुले हामीलाई छोडेका छन् । उनीहरुले हामीलाई विश्वास गर्न सकिरहेका छैनन् ।

राष्ट्रपति ट्रम्प आफ्नै इन्टेलिजेन्स, कुटनीतिज्ञ र सेनासँग समेत विमुख छन् । उत्तर कोरियादेखि इरान, सिरिया, अफगानिस्तान र भेनेजुएलासम्म दुश्मनी बढेका छन् । उनले गलत प्रकारको व्यापार युद्धमा अमेरिकालाई सामेल गराएका छन् । ट्रम्पका आर्थिक नीतिबाट अमेरिकी मध्यम वर्गले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । अझ महत्वको कुरा– उनले लोकतान्त्रिक मूल्य मान्यताबाट विमुख गराएर हाम्रो राष्ट्रको ऐतिहासिक गरिमा र एकतालाई क्षति पुर्‍याएका छन् ।

जलवायु परिवर्तन, आम आप्रवासन, प्रविधि अवरोध र कोभिड–१९ को संक्रमण अमेरिका लागि जटिल समस्या बन्न पुगेका छन् । सर्वसत्तावाद, अन्धराष्ट्रवाद र अनुदारवादले हाम्रो छविलाई धुमिल बनाउनुको साथै सामूहिक सहकार्यको क्षमता घटाएको छ ।

आर्थिक असमानता, भ्रष्टाचार र अतिवादी विखण्डनकारी सोच तथा पक्षपातले लोकतन्त्रलाई पक्षघात गरेको छ । लोकतान्त्रिक संस्थाप्रति विश्वास घटेको छ । अमेरिकाले सावधानीपूर्वक बनाएको अन्तर्राष्ट्रिय प्रणाली दृश्यबाट गायव भएको छ । ट्रम्प र उनीजस्तै डेमागगहरुको समूहले निजी हित र राजनीतिक लाभका लागि अवाञ्छित निर्भरताहरु बढाएका छन् ।

अब आउने अमेरिकी राष्ट्रपतिले सन् २०२१ को जनवरीमा सम्वोधन गर्नुपर्ने छ । उसले हाम्रो गुमेको प्रतिष्ठालाई फर्काउनु पर्नेछ । नेतृत्वदायी आत्मविश्वास व्यक्त गर्नु पर्नेछ । तत्कालीन चुनौतिहरु सामना गर्न गठबन्धन तथा साझेदारहरुसँगको सम्बन्धलाई नयाँ स्तरमा उठाउनु पर्नेछ । एक क्षण ढिलो नगरिकन काम थाल्नु पर्नेछ ।

राष्ट्रपतिको रुपमा मेरा काम यिनै हुनेछन् । अमेरिकी लोकतन्त्रको नवीकरण, साझेदारहरुसँगको सम्बन्ध पुनर्निमाण, अर्थतन्त्रको रक्षा र भविष्यप्रतिको आशा र विश्वव्यापी अमेरिकी नेतृत्वदायी भूमिकाको पुनर्स्थापना मैले तुरुन्तै थाल्नुपर्ने काम हुनेछन् । फासीवाद र निरंकुशतन्त्र विरुद्ध लोकतन्त्र र उदारवादको विजयले मात्र स्वतन्त्र विश्व सृजना गर्न सक्दछ ।

सबैभन्दा मुख्य र तुरुन्त गर्नुपर्ने काम हाम्रो लोकतन्त्रलाई पुनर्जीवित गर्नु हो । लोकतन्त्रवादीहरुको विश्वव्यापी सहकार्य र गठबन्धनलाई बलियो बनाउनु पर्दछ । हामी विश्वभरी लोकतन्त्रको पक्षमा उभिनु पर्दछ । सहकार्य र सामूहिकता विकासमार्फत् शिक्षा प्रणाली सुधार, अपराध नियन्त्रण र न्याय प्रणालीको सवलीकरण, महाव्याधीको नियन्त्रण, असमानता र विभेदहरुको अन्त्यमा ध्यान दिनु पर्दछ । गुमेको सरकारको पारदर्शीता र जवाफदेहितालाई फिर्ता ल्याउनु पर्दछ ।

लोकतन्त्र अमेरिकी समाजको जग मात्र हैन, हाम्रो शक्तिको आधार पनि हो । आर्थिक समृद्धि हासिल गर्ने र विश्वको नेतृत्व गर्ने आकांक्षाको मुख्य इञ्जिन हो । हामी संसारलाई जसरी हेर्दछौं, संसारले हामीलाई त्यसरी नै हेर्नेछ । हामीले विश्वलाई भन्न सक्नु पर्दछ, अमेरिकाको शक्ति केवल शक्ति प्रदर्शनका लागि हैन । अमेरिकाको शक्ति विश्व लोकतन्त्र र आर्थिक समृद्धिको नेतृत्वको लागि हो ।

राष्ट्रपतिको रुपमा मेरो काम ट्रम्प प्रशासनका क्रुर र संवेदनाहीन नीतिहरु तुरुन्तै खारेज गर्नु हुनेछ । ट्रम्पको कठोर बोर्डर र आश्रय नीति तुरुन्तै हट्नु पर्छ । भ्रमण निषेध र शरणार्थी रजिष्ट्रेशनमा अवरोध जस्ता प्रश्नमा ट्रम्पका नीतिहरु काम नलाग्ने छन् । महिला तथा युवतीहरुको अधिकार र सशक्तिकरणमा हामीले विश्वव्यापी भूमिका निर्वाह गर्नुपर्दछ । ह्वाइट हाउस लोकतन्त्रको संहारक हैन, प्रतिरक्षको भूमिकामा सर्वत्र अनुभूत हुनु पर्दछ । प्रेस, अभिव्यक्ति र न्यायिक स्वतन्त्रतालाई उच्च महत्व दिनु पर्नेछ । ट्रम्पले जस्तो म अमेरिकी कानूनलाई कुनै समुदायका विरुद्ध लक्षित गर्ने छैन ।

म निजी स्वार्थका लागि गरिने आर्थिक चलखेल, कालो धन र भ्रष्टाचारलाई नियन्त्रण गर्नेछु । शक्ति सम्भ्रान्तको आर्थिक स्वार्थले हाम्रो लोकतन्त्रलाई नराम्ररी बदनाम गर्दैछ । अमेरिकाको संघीय, प्रादेशिक तथा स्थानीय निर्वाचनहरुमा कुनै पनि विदेशको आर्थिक लगानी हुनु हुँदैन । यस्तो कार्यलाई रोक्न संविधान संशोधन जरुरी भए त्यो पनि गर्नु पर्दछ । म यस प्रयोजनका लागि नयाँ कानुन प्रस्तावित गर्नेछु ।

लोकतन्त्रलाई भ्रष्ट, विकृत र अपारदर्शी बनाउनेहरुविरुद्ध मैले कठोर कदम चाल्नै पर्छ । आज विश्व लोकतन्त्र सन् १९३० यताकै सबैभन्दा नाजुक र जोखिमयुक्त भएको छ । फ्रिडम हाउसको प्रतिवेदनअनुसार सन् १९८५ देखि २००५ को बीचमा लोकतन्त्रले राम्रो काम गरिरहेका ४१ देश मध्ये २२ देशको स्वतन्त्रसूचक निरन्तर ह्रासोन्मुख छ । म लोकतन्त्रलाई एक वैश्विक एजेण्डा बनाउछु र विश्वभरीका लोकतन्त्रवादीहरुलाई यो एजेण्डामा एक ठाउँमा ल्याउने प्रयत्न गर्नेछु ।

चीन र अरुले क्लिन इनर्जी, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, फाइभ जी सञ्चार सेवा, द्रुतगतिको रेल र क्यान्सरको द्रुत उपचारमा काम गर्न सकेका छन् । तर हामी पछि पर्दैछौं ।

आज हङकङदेखि सुडानसम्म, चिलीदेखि लेवननसम्म नागरिक अमेरिकालाई सम्झिरहेका छन् । उनीहरुको घाउमा मल्हमपट्टी गर्ने कुनै वैश्विक शक्ति छैन । अमेरिका त झन दृष्यबाटै हराएको छ । यो भयावह महामारीको बेला जताजतै राज्य र सरकारहरु भ्रष्टाचारमा लिप्त भएको गुनासो छ । यस्तो अवस्थाले दमनकारी र आततायी नेताहरुलाई ठाउँ दिएको छ । उनीहरु मानिसको निराशा र दुःखमाथि खेलेर समाजलाई विभाजित गर्दैछन् । अधिनायकवादलाई बलियो बनाउँदैछन् । लोकतन्त्रलाई असान्दर्भिक सिद्ध गर्ने प्रयत्न गर्दैछन् ।

अमेरिका आफैं यस्तो बनेको छ । अमेरिकाको खराब हालतले विश्वभरिका दुष्ट शासकहरुको मनोबल बढाएको छ । लोकतन्त्रको रक्षा वा विस्तारको कुरै छोडौं, ट्रम्प आफै लोकतन्त्रप्रति उदासीन छन् । आधुनिक अमेरिकाको इतिहासमा यति भ्रष्ट सरकार कहिल्यै बनेको थिएन । ट्रम्पले जताततै क्लिप्टोक्र्याटसहरुलाई लाइसेन्स दिएका छन् ।

मेरो कार्यकालको पहिलो वर्ष नै म लोकतन्त्रका लागि विश्व शिखर सम्मेलन आयोजना गर्नेछु । लोकतन्त्रको नयाँपन स्वतन्त्र विश्वको शर्त हुनेछ । अमेरिकाले तीन नयाँ क्षेत्रमा विश्वव्यापी सहकार्यको प्रतिबद्धता व्यक्त गर्नेछ । त्यो अधिनायकवादको विरोध, भ्रष्टाचार विरुद्धको संघर्ष र मानव अधिकार स्थितिको सुधार हुने छ । यस्तो शिखर सम्मेलनमा विश्वभरिबाट नागरिक समाजका प्रतिनिधिहरुलाई समेत सामेल गरिने छ ।

सामाजिक सञ्जाल कम्पनीहरुको एकाधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको मानक मान्न सकिन्न । उनीहरुले उपभोक्ता अधिकारलाई ध्यान दिनैपर्छ । व्यक्तिगत गोपनियताको अधिकारलाई ध्यान दिनैपर्छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई निगरानी संस्थाका रुपमा काम गर्न दिइने छैन ।

दोस्रा कुरा– मेरो प्रशासनले अमेरिकी मध्यम वर्गको आर्थिक हितलाई अधिकतम् ध्यान दिनेछ । विदेश नीतिमा मैले विश्व अर्थतन्त्रको सफलताका शर्तहरुलाई जोड्ने छु । चीनसँग होस् वा अरु कोहीसँग भविष्य हुने प्रतिस्पर्धालाई जित्न लोकतन्त्र र आर्थिक हितलाई सँगसँगै लानु पर्दछ । खराब आर्थिक अभ्यास र असमानतालाई निरुत्साहित गर्नै पर्दछ ।

मैले अध्ययन, अनुसन्धान आविष्कार र विकासमा लगानी बढाउने छु । आविष्कारमा अमेरिकाको नेतृत्वदायी भूमिका हुनै पर्छ । हामी यो सवालमा अहिले किन पछि पर्दैछौं, मैले यसो हुनु पर्ने कुनै कारण देखेको छैन । चीन र अरुले क्लिन इनर्जी, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, फाइभ जी सञ्चार सेवा, द्रुतगतिको रेल र क्यान्सरको द्रुत उपचारमा काम गर्न सकेका छन् । तर हामी पछि पर्दैछौं । हामीसँग विश्वकै ठूला अनुसन्धानमुलक विश्वविद्यालयहरु छन् । तर राम्रो सदुपयोग किन भइरहेको छैन ?

अमेरिकी नागरिकको रक्षा गर्न बल प्रयोग गर्नुपर्ने अवस्था आएमा पनि मलाई कुनै हिचकिचाहट हुने छैन । सबैलाई थाहा छ, अमेरिकासँग संसारकै सबैभन्दा बलियो सैन्य शक्ति छ । तर, सैन्य बलको प्रयोग मेरो प्रशासनको लागि अन्तिम उपाय हुनेछ, पहिलो हैन ।

अमेरिकामै थप पर्याप्त लगानी र वैश्विक अर्थतन्त्रको सफलतालाई निश्चित नगरिकन म कुनै नयाँ व्यापार सम्झौतामा प्रवेश गर्ने छैन । व्यापार सम्झौताहरु गर्दा श्रम र वातावरणीय प्रावधानलाई उच्च महत्व दिइने छ । चीन अहिले वैश्विक पहुँच विस्तार र आफ्नो राजनीतिक प्रणाली प्रवर्वद्धनको दीर्घकालीन रणनीतिमा हिंडिरहेको छ । निश्चय नै यो चुनौति हो । हामीले क्यानडा र युरोपियन युनियनसँगको सम्बन्धलाई तुरुन्तै दुरुस्त गर्न सक्नुपर्दछ । आर्थिक चुनौतिलाई सामना गर्न सक्ने हाम्रो देशको क्षमतालाई अहिले ट्रम्पले नष्ट गर्दिएका छन् ।

चीनले सृजना गरेको चुनौति सामना गर्ने सबैभन्दा राम्रो तरिका भनेको अमेरिका साझेदारहरुबीचको सम्बन्धलाई बलियो बनाएर चीनका लोकतन्त्र र मानव अधिकार विरोधी कदमहरुको प्रतिरोध गर्नु नै हो ।

अमेरिकी नागरिकको रक्षा गर्न बल प्रयोग गर्नुपर्ने अवस्था आएमा पनि मलाई कुनै हिचकिचाहट हुने छैन । सबैलाई थाहा छ, अमेरिकासँग संसारकै सबैभन्दा बलियो सैन्य शक्ति छ । तर, सैन्य बलको प्रयोग मेरो प्रशासनको लागि अन्तिम उपाय हुनेछ, पहिलो हैन । अफगानिस्तान र मध्यपूर्वबाट अलकाइदा र आइएसजस्ता संगठनलाई हराएर फर्किनुछ ।

मैले साउदी नेतृत्वको यमन युद्धमा अमेरिकी संलग्नतालाई अन्त्य गर्नेछु । लोकतान्त्रिक मुलुकहरुको सैन्य संगठन नेटोका सदस्यहरुलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको प्रत्याभूति दिइने छ । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको क्लिप्टोक्रेटिक अधिनायकवादी राज्य प्रणालीलाई हामीले अझ धेरै पर्दाफास गर्नु पर्दछ ।

स्वन्त्रतासहितको समृद्ध विश्व समाजका लागि अमेरिकाले सबै प्रकारका चुनौतिहरुको निर्भयतापूर्वक सामना गर्नुपर्दछ । यदि अमेरिकाले विश्वको नेतृत्व गर्न नसक्ने हो भने अहिले यस्तो क्षमता भएको अर्को कुनै राष्ट्र छैन । क्षमताको हिसाबले मात्र हैन, यस्तो सोचले बनेको अर्को राष्ट्र यो धर्तीमा छैन । हामी स्वतन्त्रता र लोकतन्त्रको च्याम्पेन बन्नै पर्छ । हामीले हाम्रो गुमेको विश्वासनीयता, जस र नेतृत्वको पुनर्दाबी गर्नै पर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay