scheduleशुक्रवार मंसिर १२ गते, २०७७

संसदीय दलमा बहुमत नपुगे ओलीले सशर्त अध्यक्ष छाड्न सक्ने !

काठमाडौं, ३० कात्तिक । सत्तारुढ नेकपाभित्र अन्तरसंघर्ष पुनः चर्किएसँगै विभिन्न समूहहरुले भेटघाटलाई बाक्लो बनाइरहेका छन् ।

सैन्य शिक्षामा भनिन्छ, ‘बलियो आक्रमण नै सक्रिय आत्मरक्षा हो ।’ जनयुद्ध लडेर आएका नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय यही अख्तियार गरिरहेका छन् । यसअघि उनी रक्षात्मक बन्दै आइरहेका थिए र उनीमाथि निरन्तर आक्रमण भइरहेको थियो । अहिले उनले रणनीति फेरेका छन् र १९ बुँदे पत्रमार्फत् ओलीमाथि गम्भीर हमला बोलेका छन् ।

प्रचण्डको पत्र ओली समूहका लागि निल्नु न ओकल्नु बनिरहेको छ । नागरिकको घरदैलोमा तिहारको रमझम चलिरहँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा भने सत्ता रक्षाको निम्ति विकल्पको खोजीमा दौडधुप गरिरहेका छन् । उनले आफ्ना विश्वास पात्रहरुको परिचालन गर्नुका साथै बालुवाटार हुँदै शितलनिवाससम्म भेटवार्ता बाक्लो बनाइरहेका छन् ।

यसैबीच आइतबार बिहान ओलीले बालुवाटारमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बोलाए । प्रचण्डसँगै पाँच शीर्ष नेताले बलियो हमला गरेपछि उनी कसैलाई धम्क्याउने र कसैलाई फकाउने रणनीतिमा छन् ।

वामदेवलाई ओलीले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिन प्रस्ताव गरे पनि वामदेवले पार्टीको बैठकबाट निर्णय गर्न चुनौती दिएका छन् ।
वामदेव बालुवाटारबाट बाहिरिएसँगै ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटार बोलाएका छन् ।

महासचिव विष्णु पौडेलसहितको भेटवार्ताहरुमा गौतम र नेपालले ओली नै सच्चिनुपर्ने बटम लाइनलाई निरन्तरता दिएका छन् । नेपाललाई ओलीले आगामी महाधिवेशनपछि नेतृत्व सुम्पनेजस्ता नयाँ नयाँ प्रस्ताव राखेको स्रोतले जनाएको छ । नेता गौतमले जस्तै नेपालले पनि बैठकमा बस्न र बैठकबाटै समाधान निकाल्न सुझाव दिएका छन् ।

यसैबीच ओली राष्ट्रपति निवास पनि पुगेका छन् । राष्ट्रपति निवासमा भएका संवादहरुबारे भने कुनै कुरा खुलासा भएको छैन ।

चौतर्फी दबावमा परेपछि ओलीले सके संसदीय दलमा बहुमत पुर्‍याउने नसके आफू अनुकूलको नेतालाई अध्यक्ष बनाउने विकल्पबारे सोच्न थालेको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष छाड्ने कुरामा भने उनले नयाँ पुस्तामा नेतृत्व जानुपर्ने भन्दै शंकर पोखरेल लगायतको नाम लिन थालेको बताइन्छ ।

बहुमत पुर्‍याउन नसकेको अवस्थामा नेकपाको दुवै गुटले प्रतिपक्षी कांग्रेससँगको भेटघाट भने बलियो बनाउन थालेका छन् ।

ओली समूहले मंसीर ३ गतेको लागि बोलाइएको सचिवालय बैठकमा सके बहुमत पुर्‍याउने नसक्ने बैठकमा उपस्थित नहुने रणनीति लिएको बताइन्छ । प्रचण्ड समूह भने सचिवालय बैठकमा बहुमत पुर्‍याउने र मंसिर १५ देखि १७ सम्मका लागि बोलाइएको केन्द्रीय समितिको पूर्वनिर्धारित बैठकबाट सबै कुराको छिनोफानो गर्ने गरी तयारी गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay