scheduleबिहिवारफाल्गुन २० गते, २०७७

महामारीका वाबजुद विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेका छौंः प्रम ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाइरहेको बताएका छन् ।

तिहारकाे उपलक्ष्यमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले उक्त कुरा बताएका हुन् । शुभकामना सन्देशमा उनलेतिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवर्वद्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको उल्लेख गर्दै प्रम ओलीले यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

‘विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु,’ शुभकामना सन्देशमा प्रम ओलीले भनेका छन्, ‘यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ ।’

प्रम ओलीले कोरोना महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाइरहेका दावी गरेका हुन् ।

शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ ।’

तिहारको अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रम ओलीले आह्वान गरेका छन् । उनले भनेका छन्, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay