scheduleआइतवारबैशाख ५ गते, २०७८

सचिवालय बैठकमा ओली पक्ष नजाने

काठमाडौं, २ मङ्सिर । नेकपाको आगामी सचिवालय बैठक अनिश्चित हुने देखिएको छ । बुधवारका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेता सहभागी नहुने संकेत पाएपछि बैठक बस्‍ने-नबस्‍ने टुङ्गो नभएको स्रोतले बताएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको प्रचण्ड पक्षको आरोप छ । ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको उनीहरुको भनाई छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो । सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए । धुम्बाराही बैठकलाई ओली पक्षले ‘प्रचण्ड–नेपालको गुटको भेला’ भन्दै अपमान गरेपछि प्रचण्डसमेत पाँचैजना नेता बालुवाटार पुगेर ४८ घण्टाभित्र पार्टी बैठक बोलाउन लिखित अनुरोध गरेका थिए ।

प्रचण्ड–नेपाल पक्षको लिखित प्रस्तावलाई तोक लगाउँदै ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन भनेका थिए । सोही आधारमा गत शनिबार ४० मिनेट बैठक बसेर नेताहरु निस्केका थिए । शनिवारको बैठकपछि ओलीले अबको बैठकमा आफुमाथि थप संकट आउन सक्ने भन्दै बैठक छल्ने उपायको खोजी गरिरहेको प्रचण्ड पक्षको दाबी छ । यद्यपि ओली पक्षले यसबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

तर, शनिबारको ४० मिनेट आफुमाथि प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई छुट्टाछुट्टै भेट गरी कार्यकारी अध्यक्ष प्रचण्डको साथ छाडेर आफुलाई सघाउन आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपाल र गौतम दुवैले अस्वीकार गरिसकेका छन् ।

प्रधानमन्त्रीले उपप्रधानसहित रोजेको मन्त्रालय लिएर संसदीय दलमा आफुलाई सघाउन गरेको आग्रहलाई गौतमले पार्टी कमिटीमा निर्णय नभएको कुरामा आफुले साथ दिन नसक्ने जवाफ फर्काएका थिए । गौतमको जवाफपछि प्रधानमन्त्रीले पूर्व माओवादीका प्रचण्ड बिरोधी धारमा रहेका केही नेतालाई सम्पर्क गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा अल्पमत भएपनि संघिय संसदमा बहुमत जुटाउने प्रयास जारी राखेका छन् । नेकपा संसदीय दलमा ओली पक्षको बहुमतको लागि कम्तीमा ८ सांसद चाहिन्छ । जसको लागि बामदेवको साथ पाए लगभग पुग्ने ओलीको अनुमान छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay