scheduleशुक्रवार मंसिर १२ गते, २०७७

सौमित्र चटर्जीः रहेनन् त्यो युगको अन्तिम व्यक्तित्व

काठमाडौं, २ मंसिर । कोभिड–१९ संक्रमित भएर मृत्युवरण गर्ने लाखौं मानिसको नामावलीमा एक सिने महारथीको नाम समेत जोडिन पुगेको छ- सौमित्र चटर्जी ।

यद्यपि उनी जीवनको उत्तरार्धमा थिए । सन् १९३५ मा कलकत्ताको मिर्जापुर गल्लीमा जन्मिएका चटर्जी ८५ वर्षका थिए । आइतबार उनको निधन भयो, निहुँ बन्यो- कोभिड-१९ ।

कुनै समय विश्वविख्यात हलिउड निर्देशक मार्टिन स्कोरसेजले भनेका थिए रे- ‘बीसौं शताब्दिका सर्वाधिक प्रभावशाली सिनेकर्मी भारतका सत्यजित रे, जापानका अकिरा कुरोसाबा, इटलीका फ्रेडेरिको फेलेनी र स्वीडेनका इन्गमार बर्गम्यान हुन ।’

सौमित्र चटर्जी त्यो युगसंग जोडिएका एक मात्र जीवित इतिहास थिए । उनले सत्यजित रेका सिनेमाहरुको लागि काम गरेका थिए ।

त्यो युगमा कलकत्ता धेरै अर्थमा भारतको राजधानी थियो । राजनीति र प्रशासन नयाँ दिल्ली सरेको थियो । सिनेमाको राजधानी बुम्बे बनेको थियो । तर कलकत्ताको विरासत समाप्त भएको थिएन । सौमित्र त्यो समयका कलाकार थिए, जुन बेला कलकत्तामा शास्त्रीय कला, साहित्य, संगीत र नाट्यशालाको दबदबा कायमै थियो । सिनेमा भर्खरै मात्र बन्न थालेका थिए ।

कलकत्ता थियटरका लागि नामी शहर थियो । त्यहाँ दर्जनौं साना, ठूला नाट्यशाला र समूहहरु थिए । नाटक गर्नु समाजमा प्रतिष्ठाको बिषय मानिन्थ्यो । सौमित्रका हजुरबुबा त्यस्तै एउटा नाट्य मण्डलीका अध्यक्ष थिए । सौमित्रका जागिरे बुबाले उनलाई अभियनमा प्रेरित गरे । थिएटरमार्फत् उनले आफ्नो अभिनययात्रा प्रारम्भ गरे ।

चटर्जीको सिने अभियानयात्रा सन् १९५९ को ‘अपु संसार’ बाट भएको थियो । उनले करिब ६१ वर्ष अभियनमा बिताए । त्यस अवधिमा उनले विश्वविख्यात सिने निर्देशक तथा अस्कर विजेता सिनेकर्मी सत्यजित रेका १४ वटा सिनेमा काम गरेका थिए ।

यति लामो सिने यात्रामा उनी सधैं कलकत्ता र बंगाली सिनेमा मै सीमित रहे । मुम्बईको सिने नगरी वा हिन्दी सिनेमा उद्योगतिर लागेनन् । उनी सधै बङ्गाली सिने उद्योगका सुपर स्टार कहलिए । उनकी सह-स्टार शर्मिला टैगोरले भने थुप्रै बम्बैया सिनेमा पनि गरिन् ।

सन् १९६२ को अभिजानमा ट्याक्सी ड्राइभर नर सिंहको भूमिकाले उनलाई सर्वसाधारण बंगाली सिने दर्शकबीच अविष्मरणीय बनाई दिएको थियो ।

चटर्जीको डेब्यु सिनेमा ‘अपु संसार’ रेको ट्रिओलोजीको अन्तिम भाग थियो । यसअघि नै रेले ‘पथेर पञ्चाली’ र ‘अपराजिता’ बनाइसकेको थिए । यो सिनेमाले दर्जनौं अवार्डहरु जितेको थियो । लण्डन फिल्म फेष्टिबलमा सिनेमाले ठाउँ पाएको थियो र त्यो समयका संसारमा १०० उत्कृष्ट सिनेमाभित्र सूचीकृत भएको थियो ।

यो सिनेमामा सौमित्रको भूमिका अपूर्वकुमार रायको थियो, जो एक बेरोजगार ग्राजुएट थियो । संयोगले उनी एक साथीको नातेदारको बिहेमा पुग्दछ । तर, यो सिनेमामा शर्मिला टैगोर (अर्पणा) एक टिनएजर बेहुलीको भूमिकाका देखिन्छन् । बिहेको दिन यो प्रष्ट हुन्छ कि बेहुलो मानसिक रोगी हो, झुक्याएर अर्पणको बिहे गरिदैछ । बिहे क्यान्सिल हुन्छ तर त्यतिखेरको हिन्दू सामाजिक मान्यताअनुसार बेहुलीको बिहे निर्धारित लगनमै हुन जरुरी थियो । अपूर्व कुमार एकाएक अर्पणाको नयाँ बेहुलो हुन राजी हुन्छ ।

सौमित्रले अभिनय गरेको दोस्रो सिनेमा ‘क्षुतिदो पाषण’ विख्यात बङ्गाली रविन्द्रनाथ टैगोरको एक कवितामा आधारित थियो । यो सिनेमामा सौमित्र एक अनौठो कथामा देखिएका थिए । उनी एक युवा सरकारी जागिरे थिए जो किचकन्यासँगको प्रेममा फसेका थिए ।

सत्यजित रेका सिनेमा मध्ये ‘चारुलता’ सौमित्रका लागि अर्को कोशेढुंगो थियो । यसको कथा रविन्द्रनाथ टैगोरको एक लघु उपन्यासमा आधारित थियो । यो सिनेमालाई सत्यजित रेको सर्वाधिक सफल सिनेमा मानिन्छ ।

‘चारुलता’ को कथा आधुनिकीकृत हुँदै गएको कलकत्ताको मध्यम वर्गीय परिवारको कथा थियो । कथाले त्यो समयको वर्णन गर्दछ, जतिखर अंग्रेज विरोधी आन्दोलन उठ्न लागेको थियो । प्रेस आएको थियो, पत्रिका छापिन थालेको थियो ।

भूपती एक मध्यम वर्गीय बुद्धिजिवी हो । ऊ स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्न समाचार पत्र सम्पादन गर्दछ । मिसन पत्रकारितामा यति व्यस्त हुन्छ कि उसलाई आफ्नी युवा पत्नी चारुलताका इच्छाआकांक्षाबारे मतलब हुन छोड्दछ । चारुलता घरका एक्लो हुन्छे, उसलाई कला, चित्रकारिता र काव्यको मोह छ । त्यही समयमा सौमित्र अमोल बनेर कथामा प्रवेश हुन्छन् । उनी आफ्नी भाउजु पर्ने चारुतलालाई बौद्धिक, नैतिक तथा व्यवहारिक सहयोग गर्न थाल्दछ ।

अन्ततः भाउजु र देवरको बीचको प्रेम बस्छ । तर भूपतिलाई कुनै अत्तोपत्तो हुँदैन । भाउजु र देवर दुव प्रेमभावनाले आशक्त र नैतिक भावनाले पीडित हुन्छन् ।

भाउजुसँग प्रेम गरेर अनैतिक काम गरेको हीन भावनाले ग्रस्त अमोल एक भावुक पत्र लेखेर त्यो छोडेर भाग्दछ । चारुलता पत्र पढेर रुँदै हुन्छे । ठीक त्यही बेला प्रेस टाटपल्टिएर विचित्रको मानसिक तनावमा भएको भूपति घर आइपुग्छ । चारुलताको अमोलप्रतिको प्रेमभावना थाहा पाएर ऊ छक्क पर्दछ ।

सौमित्रले सिनेमामा स्थापित हुनुभन्दा अगाडि केही समय अलइन्डिया रेडियोको कलकत्ता स्टुडियोमा उद्घोषकको रुपमा काम गरेका थिए । उनी नाटककार तथा कवि पनि थिए ।

तत्कालीन बंगाली हिन्दू समाजमा सिनेमामार्फत् यस्तो कथा भन्ने आँट गर्नु आफैंमा ठूलो साहस थियो ।

सत्यजित रेका अतिरिक्त सौमित्र चटर्जीले मृणल सेन र तपन सिन्हाका सिनेमाका लागि काम गरे ।

मृणाल सेनको ‘आकास कुसुम’ मा सौमित्रले क्यारियर खोजिरहेको एक संघर्षशील युवकको भूमिका गरेका थिए । ग्राजुयेट विद्यार्थी र बेरोजगार युवाबीच यो सिनेमा खुबै लोकप्रिय भएको थियो । पतन सिन्हाको ‘जिन्दर बन्दी’ मा उले मर्युबहनको भूमिका गरेका थिए, जो खासै बलियो भूमिका थिएन ।

सन् १९९९ मा फ्रान्स सरकारले सौमित्रलाई कलासहित्य क्षेत्रको सबैभन्दा ठूलो सम्मान थिएको थियो । सन् २०१२ मा सौमित्रलाई दादासाहब पाल्के लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको थियो ।

निर्देशक सत्यजित रेलाई जस्तै सौमित्रलाई वामपन्थी झुकाव राख्ने अभिनेता मानिन्थ्यो । कम्युनिष्ट राजनीतिको सघन प्रभाव भएको बंगालमा अधिकांश स्वतन्त्र बुद्धिजिवी, कलाकर्मी र सिनेकर्मी कम्युनिष्टहरुप्रति सहानुभूति राखेको आरोपले थलिन्थे ।

नयाँ दिल्ली र मुम्बईमा आरोपजस्तो ठानिने यस्तो कुरा कलकताको भने स्वभाविकता थियो । तथापि सौमित्रको निधनमा दक्षिणपन्थी हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरे ।

उनले भने, ‘श्री सौमित्र चटर्जीको निधन विश्व सिनेमाको साथसाथै पश्चिम बंगाल र पुरै देशको सांस्कृतिक जीवनमा लागि धेरै ठूलो क्षति हो । उनको निधनले अत्यन्तै दुःखी बनाएको छ । परिवारजन र प्रस‌ंशकहरुप्रति मेरो हार्दिक समवेदना ।’

सौमित्र सिने इतिहासको एक युगमा जीवित साक्षी थिए । उनको निधनसँगै त्यो युगको अन्तिम व्यक्तित्वको निधन भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay