scheduleशुक्रवार मंसिर १२ गते, २०७७

विश्वव्यापी चर्चामा बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रोमाइज्ड ल्याण्ड’

काठमाडौं, २ मंसिर । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा एक राम्रा लेखक पनि हुन् । आफ्नै जीवन, अनुभव र अनुभूतिलाई समेटेर उनले संस्मरणात्मक तथा अभिप्रेरणात्मक पुस्तक लेख्ने गरेका छन् ।

सन् १९९५ मा उनको पहिलो पुस्तक ‘ड्रिम फर माई फादर’ प्रकाशित भएको थियो । यसमा उनले आफ्नो बाल्यकाल र विद्यार्थी जीवनको चर्चा गरेका छन् । यस पुस्तकमा उनको सन् १९८८ सम्मको जीवन वर्णित छ, जतिखेर उनी भर्खरै इलिनोइस राज्यको प्रादेशिक राजनीतिमा प्रवेश गरेका थिए ।

ओबामाको दोस्रो पुस्तक ‘अडासिटी अफ होप’ सन २००६ मा प्रकाशित भएको थियो । यसलाई पहिलो पुस्तक अन्त्य गरिएका वर्षहरुबाट उठाउने प्रयास गरेका थिए । तर, सन् २००८ को राष्ट्रपति निर्वाचनलाई लक्षित गरी अमेरिकी समाजसँग आशा र सपनाहरु बाँडेका थिए ।

सन् २०१० मा प्रकाशित ओबामाको ‘अफ दि आई सिङ’ भने बाल साहित्य हो । यस कृतिमा ओबामाले अमेरिकी राष्ट्रिय जीवनका विविध पक्षलाई प्रतिनिधित्व गर्ने १३ व्यक्तित्वहरुको जिवनी र कथा वाल पाठकहरुले सुनाउने शैलीमा लेखेका छन् ।

उनको चौथो किताब छिट्टै प्रकाशित हुन लागेको छ । नाम राखिएको छ- अ प्रोमाइज्ड ल्याण्ड । यस पुस्तकमा उनको राष्ट्रपतीय कार्यकाल २००९–२०१७ को ८ वर्षे अनुभवमा आधारित हुने बताइएको छ । पुस्तकमा उनी पहिलोपटक ह्वाइट हाउस प्रवेश गरेबाट प्रारम्भ भई ओसामा बिन लादेनको मृत्युमा पुगेर सकिने बताइएको छ ।

समग्र पुस्तक प्रकाशित हुनुअघि खण्डखण्ड प्रकाशित भइरहेका छन्, त्यसले विभिन्न देशमा विभिन्न प्रकारका बहस सृजना गरिरहेका छन् । उनले राष्ट्रपति हुँदा भ्रमण गरेका देश र भेटघाट गरेका व्यक्तित्वहरुको समेत चर्चा गरेको बताइन्छ ।

‘प्रोमाइज्ड ल्याण्ड’ बाइबलिक मिथोलजीमा आधारित नाम हो । बाइबलिक अवधारणमा ‘दूध र महले बनेको जमिन जहाँ आशा र खुशीहरुको सर्वाधिक स्थान हुन्छ’ लाई प्रोमाइज्ड ल्याण्ड भनिन्छ । अर्को अर्थमा ‘स्वतन्त्रता र मुक्तिको देश’ नै प्रोमाइज्ड ल्याण्ड हो । किताबमा अमेरिकालाई ओबामाले आशा, सपना, स्वतन्त्रता र मुक्तिको भूमि मानेका छन् ।

भारतमा ओबामाको प्रकाशोन्मुख पुस्तकलाई लिएर तीव्र प्रतिक्रिया भएको छ । आफ्नो राष्ट्रपतीय कार्यकालमा ओबामा २ पटक भारत भ्रमणमा आएका थिए । त्यतिखेर युपिए गठबन्धनको सरकार थियो र मनमोहन सिंह प्रधानमन्त्री थिए ।

आफ्नो नयाँ किताबमा ओबामाले सोनिया गान्धी, राहुल गान्धी, मनमोहन सिंह, उनकी पत्नी गुरुशरण कौर, ओबामा र पत्नी मिसेल ओबामा संलग्न एक रात्रीभोजको चर्चा गरेको बताइएको छ ।

ओबामाले राहुल गान्धीको व्यक्तित्वलाई एक ‘नर्भस’ र आज्ञाकारी बालकको जस्तो चित्रण गरेका छन् । उनले राहुललाई बोल्दा बारम्बार आमा सोनिया गान्धीतिर हेर्ने गरेको र आत्मविश्वास नभएको युवाका रुपमा चर्चा गरेका छन् ।

ओबामाले राहुलबारे चर्चा गर्दै भनेका छन्, ‘एउटा यस्तो विद्यार्थी जो आफ्नो अध्ययनकार्य छिटो सकेर आफ्नो शिक्षकलाई प्रभावित गर्न आतुर रहन्छ तर बिषयवस्तुको गहनताबारे कमजोर रुचि राख्दछ ।’

मनमोहन सिंहको बारेमा ओबामाले ‘उमेरभन्दा पनि बुढो प्रधानमन्त्री’ भनेका छन् । मनमोहन सिंह प्रधानमन्त्रीबाट निवृत्त हुँदा ७८ वर्षका भइसकेका थिए ।

सोनिया गान्धीको बारेमा भने ओबामाले लेखेका छन्, ‘थोरै बोल्ने तर धेरै सुन्ने एक जबरजस्त बौद्धिकता भएको माहिला जो नीतिगत प्रश्नमा सिंहसँग भिन्नता राख्ने आँट गर्दछिन् ।’

ओबामाले त्यो बैठकको दिनदेखि नै आफूलाई कांग्रेस पार्टीको भविष्यबारे चिन्ता लागेको उल्लेख गरेका छन् ।

राहुल गान्धीबारेको टिप्पणीलाई लिएर कांग्रेसका कतिपय नेताले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

टर्कीका राष्ट्रपति एर्दोगान, रुसी राष्ट्रपति पुटिन आदि थुप्रै विश्व नेताहरुबारे ओबामाको बुझाई र विश्लेषणले विवाद सृजना गर्न सक्ने ठानिएको छ ।

आफ्ना कतिपय विश्लेषणले गत नोभेम्बर ३ को निर्वाचनलाई प्रभावित गर्न सक्ने ठानी पुस्तक प्रकाशनको मिति चुनावपछि सारिएको थियो ।

ओबामाले नयाँ राष्ट्रपति जो बाइडेनलाई ‘एक भद्र र इमान्दार मानिस’ भनेका छन् । बाइडेन ओबामा कार्यकालमा उनको उपराष्ट्रपति थिए ।

ओबामाको पुस्तक नोभेम्बर १७ मा प्रकाशित हुने बताइएको छ । पुस्तक विश्वका २४ भाषाहरुमा २५ लाख कपी प्रकाशन हुने प्रकाशन संस्था क्राउन पब्लिसिङ ग्रुपले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay