scheduleशुक्रवार मंसिर १२ गते, २०७७

गुटतन्त्रको दुर्भाग्य-चक्रले कहिल्यै नछाडेको देश

नेपाललाई अझै ‘सतीले श्रापेको देश’ भन्न छोडिएको छैन । बारम्बार दोहोरिने अनपेक्षित स्थिति, काम कुरो एकातिर लठीभद्र छोडेर कुम्लो बोकी ठिमीतिर हिंडेका ठूलाबढाहरुको लस्कर, त्यसले सृजना गर्ने आमनिराशा, वितृष्णा र मोहभंगताले यो पुरानो कथन सजिलै मानिसहरुको मुखबाट फुत्किरहेको हुन्छ- ‘सतीले श्रापेको देश’ मा यस्तै हो । यहाँ कहिल्यै केही हुन्न, जो आए पनि उस्तै हुने हो, तमासा देखाउने मात्र हुन् ।

यस्ता अभिव्यक्तिहरु अकारण उत्पन्न भएका छैनन् । यसको लामो श्रृङ्खला छ । अब त केही हुन्छ कि तब त केही हुन्छ कि भनेर यहाँ अनेक राजनीतिक प्रयोगहरु भएका छन् । दुनियाँमा नभएको ‘श्री ५’ र ‘श्री ३’ दुई परिवारको संयुक्त शासन यही देशमा भयो । निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्र ३ वटै समानान्तर शासन प्रणाली यही अभ्यास भए । अधिनायकवाद, प्रजातन्त्र र लोकतन्त्र पनि धेरै मानिसको एउटै जीवनमा आए । एकात्मकता र संघात्मकताको भिन्न प्रयोग पनि भयो । तर, यी कुनै पनि अभ्यासले अहिलेसम्म अपेक्षित परिणाम दिएन ।

देश जहाँ थियो, अहिले पनि त्यहीँ छ । उही गरिबी, बेरोजगार र अल्पविकास । उस्तै श्रम तथा प्रतिभा पलायन । उही बेथिति, भ्रष्टाचार र कुशासन । उस्तै शासकीय शैली, अहंकार र छुद्रता । स्वार्थप्रेरित राजनीतिको षड्यन्त्र र गोलचक्कर कायमै छ । तमासामा देखाइने ‘मौतका कुवा’ को दौडजस्तो यो उपक्रम कहिले टुंगिने हो, कुनै ठेगान छैन । मनलाई ढाडस दिने जब सबै व्यवहारिक उपायहरु समाप्त हुन्छन्, ज्ञान, तर्क र जवाफहरुको अन्त्य हुन्छ, विवेकसम्मत चिन्तन र दृष्टिकोणको सार्थकता स्वतः कमजोर हुन्छ ।

लाग्न थाल्दछ– यो देश यस्तै हो, यस्तै थियो, यस्तै रहन्छ । विज्ञान र विवेकको अन्त्य भएपछि ‘फिक्सन’ वा ‘परिकथा’ मा विश्वास गर्नु बाहेकको उपाय बाँकी रहँदैन । यथार्थमा कुनै देश सर्वथा अनपेक्षित तथा विसंगत स्थितिको सामना गर्न ‘श्रापित’, ‘अभिशप्त’ वा ‘नियतिग्रस्त’ होला भनेर विश्वास गर्न सकिने वैज्ञानिक तथा वस्तुगत आधार छैन । सिद्धान्त र विज्ञानले खण्डित गर्ने कमजोर अवधारणाहरु जब व्यवहारले सही सिद्ध गर्दछ, त्यसपछि समाज झनझन निराश र रुढीवादी हुन बाध्य हुन्छ ।

 

सुदर्शन खतिवडा

 

विज्ञान जगतमा एउटमा रोचक कथा छ । भौतिकशास्त्री म्याक्स बोर्नले क्वान्टा, इनर्जी र अनिश्चिताबीचको सम्बन्धलाई देखाउँदै ‘डिटरमिनिज्म’ को आलोचना गर्दा महान वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका थिए रे– ‘भगवानले जुवा नखेल्नु पर्ने हो ।’

 नेपालको दलीय राजनीतिमा गुटतन्त्रको सदाबहार भूमिका हेर्दा लाग्छ– श्रापित देश पनि हुन्छ । भगवानले जुवा पनि यही आएर खेल्छ । नेपालको दलीय लोकतन्त्र जुवाको त्यस्तो खाल हो, जहाँ निर्धारित चितपोटहरु दोहोरिहन्छ । जुवाडे यदाकदा बदलिन्छन तर खेलको तरिका उस्तै हुन्छ, खालको हल्लीखल्ली उस्तै हुन्छ । बाजी तिनीहरुकै भागमा घुमिरहन्छ, केही केहीले च्याँखे थाप्छन्, अन्यथा सबै गुटतन्त्रको अभेद्य दुर्भाग्य–चक्रका रमिते र शिकार मात्र हुन् । जनताले, सर्वसाधारणले त्यही रमितामा मज्जा मान्नु पर्ने हुन्छ ।

देश पुनश्चः त्यही दुर्भाग्य–चक्रमा छ अहिले । जुवाडेहरु गुटतन्त्रको कौडा हान्दैछन् । कोभिड–१९, भोकमारी र आर्थिक संकटग्रस्त सर्वसाधारणको भागमा त्यही रमिता हेर्नु, ताली बजाउनु परेको छ ।

२००७ सालदेखि २०१७ सालसम्मको १० वर्ष, २०४७ देखि २०७७ सालसम्मको ३० वर्ष, ४० वर्षको दलीय अभ्यास र अनुभव सिकाई, शिक्षा र पाठका लागि कम समय हुँदै हैन । आधुनिक राज्य–निर्माण प्रक्रियामा ४० वर्ष पर्याप्त समय हो भन्ने सिङ्गापुरलगायतका केही देशहरुले व्यवहारिक रुपमै पुष्टि गर्दिएका छन् । यतिका समयमा त देश कहाँबाट कहाँ पुग्नु पर्ने हो, तर छ जहिँको त्यही ।

एक क्षणलाई कल्पना गरौं- २००७ सालपछि कांग्रेसका दुई मुख्य नेता मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीच त्यो स्तरको मतभेद र असझदारी नभइदिएको भए- त्यस अवधिको हाम्रो राजनीतिक इतिहासको बाटो त्यस्तै हुन्थ्यो वा फरक हुन्थ्यो ?

 

२०४७ सालपछि नेपाली कांग्रेसमा गणेमानसिंह-किसुनजी विरुद्ध गिरिजाप्रसाद कोइरालाको जुन गुट संघर्ष रह्यो, त्यो नभइदिएको भए, त्यस अवधिको हाम्रो राजनीतिक इतिहासको अध्याय कस्तो हुन्थ्यो होला ?

 

२०५४ मा एमाले सबैभन्दा ठूलो दल भएको बेला माधव–केपी र वामदेव-सीपी समूह बीचको तिक्तता व्यवस्थापन हुन सकेको, एमाले र माले विभाजन नभएको भए, त्यो अवधिको हाम्रो इतिहास कस्तो बन्थ्यो होला ?

२०६४ सालमा पहिलो संविधानसभामा देशकै सबैभन्दा ठूलो र शक्तिशाली बनेर आएको माओवादीमा प्रचण्ड, बाबुराम, किरण र विप्लवका सोच, कार्यदिशा र रणनीतिमा भारी भिन्नता नदेखिएको भए पक्कै आजको राजनीतिक परिदृष्य निक्कै फरक हुन्थ्यो ।

के ती सम्भावना कल्पना मात्र थिए ? बिल्कुल थिएनन् । नेतृत्व पङ्क्तिले थोरै मात्र दुरदर्शिता देखाएको भए त्यसो हुन सम्भव थियो । बीपीसँग सधैं जोरी खोजेर आखिर मात्रिकाले के पाए ? भएको राजनीतिक साख पनि गुमाएर मरे । २००७ को क्रान्तिको सर्वोच्च कमाण्डर अन्नतः दरबारको आँगनमा चाकरी गर्नुपर्ने हैसियतमा मरे ।

गणेशमान र किसुनजीलाई बारम्बार अपमान गरेर, पीडा दिएर पार्टी छोड्न बाध्य बनाएर गिरिजा प्रसादले कुन ठूलो हैसियत र राजनीतिक उपलब्धि हासिल गरे ? पार्टी ३६ से र ७४ रे भयो । मध्याबधि भयो, कांग्रेस हार्‍यो । भारतमा राष्ट्रिय कांग्रेसले जस्तो लामो शासन गर्छ भनिएको पार्टी आफैं बबुरो बन्न पुग्यो ।

बाबुराम, किरण र विप्लवलाई ठेगान लगाएर, माओवादी पार्टीभित्र एक्लो हालीमुहाली कायम गरेर आखिर प्रचण्डले के पाए ? हुँदा खाँदाको पार्टी र आन्दोलन सकियो । अन्ततः कहिल्यै कुरा नमिल्ने ओलीसँग मिल्नु पर्‍यो । अहिले ओलीले कुन स्तर र हैसियतमा व्यवहार गरिरहेका छन्, देखिएकै छ ।

गुटतन्त्रको रोग कांग्रेस–कम्युनिष्टजस्ता ठूला र शास्त्रीय दलहरुमा मात्र हैन, यो राष्ट्रिय जीवनकै अभिन्न अंगजस्तो बनेको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा निक्कै ठूलो तेस्रो दलका रुपमा उदय भएको राप्रपामा थापा र चन्द समूहबीचको खिचातानी नभएको भए त्यो दल आज यसरी नै मरिचजस्तो चाउरिन्थ्यो होला ? करिब १८ प्रतिशत लोकप्रिय मत र २० सीट पाएको राप्रपा ३ प्रतिशतको थ्रेसहोल्ड पनि काट्न नसक्ने हुँदै सुकेनाश लागेर कुनामा थन्किनथ्यो होला ?

हिजोका मधेशकेन्द्रित दलहरुमा गुटतन्त्र र विभाजनको कथा उस्तै छ । चाहे नेपाल सद्भावना पार्टीमा होस् वा मधेसी जनाधिकार फोरममा दर्जनौं पटक गुटतन्त्रका झमेला देखिए, दर्जनौं पटक फुट भए । आखिर यी सबै घटनाले परिणाम के दियो त ? कसलाई सुख दियो ? कसलाई सन्तुष्टि मिल्यो ? कसको भलो भयो ?

गणेशमान र किसुनजीलाई कांग्रेस छोडेर मर्न बाध्य बनाएका गिरिजाप्रसादको कुन त्यस्तो मिसन पुरा भयो ? जीवनको उत्तरार्धमा शान्ति प्रक्रिया र गणतन्त्रको नेतृत्वको गर्ने अवसर पाएको कालखण्डलाई हटाएर २०४६-२०५६ बीचका मात्र गिरिजाप्रसादको चित्रण र भूमिका विश्लेषण गर्ने हो भने त्यो चित्र कहाँनेर कसलाई चित्त बुझ्ला ? कति फिका, विद्रुप र निकृष्ट देखिएला ? संसदीय विकृतिको युग भनिने त्यो युग आज पनि उत्तिकै लान्छित छ ।

एमाले फुटाएका वामदेव-सीपीको चर्चा गरेर केही अर्थ छैन । उपेन्द्र यादवबाट मधेसी जनाधिकार फोरमको विरासत खोस्न विजय गच्छदार र जेपी आनन्दले गरेका प्रयत्नहरुको सार्थकता आज खै कहाँनेर छ ?

नेपालमा आजसम्म गुटतन्त्रको सार्थकता पुष्टि भएको छैन । तर, दुर्भाग्य त्यही दोहोरिरहेको छ । आज ओली सत्तामा छन् । उनको चरित्र २०४७-२०५७ का गिरिजाप्रसाद र २०६४-२०७४ बीचमा प्रचण्डको भन्दा कहिँकतै भिन्न छैन ।

एकजना व्यक्तिको अहंकारका अगाडि कसरी सयौं/हजारौं नेता कार्यकर्ता भेडाबाख्राको हैसियतमा सीमित हुनसक्दा रहेछन् ? कम्युनिष्ट नेता कार्यकर्तामा कसरी यो हदसम्मको विद्रोह चेतको स्खलन कसरी सम्भव हुँदोरहेछ ? ओलीमा यति बिघ्न अहंकार किन आउन जरुरी थियो ? उनले इतिहासबाट किन सिकेनन् ?

करिब दुईतिहाईको प्रचण्ड बहुमत पाएको प्रधानमन्त्री देश र जनताको सेवामा तल्लिन हुन साटो किन अनेक कर्मकुकर्म गर्नु परेको थियो ? किन अर्काको दल फुटाउन सांसद अपहरण गर्दै हिंड्नु परेको थियो ? किन आफ्नै पार्टीको संस्थागत प्रक्रिया छल्न परेको थियो ? किन कोरोना महामारीबीच अनेक झमेला र तमासा देखाउन परेको थियो । आफ्नै विश्वासनीयता कमजोर हुने गरी किन हजार उट्पट्याङहरु बोल्न परेको थियो ? प्रश्नैप्रश्न जन्मिएका छन् ।

यी सबै सत्ता र शक्तिको अहंकारले सृजना गर्ने दुष्कर्म बाहेक केही थिएनन् । शासकहरुका यस्तै दुश्कर्मको कारण यहाँ ‘सतिले श्रापेको देश’ को कथन कायम छ । नेपाल भगवानले जुवा खेलिरहेको खालजस्तो बन्न पुगेको छ । सत्तारुढ नेकपाको विद्यमान घटनाक्रम त्यही श्राप, अभिशाप र नियतिको पछिल्लो कडी मात्र हो । देशलाई गुटतन्त्रको दुर्भाग्य-चक्रबाट निकाल्न नसक्ने हो भने नेपाल कहिलेसम्म श्रापित नै रहने छ, भन्न सकिन्न ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay