बिग ब्यासमा सन्दीपले होबार्ट हुरिकेन्सबाट खेल्ने सम्भावना
काठमाडौं, ३ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको बिग ब्यास लिग (बिबीएल) टी२० क्रिकेट होबार्ट हुरिकेन्सबाट खेल्ने सम्भावना रहेको छ । सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।
यस सिजनका लागि स्टार्सले सन्दीपलाई रिटेन गरेको छैन र सन्दीपले नयाँ टिमबाटै लिग खेल्ने पक्का नै छ । तर कुन टिमबाट खेल्ने अन्तिम निर्णय भने हुन बाँकी छ ।
सन्दीपको पूर्व टोली स्टार्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको हुनाले सन्दीपले खेल्ने नयाँ टिम होबार्ट हुने सम्भावना भएको हो । स्टार्सले अफगानिस्तानका जाहिर खानलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि जोनी बेयर्स्टोव र निकोलस पुरनलाई स्टार्सले अनुबन्ध गरिसकेको छ । यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ ।
उता होबार्ट भने अफगानिस्तानका अर्का स्पीनर काइस अहमदको विकल्प खोज्दैछ । काइस यस सिजन बीबीएलमा उपलब्ध हुने छैनन् ।
अस्ट्रेलियन क्रिकेट मिडियाले सन्दीपको नाम होबार्टसँग जोडिएको बताउँदै आएको छ । होबार्टले काइसको विकल्प खोजिरहेको हुनाले सन्दीपले उक्त टिमबाट मौका पाउन सक्ने सम्भावना छ ।
होबार्टले यस सिजनका लागि विदेशी खेलाडीको रुपमा इंग्ल्याण्डका डेविड मालान र वेष्ट इन्डिजका किमो पाउललाई अनुबन्ध गरिसकेको छ र आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ ।