scheduleशुक्रवार मंसिर १२ गते, २०७७

कमरेड तपाईंको हेडक्‍वाटर दूतावास की शीतलनिवास ?

रुद्रप्रसाद भट्ट

२०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । तत्कालीन अवस्थामा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गरी नेकपा बनेको हो ।

मार्क्सवाद र लेनिनवादलाई आदर्श मान्दै जनताको बहुदलीय जनवाद विचारधारा बोकेको एमाले र मार्क्सवाद, लेनिनवाद, माओवादलाई आदर्श मान्दै नयाँ जनवादी विचारधाराको माओवादीबीच ‘मदन–आश्रित स्मृति दिवस’को दिन एकता भएको थियो । पार्टी एकता घोषणामा दुई अध्यक्ष रहने र दुवैले आधा-आधा कार्यकाल प्रधानमन्त्रीको पद बाँडेर लिने ‘लोभी शर्त’मा कुरा मिलेको थियो ।

त्यसपछि गुट र उपगुट मिलाएर सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी र विभागहरु गठन हुन थाले । जसले गर्दा विचार र सिद्धान्तलाई पाखा लगाउँदै कार्यकर्ताको त्याग अनि बलिदानलाई बेवास्ता गरियो ।

पार्टी घोषणाकै दिनदेखि माधव नेपाल र झलनाथ खनालबीच वरिष्ठ नेता को हो ? भन्ने लफडा शुरु भयो । त्यसलगत्तै दुई अध्यक्षबीच को १ नम्बर ? कसको कुर्सी अगाडी राख्ने ? जस्ता लोकल भट्टी पसलमा हुने राजनीतिक गफ जस्ता कुराले पार्टी बैठकमै प्रवेश पाउन थाल्यो । आफ्नो स्वार्थ अनुकूल नहुनेबित्तिकै एक पक्षले अर्को पक्षलाई आरोप लगाउँदै जाँदा मार्क्सवाद, लेनिनवाद र माओवाद विकसित भएर बहुदलीय जनवाद हुँदै अहिले पार्टी ‘बर्बाद’सम्म पुग्न लागेको छ ।

दुई पाईलटले उडाएको जहाज पटक–पटक दुर्घटना नजिक पुगेर अहिले दिशाहीन अवस्थामा आकाशमै चक्कर लगाईरहेको छ । दुईजनाको झगडाले जहाज अवतरण गर्ने ताकत दुवै पाईलटमा देखिँदैन । म बाहेक अर्कोले उडायो भने जहाज दुर्घटना हुन्छ, त्यसैले म छाड्दिन भन्ने ठोकुवा गरेका ओली पाईलटलाई अर्का पाईलट प्रचण्डले ओलीको उडान सर्टिफिकेट नै नक्कली हो भनेर अन्य यात्रुलाई बुँदागत रुपमा जानकारी गराएपछि यात्रुमा भय र त्रास बढेको छ ।

रुद्रप्रसाद भट्ट

दुई पाईलट वाकयुद्धमा उत्रिएपछि जहाज अनियन्त्रित भई गतिहीन भएर हल्लिन थालेको छ । जहाजमा सवार केही यात्रु समेत जहाज दुर्घटना हुँदैछ भनेर रोईकराई गर्न थालेका छन् । जहाजको ईन्जिनमै समस्या देखिन थालेको र गन्तव्यसम्म पुग्ने ग्यारेण्टी नभएपछि नेकपा नामको जहाजमा रहेका यात्रुको अनुहारबाट चमक हराएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको अहंकार र घमण्ड अनि अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका केहीको लगातारको ल्याङ-ल्याङले ग्रस्त भएको नेकपाको विवाद मिलाउन नेपालस्थित चिनियाँ राजदूत र राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता अचम्मलाग्दो विषय छ । बाहिर हल्ला भएजस्तै यदि विगतमा एमाले पार्टीको उपाध्यक्ष भएकै आधारमा अहिलेपनि पूर्व एमाले र त्यसमा पनि पूर्व गुटकै लागि मात्रै राष्ट्रपतिले आफुलाई केन्द्रित गरेको हो भने यो खेदजनक कुरा हो । सिङ्गो देशको अभिभावकले एउटा पार्टी भित्रको पनि सानो गुटको स्वार्थमा काम गर्नु जनताको आशा, भरोसा र विश्वासमाथि घात हो ।

यदि होइन र आरोप मात्रै लगाईएको हो भने यस कुराको खण्डन राष्ट्रपति कार्यालयबाट आउनुपर्छ । नेकपाको गुटगत स्वार्थमा देशको राष्ट्रप्रमुखलाई विवादमा तान्नु दुःखद र निन्दनीय काम हुनसक्छ । कसैले हिजो पार्टीमा हुँदाको पार्टी वा गुटगत सम्बन्धलाई आधार बनाएर राष्ट्रपतिलाई विवादमा ल्याउन खोजेको हो भने उसलाई राष्ट्रपति कार्यालयको ढोका बन्द गरिनुपर्दछ ।

यदि राष्ट्रपतिकै चासो र सक्रियतामा नेकपाभित्रको विवाद अन्त्य गर्न खोजिँदै छ भने राष्ट्रपति कार्यालयलाई औपचारिकरुपमै पार्टी हेडक्‍वाटर भन्दा फरक नपर्ला कि ? यसको जवाफ जनताले मागेको बेला राष्ट्रपति कार्यालयले दिने कि नेकपाले दिने ?

एउटा पार्टीको विवाद, प्रदेशका मुख्यमन्त्रीको निर्वाचन र संघीय मन्त्रीपरिषद हेरफेर अनि राजदूत नियुक्ति गर्दासम्म राष्ट्रपतिको सक्रिय भूमिका भएको भनेर बाहिरिएको हल्ला यदि साँचो हो भने शीतलनिवासलाई पार्टीको हेडक्‍वाटर भन्‍नुपर्ने अवस्था आउन सक्छ । यो विषयमा नेकपा र यसका नेतृत्वकर्ता दुवै पाइलट लज्जित हुनुपर्ने होईन र ?

अर्कोतिर नेकपाभित्र विवाद बढ्दै जाँदा एकाएक छिमेकी देशको कर्मचारीले हाम्रो देशको प्रधानमन्त्रीलाई भेट्नु र पार्टी विवादको चासो लिनु कत्तिको जायज हुनसक्छ ? राजदूतको काम पार्टी झगडा मिलाउने हो कि आफ्नो दुई देशबीचको सम्बन्ध सुदृढ र सुमधुर बनाउने हो ?

चीनको राजदूतले नेकपाको चासो लिएजस्तै बेईजिङमा भएको नेपाली राजदूतले चीन र तिब्बतको बिषयमा चासो लिन खोज्यो भने कत्तिको सम्भव छ ? के चीनको नीतिले हाम्रो राजदूतलाई त्यसो गर्ने अधिकार दिन्छ ?

यदि होईन भने पटक–पटक हाम्रा नेताको निवासमा चीनका राजदूतको प्रवेश किन भईरहन्छ ? देश सानो भएपनि वा पार्टीहरु विभाजित भइरहेपनि एउटा पार्टीको पदको झगडामा छिमेकीको चासो किन ? राजदूतका रुपमा आएका सामान्य कर्मचारीले एउटा पार्टीको नेतासँग सिधै सम्पर्क र पटक–पटक भेटघाट गर्नु सामान्य कुरा मात्रै होईन । कि ती व्यक्तिले हाम्रो नेता, पार्टी र देश चलाईरहेको छ अथवा हाम्रो पार्टीको अदृश्य हेर्डक्वार्टर ती राजदूतको कार्यकक्षलाई बनाईएको छ ।

यसर्थ, नेकपा नामको पार्टीले पार्टीभित्रको स्वार्थी समूहको झगडामा देशको राष्ट्रपति र छिमेकी देशका राजदूत वा गुप्तचरका मान्छेलाई पटकपटक भेट गर्नु नेपाली जनताप्रतिको धोका र अपमान हो । ‘पार्टीको विवाद मिलाईदेउ मेरो पद जोगाईदेउ’ भन्दै बिन्ती गर्नुले स्वतन्त्र देश र सार्वभौम सत्ता सम्पन्न जनताको भाववनामा ठेस पुर्‍याउनेबाहेक केही गर्दैन ।

त्यसैले पार्टीभित्रको झगडा पार्टीकै बैठकबाट समाधान गर वा जहाँबाट समाधान खोज्छौ त्यसलाई पार्टीको हेडक्‍वाटर कायम गर । अन्यथा तिम्रा नौटङ्कीले देशलाई जनताको जनवादतिर होईन थप बर्बादतिर धकेल्ने निश्चित छ ।

अब धेरै चटक नदेखाउ कमरेडहरु, तिम्रा चटकले जनता लज्जित भइसके, सिङ्गापुर बनाउँछु भनेको देश हस्तिनापुर हुने बेला भइसक्यो कि कमरेड !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay