scheduleशुक्रवार मंसिर १२ गते, २०७७

बलिउडका निर्देशक र छायाकार लिएर रिजाल बनाउँदैछन् ‘डिसेम्बर फल्स’

काठमाडौं, ६ मंसिर । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् ।

त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायाङ्कार रवि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमा निर्माण युनिटले बर्थ डे केक काटेको थियो ।

फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध घटना, समस्यासमेत समावेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।

आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने,‘यो फिल्मको स्क्रिप्ट र युनीट निकै मन पर्‍यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरेँ ।’

कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रामप्रसादले आफूले विगतमा निर्माण गरेका फिल्मभन्दा ‘डिसेम्बर फल्स’ विल्कुलै नौलो हुने विश्वास ब्यक्त गरे । त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्म निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए ।

‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको फिल्म निर्माण गर्ने प्रयास छ,’ उनले भने, ‘त्यसकारण मैले यसपाली निर्देशन गरिनँ ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ फिल्म निर्माणमा लागेको सुनाए । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न फिल्म निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना व्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्म हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिँदै केही सातामै हल खुल्ने विश्वास व्यक्त गरे ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौं र पोखरामा खिचिने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay