scheduleमगलवारमाघ १३ गते, २०७७

कोरोना-कालको वैराग्य चिन्तन

डम्बर खतिवडा

युवा उमेरमा म बढो दृढ भौतिकवादी थिए । भाग्य, नियति, दुर्नियति, संयोगिकताजस्ता यावत् अवधारणाहरू अर्थहीन लाग्दथे । सबै परिणामहरू कर्मका प्रतिफल हुन्, असल कर्मको फल सर्वथा सुखद, सफल र सार्थक हुन्छ भन्ने लाग्दथ्यो । यो अवधारणा आधारभूतरुपमा गलत हैन । असल कर्म खोज्नु बाहेक फेरि पनि मानिससँग अर्को बाटो छैन । यद्यपि जानेर, नजानेर, मानिसले कयौं खराब काम, गल्ती र कमजोरी पनि गरिरहेको हुन्छ ।

तर, मानव जीवन अनेक संयोगिकता र आकस्मिताहरूको खेल पनि रहेछ । संसारमा यतिका धेरै दार्शनिक जन्मिए, चिन्तक, लेखक, सन्त, वैज्ञानिक, विश्लेषक, प्रवचक जन्मिए । विद्रोही, क्रान्तिकारी, सुधारक, अभियन्ताहरू जन्मिए । सृष्टिको नियम, प्रकृतिको सर्वोच्चता सामु सर्वथा लघु रहे । सृष्टि साँचो अर्थमा के हो, कसरी सञ्चालित छ ? सृष्टिको समग्रतामा मानव जीवनको अर्थ र औचित्य कति छ वा छैन ? यसबारेको बुझाई न कहिल्यै पूर्ण हुने रहेछ, न श्वेत–श्याममा सही वा गलत ।

आजभन्दा करिब ५० वर्ष अघि विज्ञानले चरम विकास गर्न थालेको विश्वास गरिन्थ्यो । मान्छेले प्रकृतिलाई जित्छ भनिन्थ्यो । आणविक शस्त्रअस्त्रहरूले धर्ती मिनेटमा ध्वस्त हुँदैछ भनिन्थ्यो । विज्ञान वरदान कि अभिशाप भनेर स्कुल कलेजमा बहस गराइन्थ्यो । चन्द्रमा र मंगल गृहमा पृथ्वीबाट सहज आवतजावत हुनेछ, त्यहाँ घडेरी प्लटिङ हुन थालिसक्यो भनिन्थ्यो । युवा उमेरमा यस्ता तथ्य र कथ्यहरूको प्रभाव बलियो हुन्थ्यो ।

लाग्थ्यो– मानव जातिको प्रगति सरल रेखामा हिंडिरहेको छ, त्यो निरन्तर प्रगतिउन्मुख छ । आउँदा केही दशकमा संसारमा ‘साम्यवाद’ आउनेछ । ब्रेझनेभकालिन सोभियत संघलाई कम्युनिष्ट, गैरकम्युनिष्ट सबैले धनी-गरिब विनाको, बेरोजगारी र अभाव विनाको ‘साँचो साम्यवाद’ का रुपमा चित्रण गर्दथे । सोभियत संघ पुगेर आएका नेपालका राजावादी र पञ्चहरू पनि त्यही भन्थे । होला त नि जस्तो लाग्दथ्यो ।

सोभियत संघ युवा मष्तिष्कमा राज गर्ने सबैभन्दा ठूलो अवधारणा बन्यो जीवनको । त्यो देश जहाँ अहिलेसम्म पुगिएको छैन, साँचो अर्थमा कस्तो थियो वा छ, थाहा छैन, त्यसका बारेमा यतिधेरै पढियो, पत्याइयो कि आफ्नै देशका बारेमा पनि त्यति धेरै पढिएन, पढेको पत्याइएन ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

 

त्यतिखेरभन्दा आजको विज्ञान झनै धेरै माथि छ । प्रविधि झन धेरै उन्नत छ । प्रेस र रेडियोलाई नै कति न ठूलो आविष्कार मानिन्थ्यो, त्यो समय । आज नेट छ । हाते फोन छ । बुलेट रेल छ । जेट विमान छन् । कम्प्युटर छ । वासिङ मेसिन छ । अनेकअनेक । विज्ञान र प्रविधिको कुरै नगरौं ।

तर फेरि पनि प्रश्न जहिँको त्यही छ । के मान्छे खुशी छ ? के मानव प्रयत्नले सार्थक समाज व्यवस्था बनेको छ ? त्यो त छैन । अर्थतन्त्रमा धनी र गरिबबीचको खाडल यति धेरै बढेको छ कि भनी साध्य छैन । हुनेहरूसँग सबैथोक छ, नहुनेहरूसँग केही छैन । जीवनभरि त्यही एउटा जीवन धान्ने तानव, त्यही निरासा, त्यही कष्ट, त्यही अपमान र त्यही अस्तित्व संकटको अनुभूति । न लोकतन्त्रको सुनिश्चितता न आर्थिक अधिकारको प्रत्याभूति, न जातीय, भाषिक, सांस्कृतिक अधिकारको विद्यमानता न अहंकार र दुष्ट प्रवृत्तिहरूको कमि ।

सोभियत संघ भत्किएर पुटिनतन्त्र आउनुलाई खै के लोकतन्त्र भन्नु ? ट्रम्प, बोल्सोनारो, एर्दोगान, हुन सेन, अर्बान, मोदी, ओलीजस्ता शासकको उदयलाई खै के लोकतन्त्र भन्नु ? माओको युग सकिएर देङ वा सि जिन पिङ आउनुलाई खै के लोकतन्त्र भन्नु ? मानिस प्रयत्न गरिरहेकै छ, परिणाम फेरि पनि सफल, सार्थक छैन । खै त, कर्मले परिणामलाई सुनिश्चित गर्न सकेको ? खै त विज्ञानले मानवतालाई सुनिश्चित गर्न सकेको ?

हिजोआज म उत्तिसारो ढिड भौतिकवादी हैन, वा यसो भनौं भौतिकवादको हिजोको परिभाषा र व्याख्या पुग्दो लाग्दैन । भाग्यवाद नहोला, संयोगिकता, आकस्मिकताको छ । लाग्दछ- प्रकृतिमै, सृष्टिमै कुनै न कुनै ‘अब्जर्डिटी’ छ । अर्थात् ‘विसंगति’ काम्युको बौद्धिक दर्शन मात्र हैन, त्यो भौतिकताकै अंश हो । बुद्धले नचोर्नु भनेर उपदेश दिएको २५ सय वर्षभन्दा धेरै भयो, मान्छे चोरिरहेकै छ । गान्धीले अहिंसा भनेको सय वर्ष कट्यो, मान्छे मारिरहेकै छन् । मान्छे एक अघोरी जात हो, यसले कसैले भनेको मान्दैन रहेछ ।

मान्छे जसरी कसैले भनेको मान्दैन, त्यसरी नै कसैले नसोचेको स्थितिहरू भोग्दछ । जबसम्म त्यस्ता परिस्थितिहरू आएका हुँदैनन्, मान्छेलाई लाग्दछ कि ऊ नै संसारको सबैभन्दा ज्ञानी, जान्ने र शक्तिशाली हो । तर, कल्पना बाहिरका स्थिति आउँछन्, मान्छेको ज्ञान, विज्ञान, क्षमता र अहंकार सबै चुरचुर हुन बाध्य हुन्छन् । अन्ततः यो बोध गर्नुको कुनै विकल्प रहँदैन कि मान्छे सृष्टिको एउटा सानो अंश हो । प्राकृतिक परमसत्ताको लघुकाय अस्तित्व हो । मान्छेले प्रकृतिलाई कहिल्यै जित्न सक्दैन । विज्ञानले सृष्टिलाई जित्ने कुरा सर्वथा असत्य हो ।

एक वर्ष पुग्न लागेछ चीनको उहानमा कोरोना उब्जेको । चैत्रयता नेपालको जीवन प्रवाह थुनिएको पनि ८ महिना बितेछ । तर, अनिश्चय जहाँ थियो, त्यही छ । कहिलेसम्म रहन्छ कोरोना, कति लामो होला कोरोना-काल ? कसैलाई थाहा छैन । न विज्ञान र धर्मलाई थाहा छ, न वैज्ञानिक र धर्म गुरुहरूलाई ।

बरु, प्रारम्भमा अनेक अनुमान गरिन्थे । यसो होला, उसो होला, अहिले त त्यो क्रम पनि रोकिएको छ । सबै अनुमानहरू फेल भएका छन् । ज्ञान र विज्ञानको सीमा देखिएको छ । कथ्य र भाष्यहरूको सीमा उदाङगो भएको छ । सत्ता र शक्तिका अहंकारहरू भने अझै उस्तै छन् । आँखा अगाडि मृत्यु हिंडिरहेको छ तर हरेक शासकलाई लागिरहेको छ कि ऊ नै विश्वविजेता हो । ऊ नै सृष्टि सञ्चालक हो, ऊ नै सर्वेसर्वा हो । चिट्ठीमा तोक लगाएर, राज्यका आदेशहरू जारी गरेर कोरोनाले मान्दैन भन्ने बुझ्न समेत गाह्रो छ उनीहरूलाई ।

सत्ता एक भ्रम सावित भएको छ । विशेषतः डेमागगहरूको शासन भ्रम बाहेक केही हैन भनेर कोरोनाले राम्ररी बुझाई दिएको छ । डिसेम्बरसम्म खोप आउने हल्लाहरू सही सावित हुने सम्भावना कमजोर नै छ । आए पनि एकाध देशमा आउला, धनी देशमा आउला, धनी मानिस कहाँ आउला, सबैलाई सर्वसाधारणलाई खै के आउला ?

करिब १४ लाख बितेछन् विश्वभरि । नेपाल मै १३०० कटे । मृतकको तथ्याङ्क विवाद नेपालको मात्र हैन होला, अन्यन्त्र पनि होला । नेपालमा तथ्याङ्क किन लुकाइएको हो, यसको गर्दा कसलाई के फाइदा हुन्छ, थाहा छैन । नेपालमा सेना र स्वास्थ्य मन्त्रालयको मृतकसम्बन्धि तथ्याङ्कमा व्यापक भिन्नता छ भन्ने सबैलाई थाहा छ । किन त्यस्तो भएको, कसैलाई थाहा छैन ।

जीवनको विभिन्न कालखण्डमा नजिकबाट चिनेका, सङ्गत गरेका २ दर्जन बढी साथी संगतिहरू लगिसके छ कोरोनाले । गजेन्द्र इश्वो- धरान उपमहानगरपालिकाको गत उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट मेयरको उम्मेद्वार हुनुहुन्थ्यो । अस्तिजस्तो लाग्दछ, सँगै धरानका गल्लीहरूमा भोट माग्दै हिंडेको । यस्ता धेरै नामहरू, अनुहारहरू मथिङ्गलमा बारम्बार आउँछन् । मानव जीवनको नियतिबारे थुप्रै प्रश्नहरू गर्दछन् । कस्ताकस्ता सुकोमल सपनाहरूबाट शुरुवात हुन्छ जीवन, फेरि कल्पनै नगरिएका कठोर चट्टानहरूमा गएर बज्रिन्छ । सम्झेर त्य-सैत्यसै रुन मन लाग्दछ । त्यसैत्यसै वैराग्य बल्झेर आउँछ ।

तै, सरकारले सबैको नाम सुनाउने गरेको छैन । नत्र अझ धेरै हुन सक्थे होला, कोरोना-कालमा संसार छोडेर विदा हुने चिनेकाहरू । कोरोनाबाट हुने मृतकको नाम लुकाउनै पर्ने हो र ? यसको कुनै वैज्ञानिक कारण वा आधार छ ? कसले बनाएको हो यो नियम ? थाहा छैन । कुनै पद, आहोदा, सार्वजनिक हैसियत भएकाहरूको हल्लीखल्ली भइहाल्छ । नाम सार्वजनिक नहुँदा लुक्ने भनेको तिनै गुमनामहरूकै त हो, जो बाँच्दा पनि गुमानाम नै थिए ।

मृत्यु पनि लुक्छ र कहिँ ? परिवार र आफन्तलाई थाहा हुन्छ नै । गाउँघर र समाजबाट लुक्न सक्दैन । सरकारले रेकर्डमा नाम राखेकै होला ? फेरि पनि किन लुकाइएको होला ? अमेरिकामा एक लाख मृतक पुगेको दिन न्यूयोर्क टाइम्सले फ्रन्टपेजमा सबैको नाम छापेको थियो । कोरोना मृतकप्रति श्रद्धाञ्जली अङ्क भनेको थियो । भावपूर्ण सम्पादकीय लेखेको थियो ।

कोरोना-कालको जीवन एकप्रकारकले सजिलो पनि छ । धेरै हिंडडुल गर्नु छैन । धेरै भेटघाट गर्नु छैन । क्रियाकलापहरू अस्वभाविक तरिकाले सीमित भएका छन् । खायो, बस्यो, अरु के छ र, भन्ने तरिकाले बुझ्ने हो भने एक प्रकारको ढुक्कै छ । तर मान्छेको मन त्यति सजिलो कहाँ छ ? मान्छेको जीवन त्यति सजिलो कहाँ छ ? बढ्दो संक्रमण, मनोवैज्ञानिक भय र टुट्दै गएका आर्थिक श्रृंखलाले जुन आँधी चलिरहेको छ, त्यसको सामना कम्ति गाह्रो छैन ।

सबैभन्दा ठूलो शक्ति हामी सरकारलाई ठान्छौं, राज्यलाई ठान्छौं । अहिले त संसारका ठूलै राज्य, ठूलै सरकार, ठूलै अर्थतन्त्र र ठूलै हुँ शासकहरूको पनि हविगत छ । नेकपा र ओलीको के कुरा गर्ने ? कोरोनाकालजस्तो उच्च मानवीय संवेदनशीलता हुनुपर्ने समयमा पनि असहिष्णु र पूर्वाग्रहयुक्त राजनीतिक खिचातानीको महागाथा रचेबापत् इतिहासले नेकपालाई ‘गोल्ड मेडल’ देला, कमरेडहरूको ‘जयजयकार’ गर्ला ।

भन्ने गरिन्छ- मान्छे भोगेर चेत्ने प्राणी हो । खै, के चेत्ला मान्छेले ? कोरोना–कालमा नचेतेका मान्छेले कहिले चेत्ने ? चरम मानवीय तथा आर्थिक संकटका बीचमा नचेतेको मान्छेले कहिले चेत्ला ? चेत्लान् एकाध जनाले व्यक्तिगत तबरमा तर आम चेताई फेरि पनि उस्तै हो ।

कोरोना-संकट जतिजति बाक्लो हुँदैछ, उत्तिउत्ति मानव जीवनको निस्सारता अनुभूत हुँदो रहेछ । यो अनुभूति मध्य अँध्यारोको अत्यास होला, फेरि पनि अँध्यारो त फाट्ला कुनै दिन, कुनै क्षण । आशा गर्नुबाहेक अरु के उपाय ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay