scheduleसोमवारफाल्गुन २४ गते, २०७७

अलबिदा गौतम सर !

चरित्र कार्की

शरीरमा अकस्मात इन्सुलिनको असन्तुलन र त्यसमाथि निमोनियाको संक्रमण उहाँको असमायिक निधनको कारण बन्न पुग्यो । उहाँको निधनबाट समाजले एउटा सङ्ग्लो मन भएको नेतृत्दायी सामाजिक अभियन्ता गुमायो भने राजनीतिले संर्घषले खारिएको परिर्वतनको वाहक गुमायो । उहाँको अवसानले खास गरेर गण्डकी प्रदेश र तनहुँ जिल्लाको राजनीतिक सामाजिक क्षेत्रमा उपुरणीय क्षति हुन पुगेको छ ।

५० वर्षको निकै पेचिलो र संर्घषपूर्ण राजनीतिक जीवनगाथा बोक्नुभएका भिमप्रसाद गौतम सरको नाम मैले धेरै पहिलादेखि सुनेको भएतापनि उहाँसँगको मेरो चिनजान र संगत पछिल्लो १०/१२ वर्षको मात्र हो । उहाँको नेतृत्वमा रहेर उहाँसँग संगत गरी हेर्दा मैले राजनीतिमा एउटा निष्काम कर्मयोगी देखें, जसलाई राजनीति आफ्नो नीजि सपना पूरा गर्ने साधन होइन, साँच्चै न्यायपूर्ण, गतिशील र समृद्ध समाज निर्माण गर्ने पवित्र यज्ञ थियो । त्यही समाज र राष्ट्र निर्माण गर्ने यज्ञमा भिमप्रसाद सरले जीवनका रगत, पसिना र सम्पूर्ण क्षमता निस्वार्थ होम हाली दिनुभएको थियो ।

सहकार्यकै आधारमा मैले के देखेँ भने उमेर, अनुभव र पदले आफुभन्दा कनिष्टहरुसँग पनि छलफल गरेर निर्णय गर्ने सामूहिकताको उच्च भावना उहाँमा थियो । जसले गर्दा संगठनका कनिष्ट सदस्यहरुमा पनि आत्मगौरव बढ्थ्यो र गरिएका निर्णयमा स्वामित्व भाव सृजना भई निर्णय कार्यान्वयनमा उत्साह बढ्दथ्यो । उमेरले पाको भएपनि परिर्वतनका मुद्दाहरुलाई जोसिलो ढङ्गबाट उठान गर्ने युवोचित गुण उहाँमा देख्दा कहिलेकाही यो मान्छे अहिले यो उमेरमा त यस्तो छ, युवा हुँदा कति जोधाहा क्रान्तिकारी थियो होला भनेर म मनमनै सोच्ने गर्थेँ ।

 

उहाँसँग एउटा विशाल र करुणामय हृदय थियो । उहाँलाई मैले एकपटक प्रश्न गरेको थिएँ, ‘साँच्चै सर, तपाईले आफ्नो खेत बेचेर सर्वहारावादी श्रमिक संगठनका नेता रुपलाल विश्वकर्मालाई पैसा दिनुभएको हो ?’ उहाँले भन्नुभएको थियो, ‘हेर्नुस चरित्र बाबु, २०४२ सालतिर स्कुलको शिक्षक थिए । दिउँसो पढाउन स्कुल जान्थेँ । बिहान, बेलुका, राती र बिदाको दिन लुकीछिपि राजनीतिक गतिविधि गर्थेँ । त्यो बेला हाम्रो पार्टी सर्वहारावादी श्रमिक संगठन थियो । त्यसका मुख्य नेता रुपलाल विश्वकर्मा थिए । उनी भारतमा बस्थे । २०४३ सालको असार–साउनको वर्षे बिदामा मलगायत तिनजना साथी आफ्ना नेता भेट्न भारत जाने निर्णय गर्‍यौं ।’

उहाँले पुराना कुरा खोतल्दै भन्नुभएको थियो, ‘हामी कम्युनिष्टहरुलाई आफ्नो पार्टी र नेता निकै महान लाग्थ्यो । पार्टीका सर्वोच्च नेता भेट्न जाने कुराले मात्र पनि मनमा भनिनसक्नु आत्मगौरव अनुभूति हुन्थ्यो । जस्तो धार्मिक मान्छेलाई तिर्थयात्रा जाँदा जुन भाव बोकेर यात्रा गर्दछ त्यस्तै पवित्र भावका साथ हामी नेता भेट्न भारत गयौं । भारतमा पुगेर आफ्ना नेताको अवस्था देख्दा एकाएक म छाँगाबाट खसे जस्तै भए । हामी त्यहाँ पुग्दा नेतालाई हनहनी ज्वरो आइरहेको थियो ।’

उहाँले पुराना यादहरुलाई मालामा उन्दै भन्नुभयो, ‘आँखाको समस्याले उहाँ आँखा नदेख्ने अवस्थामा हुनुहुँदोरहेछ । उहाँले दोस्रो विवाह गरेकाले परिवारबाट राम्रो स्याहारसुसार पनि पाउनुभएको रहेनछ । हामीलाई देख्दा उहाँले आँखाबाट भलभली आँसु बगाउनुभयो । आफ्नो नेताको आँखाबाट आँसु झरेको देख्दा मेरा आँखाबाट पनि आँसु बगे । मैले मेरा आँसु पुछेर उहाँलाई आस्वस्त पार्दै भनेँ- पिर नगर्नुस्, सबै चिज ठिक हुनेछ, म देश फर्केपछि तपाईलाई आवश्यक पैसा पठाउने छु । जसै हामी घर फर्क्यौ, मैले मेरो एउटा राम्रो धान फल्ने खेत बेचें । खेत बेचर आएको पैसा दुई तीनपटक गरेर भारत पठाएँ ।’

विगतलाई उधिन्याउँदै उहाँले अगाडि भन्नुभयो, ‘उतिखेर अहिले जस्तो विदेशमा पैसा पठाउने काम सहज थिएन । त्यो पैसाले नेता रुपलाल विश्वकर्माको आँखाको अपरेसन र अन्य उपचार भयो । उहाँ आँखा देख्न सक्ने हुनुभयो । उहाँको स्वास्थ्य लाभले हामी पनि उत्साहित भयौं । खेत बेचेर पठाएको पैसाले बेहाल अवस्थामा पुगेका नेताको अवस्था त ठिक भयो तर घरमा खेत बेचेको पैसा के गर्नुभयो भनी श्रीमतीले प्रश्न गर्दा काठमाडौंतिर घडेरी किनेको छु भनेर टारी रहनुपर्‍यो ।’

धेरैपछि मात्र परिवारलाई थाहा भयो खेत बेचेको पैसाले घडेरी किनेको होइन्, बिरामी नेताको औषधि किनिएको थियो भनेर । गौतम सरको जीवनको यो यथार्थ दृष्टातले उहाँको हृदयको विशालता प्रष्ट पार्छ । अरुका हात्ती, घोडा पनि बाँढ्नुपर्छ भनेर सात हात माथि उफ्रने तर आफ्ना बाख्रा कुखुरा पनि लुकाउने धुर्त लोकतन्त्रवादी र जनवादी भनिने नेताहरुको बीचमा भिमप्रसाद गौतम सर एक्लो बृहस्पति सरह बन्नुभएको थियो ।

गौतम सरमा अंहकार र बडप्पन कहिले देखिनँ । एउटा राष्ट्रिय पार्टीको नेता र एकपटक मन्त्री भइसकेका व्यक्तित्व भएतापनि उहाँ आफ्नो समाजका हरेक तह र तप्काका व्यक्तिहरुसँग अत्यन्तै आत्मीय भावका साथ कुराकानी र छलफल गर्नुहुन्थ्यो । आफ्नो विचारमा अविचलित हुनुहुन्थ्यो । तर फरक विचारका मानिसहरुप्रति पनि प्रेम, सद्भाव र सहानुभूति राख्नुहुन्थ्यो । समस्यामा परेका जो कोही हुन्, तिनको समस्याको गाँठो फुकाइदिन सधैं तप्पर र सक्रिय रहनुहुन्थ्यो ।

मन्त्रीको उच्च ओहोदामा पुगेर उहाँले अरुले जस्तो काठमाडौंमा घर बनाएर बस्नु भएन । आफ्नै गाउँठाउँमा फर्किएर सामाजिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वर्द्धन र विकास गर्न लागि पर्नुभयो । जीवनको अन्तिम समयसम्म उहाँ कृषि कर्ममा लाग्नु भयो । काठमाडौं बसेर किसान नेता बन्नेहरुको भिडमा उहाँ अपवादजस्तै हुनुभयो । यसबाट उहाँको आफ्नो आस्था, विचार र समाजप्रतिको गहिरो प्रेम झल्कन्छ ।

चरित्र कार्की

स्वर्गीय भिमप्रसाद गौतमको जीवनको मुख्य पाटो राजनीतिक नै थियो । न्यायपूर्ण, गतिशील र समृद्ध समाज र राष्ट्र निर्माण गर्ने मुल उद्देश्यबाट उहाँको राजनीति पूर्ण दृष्टिका साथ प्रेरित थियो । उद्देश्य एउटै भएपनि त्यसलाई प्राप्त गर्न उहाँले संघर्षका अनेकौं उकालो ओरोलो बाटो हिंड्नु पर्‍यो । कयौंपटक थुनछेक, जेलनेल र कठोर भूमिगत जीवन बिताउनु पर्‍यो । सर्वहारावादी श्रमिक संगठनबाट परिर्वतनको धारिलो धारबाट आफुलाई राजनीतिमा समाहित गरेर एकता केन्द्र, एकीकृत माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै जीवनको अन्तिम समयसम्म जनता समाजवादी पार्टीमार्फत् न्यायपूर्ण समृद्ध नेपाल निर्माण गर्ने सपनालाई साकार बनाउन लागि परिरहनु भएको थियो । उहाँको राजनीतिक जीवन पुरानो पानीले बनेको लेउ लागेको पोखरीजस्तो नभई उहाँकै बस्तीपूर्वमा अविरल बगिरहने मर्स्याङ्दी नदीजस्तै पवित्र र बेगवान थियो ।

उहाँको निधनले राजनीति र समाजिक क्षेत्रमा समर्पित एक अथक योद्धाको भौतिक जीवन अस्ताएको छ । भौतिक जीवनको अन्त्य भए पनि उहाँका विचार र संघर्षपूर्ण जीवनले चोखो मनले समाजको रुपान्तरणमा लागि पर्ने हरेक पुस्तालाई प्रेरणाको उज्यालो प्रकाश दिइनै रहनेछ । अलबिदा गौतम सर !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay