सिसडोलबासीको १८ बुँदे माग, पुनः आन्दोलनमा उत्रिए

नुवाकोट, ८ मंसिर । १५ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवाका सिसडोलवासी पुनः आन्दोलत भएका छन् ।
उनीहरुले १८ बुँदे माग राख्दै माग पूरा गर्न महानगरलाई अल्टिमेटमसमेत दिएका छन् । सरकार तथा काठमाडौं महानगरसँग विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका हुन् ।
विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको सिसडोलमा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्नेलगायतका १८ बुँदे माग राखेका छन् ।
उनीहरुले यहि मंसिर २० गतेसम्म माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । उनीहरुलाई स्थानीय जनप्रतिनीधिहरुले समेत साथ दिएका छन् ।
आधुनिक र वैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गरिनुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ ।
जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्र भित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग रहेको ककनी गाउँपालिका सिसडोलका वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए ।
उनका अनुसार बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि स्थानीयले आफ्ना मागहरु पूरा नभएसम्म फाल्न नदिने बताएका छन् ।