सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने
काठमाडौं, ९ मंसिर । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।
अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् । लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् ।
यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए । बन्द प्रशिक्षणमा जाने सबै खेलाडीको आज पीसीआर जाँचका लागि स्वाब सङ्कलन हुने भएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी काठमाडौं आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षकको मङ्गलबार पिसिआर परीक्षण गर्ने भएको छ ।
नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।
प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।