scheduleमगलवारमाघ १३ गते, २०७७

बाइडेनको चीन नीति ट्रम्पको जस्तो हल्लामा आधारित हुने छैन

ग्राहम टि. एलिसन

‘हल्ला’ ट्रम्प प्रशासनको चीन नीतिलाई व्याख्या गर्ने ठीक शब्द थियो । तर, बाइडेनबारे यसो मिल्दैन । हामीले यो कुरा सम्झिन पर्दछ कि बाइडेन ह्वाइटहाउस आउँदै गरेका कुनै नयाँ व्यक्ति हैनन् । ओबामा प्रशासनमा ८ वर्ष र दशकौं अघि सिनेटको वैदेशिक सम्बन्ध समितिमा काम गरेबापत् उनीसँग विश्वका कुन राष्ट्रसँग कस्तो व्यवहार गर्नु पर्दछ भन्ने उन्नत सोच छ ।

चीनका राष्ट्रपति सि जिन पिङसँग बाइडेनले आफ्ना अघिल्ला कार्यकालमै घण्टौं कुरा गरेका छन् । भविष्यको कुनै यात्रा विगतको अनुभवबाटै शुरुवात हुन्छ । बाइडेनको विगत हेर्दा ट्रम्पको प्रतिशोधपूर्ण र हानीकारक चीन नीतिको साटो बाइडेनले सामान्यीकृत सम्बन्ध आधारित विदेश नीति पुनस्थार्पित गर्ने छन् ।

चीनलाई अमेरिकी राष्ट्रिय हितमा हानी पुर्‍याउने महाशक्तिभन्दा एक परम्परागत मित्र राष्ट्रका रुपमा लिने छन् । अमेरिका र चीन व्यापारिक सम्बन्धको निरन्तरतामा ध्यान दिने छन् । बाइडेनले सामान्य कुटनीतिक सम्बन्धमा जोड दिनेछन् ।

ट्रम्पकोभन्दा ठीक विपरित बाइडेनको नीति अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्नु हुनेछ । जस्तो बाइडेनले पेरिस सम्झौतामा अमेरिकालाई पुनः ल्याउनेछन् । संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदजस्ता अरु थुप्रै बहुपक्षीय संगठनहरुमा अमेरिकाले सक्रिय भूमिका गर्नेछ जहाँबाट ट्रम्पले अमेरिकालाई फिर्ता गरेका थिए । ट्रम्प अन्तर्राष्ट्रिय तथा बहुपक्षीय संगठनमा सहकार्य र साझेदारीको विरोधी थिए । बाइडेन सहकार्य र गठबन्धनमैत्री व्यक्ति हुन् ।

बाइडेनलाई यो थाहा छ कि सहकार्य र गठबन्धनले शक्तिमा गुणानात्मक वृद्धि गर्दछ । उनी कुटनीतिको महत्व राम्रो बुझ्दछन् । तसर्थ, बेइजिङ र वासिङ्टन स्थित दूतावासहरुले गम्भीर संवादहरुलाई पुनर्स्थापित गर्ने पूर्ण सम्भावना छ । ट्रम्पले बेइजिङबाट फिर्ता बोलाएका रोग निरोधक तथा नियन्त्रण केन्द्रका कर्मचारी त्यहाँ फर्किन सक्नेछन् । दुवै देशका पत्रकारहरुलाई समान शर्तका आधारमा काम गर्ने एकअर्काको देशमा काम गर्ने र रिपोर्टिङ गर्ने अवसर उपलब्ध हुन सक्दछ ।

ग्राहम टि. एलिसन

ट्रम्प प्रशासनको ‘१५९ उपलब्धि’ का प्रत्येक नीतिमा बाइडेनको टिमले पुनरावोलकन गर्न सक्नेछ । ती अमेरिकाको राष्ट्रिय स्वार्थ अनुकूल छन् र भन्ने प्रश्न गर्न सक्नेछन् । केही नीति कायम रहन सक्दछ, केही उल्टिन्छन् । जस्तो कि अमेरिकाले चीनसँगको व्यापार संकुचन गर्न उच्च दरमा भन्सार लगाएको छ । तर उच्च भन्सार महशुलका बाबजूद चीनको निर्यात व्यापार अमेरिकामा झन् बढेको छ, त्यसो भए ट्रम्पको भन्सार नीतिले कस्लाई फाइदा भयो त भन्ने प्रश्न अवश्य उठ्छ ।

ट्रम्पले रुस र चीनलाई अमेरिकाका जुम्ल्याहा प्रतिस्पर्धी मानेका थिए । यस्तो नीतिको असहजतालाई बाइडेनले बुझेका छन् । रुसलाई एक परम्परागत प्रतिस्पर्धी मान्न सकिएला तर चीन अमेरिकाका लागि ‘थुसिडिएन राइभल’ मात्र हो । चीनको उदय केवल बदला र प्रतिस्पर्धाद्वारा हैन, अमेरिका नेतृत्वको विश्वमा उसलाई दिइएका अवसरमार्फत् भएको हो । करिब ७ दशकदेखि विश्वमा अमेरिकी नेतृत्वको विश्वव्यवस्था छ, चीनले यस बीचमा अमेरिकासँग कुनै शक्तिसंघर्ष गरेको छैन । बरु अमेरिकी नेतृत्वको विश्वव्यस्थामा वैश्विक आर्थिक समृद्धिको वृद्धि गरिरहेको छ ।

अमेरिका र चीन अहिले त्यस्तो सानो विश्वमा छन्, जहाँ आणविक हतियारको जोखिमलाई नजिकबाट अनुभूति गर्न सकिन्छ । विद्यमान वातावरणमा दुई देशले ४ सी नीति अलबम्बन गर्नु पर्ने देखिन्छ । पहिलो सञ्चार (कम्युनिकेसन) हो, सही सञ्चारमार्फत् गलत विश्लेषण र असमझदारी हटाइनु पर्दछ ।

दोस्रो थिरता (कनस्ट्राइन्स) हो जसले अनपेक्षिता आरोप र स्तिथिलाई टार्न सकोस् । त्यसपछि समन्वय (कोअर्डिनेशसन) र सहकार्य (कोअपरेसन) जसले तेस्रो पक्षबाट हुन सक्ने प्रयोजित दुर्घटनालाई रोक्न र अनपेक्षित युद्धलाई टार्न सकोस् ।

थप एउटा कुरा चिनियाँ पक्षले बुझ्नुपर्दछ जस्तो कि भनिँदैछ- बाइडेनको राष्ट्रपतीय कार्यकाल ओबामा प्रशासनको तेस्रो अवधिजस्तो हुनेछ, त्यो सही हैन । बाइडेनले अझै पनि चीनसँगको प्रतिस्पर्धालाई निक्कै महत्व दिएका छन् । तर, उनी के ठान्दछन् भने यसलाई सामान्य आरोपप्रत्यारोभन्दा बृहत्त परिप्रेक्ष्यमा हेर्नु पर्दछ । चीनले यो सोच्ने गल्ती गर्नु हुँदैन कि बाइडेन प्रशासन चीनप्रति धेरै नरम हुनेछ बरु ‘स्मार्ट’ हुनेछ ।

त्यसको अर्थ हो जहाँजहाँ नेर अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्नेछ, जित्ने तयारीसहित गर्नेछ, तर त्यसका बाबजुद धेरै कुराहरुमा सहकार्यको सम्भावनालाई बाँकी राख्नेछ । बाइडेनका नीतिहरु ट्रम्प विरासतमा आधारित हुने छैनन् । तर यो कुरा अमेरिकाले बिर्सन सक्दैन कि चीन सबै क्षेत्रमा पूर्ण प्रतिस्पर्धा गर्ने क्षमतासहित नै उदाइ रहेको छ ।

ताइवान र कोरिया अमेरिका–चीन सम्बन्धमा सबैभन्दा उच्च जोखिम भएका विन्दूहरु हुन् । चीनका लागि ताइवान मुख्य स्वार्थविन्दू हो । यो चीनका लागि अमेरिकाको अलस्का जस्तै हो । ताइवानले बारम्बार स्वतन्त्र राष्ट्र हुने प्रयत्न नगरेको हैन । सन् १९९६ मा ताइवानले त्यस्तो प्रयत्न गर्दा चीनले क्षेप्रास्त्र परिक्षणलाई तीव्र बनाएको थियो । क्लिन्टन प्रशासनले दुई ठूला गतिविधि गरेको थियो जसले चीनलाई फिर्ता हुन बाध्य पारेको थियो ।

हामीले यो बिर्सन हुन्न कि सन् १९५० मा भएको युद्धमा दुबैतिर दशौं हज्जार सेनाहरु मारिएका थिए । किम जोङ उनका हजुरबाले दक्षिण कोरियामा आश्चर्यजनक आक्रमण गरेका थिए । करिब ३ महिना कोरिया एकीकरण भएजस्तै भएको थियो । अन्ततः त्यहाँ दक्षिणको उद्धार गर्न अमेरिका गयो । जब अमेरिकी सेना ३८ औं नियन्त्रण रेखा पार गर्दै थियो, अमेरिकासँग युद्ध गर्न माओत्से तुङले लाखौं सेना पठाए । उनीहरुले अमेरिकी टुकडीलाई नियन्त्रण रेखाभन्दा बाहिर धपाए ।

अन्ततः शान्ति सम्झौता भयो । उत्तर र दक्षिण कोरिया भिन्न रहे । चीनको मूलभूमिका ताइवान गाभिन सकेन । अझै सकेको छैन ।

इतिहासले के देखाउँछ भने ठूला शक्तिराष्ट्रहरु यदाकदा अनपेक्षित युद्धको वातावरणमा घिसारिन्छन्, त्यो खासै फलदायी हुँदैन । बाइडेनलाई यस्ता संकट टार्न र व्यवस्थापन गर्न के गर्नु पर्दछ, राम्रो अनुभव छ । उनले सोभियत संघसँगको शीतयुद्धकालीन अवधिका राम्रा अभ्यासहरुको समेत अनुभव सङ्गालेको हुनु पर्दछ । उनले यस्ता सवालहरुलाई टेबलमा ल्याउन र संवादमार्फत् हल गर्न भूमिका गर्न सक्नेछन् ।

(ग्लोबल टाइम्ससँगको कुराकानीबाट संक्षेपीकरणसहितको भावानुवाद गरिएको- सम्पादक)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay