scheduleसोमवारमाघ १२ गते, २०७७

अस्ताए सोनिया गान्धी युगको आधारस्तम्भ

विनोद अग्निहोत्री
अहमद पटेल

 

अहमद पटेल रहेनन्, यो समाचारले आश्चर्य त लागेन तर मन दुःखी भने अवश्य भयो । आश्चर्य यसकारणले लागेन कि उनी कयौं दिनदेखि बिमारी थिए, आइसीयुमा भर्ना भएका थिए । म उनका ज्वाँईबाट उनको स्वास्थ्यस्थितिको जानकारी लिइरहेको थिएँ । दुई दिन अगाडि खबर पाएको थिएँ कि उनको स्थिति स्थीर छ । आशा बाँकी नै थियो कि सायद उनी स्वास्थ्य हुनेछन्, तर उनी बचेनन् ।

अहमद पटेल भारतीय राष्ट्रिय कांग्रेस र सोनिया गान्धीको ताकत र कमजोरी दुवै थिए । उनी कांग्रेस पार्टीका लागि दुःख पनि र दबाई पनि थिए ।

कांग्रेसमा त्यस्ता मानिसको जमात नै छ जो पार्टीको दुर्दशाका लागि पटेललाई दोष दिइरहेका हुन्छन् । तर, त्यो भन्दा ठूलो जमात पनि छ, जसले सन् २००४ देखि २०१४ सम्म सत्ताको स्वर्णकालका लागि अहमद पटेलको रणनीति र मेहनतलाई जस दिन्छन् । कांग्रेसको इतिहास नै त्यस्तै छ, जबजब अहमद पटेलको कुरा सुनिएन, मानिएन, कांग्रेसले ठूलो नोक्सानी बेहोर्नु पर्‍यो ।

अहमद पटेल एक विरोधाभाषी व्यक्तित्व थिए, जसको व्यक्तित्वको भार उनका प्रसंशक तथा विरोधी दुवैले स्वीकार गर्न बाध्य हुनु पर्दथ्यो । उनको बारेमा यसो भनिन्थ्यो कि कांग्रेसमा नरेन्द्र मोदीको कोही मित्र थियो भने ऊ अहमद भाइ नै थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन प्रकारले भावपूर्ण श्रद्धान्जली दिए, लाग्छ कि गुजरातका यी दुई दिग्गज नेताहरुबीच नाताको कुनै न कुनै कडी अवश्य थियो । यस्ता सम्बन्ध निभाउन सक्ने पटेल बाहेक अर्को कोही थिएन ।

पटेल असाध्यै मिलनसार र सहयोगी प्रकारका नेता थिए । ती १० वर्षमा गुजरातका कुनै पनि व्यक्ति, कुनै पनि दल, जाति, वर्ग, क्षेत्रका मान्छे निसंकोच उनीसँग जान सक्थे । जो उनीकहाँ कुनै समस्या लिएर जान्थे, सबैलाई सकेको सहयोग गर्थे । यो कुरा गुजरातका थुप्रै भाजपा नेताहरु नै स्वीकार गर्दछन् । गुजराती मात्र हैन, कोही पनि जब उनीसँग पुग्थ्यो, कुनै न कुनै सहयोग उनले अवश्य गर्थे ।

विनोद अग्निहोत्री

अहमद पटेलको अभावमा सोनिया परिवारले अब कसलाई भरोसा गर्ला, कांग्रेसको भावी राजनीति त्यसले पनि तय गर्दछ । विगत करिब २० वर्ष कांग्रेस पार्टीले गर्ने निर्णय र नियुक्तिहरुमा भित्रबाट पटेलकै सल्लाह हुन्थ्यो । पार्टीको उच्च तहको नेतृत्व पंक्तिमा ठूलो संख्या अहमद पटेलका बफादारहरुको हुन्थ्यो, अझै छ ।

पटेलको अभावमा कांग्रेस नेतृत्वले नयाँ समस्या सामना गर्नु पर्ने छ । यी बफादारहरु बीच नेतृत्वको नजिक आउने होड पनि हुनेछ, अहिलेसम्म दबेर बसेका स्वर पनि मुखरित हुन थाल्नेछन् । यसले कांग्रेसभित्रको आन्तरिक संघर्ष अरु घमासान हुन सक्नेछ । यसलाई अवसरको रुपमा सही दिशा दिइयो भने कांग्रेस पार्टीको जडता तोडिने छ । कांग्रेसले नयाँ स्वरुप पाउनेछ । यदि नेतृत्वले यो स्थितिलाई बुझेन भने द्वारिकाको यदुवंशी सङ्ग्राममा उल्झेर पार्टी झन विग्रहतिर जान सक्नेछ ।

अहमद पटेलसँग मेरो परिचय करिब ३० वर्ष पुरानो थियो । तर सन् २००४ पछि कांग्रेस र युपिए सरकारमा आयो, मेरो सम्बन्ध झनै बाक्लो भयो । किनकी समाचारको क्रममा बारम्बार उनीसँग सम्पर्क गर्नुपर्ने हुन्थ्यो । कयौंपटक मैले उनलाई भेटेको थिएँ । अहमद पटेलसँग मेरा जुन अनुभव रहे, मलाई लाग्थ्यो कि उनी अत्यन्त सतर्क तथा मिलनसार व्यक्ति हुन् । आफ्ना तमाम व्यस्तताको बाबजुद उनी फोनमा उपलब्ध हुन्थे । यदि कुनै कारणले फोन उठाउन सकेनन् भने मध्यरातमा भए पनि फोन पर्काउँथे ।

जुन समाचारबारे उनी बोल्न चाहन्थे, त्यसलाई राम्ररी स्पष्ट पार्थे । पुष्टि गर्थे । जसलाई पुष्टि गर्नु थिएन, उनी अंग्रेजीमा भन्थे– नट टु माई नलेज । ठूलाठूला समाचार उनी विश्वासिला पत्रकारलाई दिन्थे तर आफूलाई प्रेसदेखि सधैं टाढा राख्थे । उनले सार्वजनिक वक्तव्य तथा अन्तर्वार्ता दिन तब मात्र शुरु गरे जब सन् २०१४ पछि कांग्रेस सत्ताबाट बाहिर भयो । पछिल्लो चरणमा उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिए ।

युपिए सरकारको १० वर्ष भने उनी पर्दा पछाडि बसे तर पार्टी संगठन र सरकारका निर्णयहरुलाई प्रभावित गर्दै रहे । यी १० वर्षमा पार्टी अध्यक्ष सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंह दुवैको अधिकार प्रयोग गर्ने एक मात्र व्यक्ति पटेल थिए । दुवैले पटेलका कुरा सुन्थे र सुझाव मान्थे । प्रधानमन्त्री कार्यालय र पार्टी अध्यक्षबीचको संवाद र समन्वयको सेतु नै पटेल थिए । मन्त्रीमण्डल गठनदेखि सरकारी नियुक्तिसम्म उनको छाप हुन्थ्यो। कयौं पटक उनले सरकारका निर्णयहरु अन्तिम बेलामा परिवर्तन गराएका थिए ।

पटेल कांग्रेस र युपिए सरकारको मात्र हैन, सोनिया गान्धीका पनि संकटमोचक थिए । सोनिया गान्धीको विश्वास जित्ने पटेल बराबरको व्यक्तित्व कांग्रेसमा अर्को थिएन । यहाँसम्म कि राहुल गान्धी राजनीतिमा सक्रिय हुन थाल्दा पनि सोनियाको पटेलमाथिको विश्वास हटिसकेको थिएन ।

पटेलसँग मेरा केही निजी अनुभवहरु छन् । व्यक्तिगत रुपमा उनीसँग मेरो राम्रो सम्बन्ध थियो तर कांग्रेसलाई अप्ठ्यारो पर्ने कयौं समाचारहरु मैले लेखेँ, उनले न कहिल्यै कुनै फोन गरेर असन्तुष्टि जनाए न भेटभाटमा ती कुरा नै उठाए न कसैलाई पठाएर त्यस्तो नगर्न भने ।

एकपटक मैले कांग्रेसको मुस्लिम राजनीतिबारे उनलाई जोडेर लेखे, त्यतिखेर भने उनको फोन आयो । फोनमा उनले बढो सहजताका साथ भने कि मैले तपाईले लेखेको समाचार पढेँ, त्यसमा एउटा सानो गल्ती छ, त्यो तपाईलाई बताउन मन लाग्यो, जुन दिन म मुस्लिम नेताहरुको बैठकमा थिएँ भनेर लेख्नु भएको छ, त्यो दिन म दिल्लीभन्दा बाहिर थिएँ ।

मैले आफ्नो सुत्रलाई चेक गरेँ, नभन्दै त्यो दिन उनी दिल्ली बाहिर भएको पत्ता लाग्यो, गल्ती हाम्रो थियो । त्यसका भोलिपल्ट मैले समाचारबारेको स्पष्टिकरण छापेँ ।

एकपटक मलाई मेरा सम्पादक आलोक मेहताले युपिए सरकारबारे एक अत्यन्तै संवेदनशील समाचार लेख्न भने । मैले आफूले चिनेका सबै वरिष्ठ नेताहरुलाई फोन लगाए तर कतैबाट पनि पुष्टि भएन । अन्ततः मैले पटेललाई फोन लगाएँ । उनको फोन उठेन । करिब २ घण्टापछि उनकै फोन आयो । मैले जब त्यो कुरा उठाए, उनी छक्क परेर भने कि त्यति गोप्य कुरा तपाईसँग कसरी पुग्यो ? जब तपाईलाई थाहा भइ नै सक्यो भने सही नै होला, मैले भन्नु केही छैन भने ।

युपिए–२ सरकारको दौरान मन्त्रीमण्डल विस्तार तथा पुनर्गठन हुनेवाला थियो । उत्तरप्रदेशका वरिष्ठ नेता बेनीप्रसाद शर्मा पनि मन्त्री बन्ने प्रयासमा थिए । उनी समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए । उनलाई लिएर कांग्रेसभित्र तरहतरहका कुरा हुन्थे । अचानक पटेलको फोन आयो मलाई । उनले बेनी प्रसादबारे मसँग अनेक कुरा सोध्न थाले । मैले आफूसँग भएका जानकारी उनलाई बताई दिएँ । अन्तमा उनले भने– तपाईको के विचार छ ?

मैले भनेँ- यो त कांग्रेस पार्टी, सोनिया गान्धी वा मनामोहन सिंहले गर्ने निर्णय हो, मेरो के विचार हुनु । उनले फेरि भने- तपाईलाई के लाग्छ उनलाई मन्त्री बनाउँदा उत्तर प्रदेशमा कांग्रेसलाई फाइदा होला ? मैले भन्दिएँ- फाइदा त हुन्छ । उनी पिछडिएको कुर्मी समुदायका कदवार नेता हुन् । पटेलले भने- त्यसो भए उनलाई यो खुशीको कुरा सुनाइ दिनु होला ।

न भन्दै बेनी प्रसाद मन्त्री बने ।

पटेलको सूचना संयन्त्र यति बलियो थियो कि उनी सबै महत्वपूर्ण कांग्रेस नेता, कार्यकर्ताका गतिविधिको जानकारी राख्थे । कांग्रेस नेता तथा कार्यकर्ता उनीसँग नजिक हुन ललायित हुन्थे । एकपटक मलाई कांग्रेसका एक ठूला नेताले बढो रमाइलो अनुभव सुनाए । उनी भर्खरै सोनिया गान्धीलाई भेटेर फर्किएका थिए, कारमा गुड्न मात्र आँटेका थिए, पटेलको फोन आयो– म्याडमसँगको भेटभाट कस्तो रह्यो ? मेरो बारेमा भन्नुपर्ने कुरा त भन्नु भो नि ?

कांग्रेसमा यस्तो चर्चा व्यापक थियो कि पटेल र मोदीको सम्बन्ध बिशेष थियो । युपिए सरकारको समयमा मोदी गुजरातका मुख्यमन्त्री थिए । पटेलले उनलाई थुप्रै सहयोग गरेका थिए । पटेल राज्यसभाको निर्वाचन हुँदा भापजाका स्थानीय नेताहरुले निर्वाचन आयोगमा जुन याचिका गरेका थिए, भाजपाको शीर्ष नेतृत्वले नै त्यसलाई मत्थर पार्दिएको थियो । कति सत्यता थियो थाहा भएन तर मोदी र पटेलको मित्रताको चर्चा गुजरात राजनीतिमा सधैं चर्चामा हुन्थ्यो ।

यी सबै आरोप र चर्चाका बाबजुद सोनिया गान्धीको विश्वास पटेलमाथि उत्तिकै रहन्थ्यो । पटेलले कांग्रेस र सोनियाका कयौं संकटहरु हल गर्न सक्थे । अब त्यो काम कांग्रेस र सोनियाका लागि कसले गर्ला ? यसको उत्तर तुरुन्तै कसैले दिन सक्दैन । पटेलको निधनपछि कांग्रेस राजनीतिमा एक आधारभूत परिवर्तनको युग समेत शुरुवात हुन सक्दछ, यो सम्भावना इन्कार गर्न सकिन्न ।

अमर उजालाबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay