चितवन पुगेका पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या
काठमाडौं, १० मङ्सिर । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमा नै राखेर इसिजी गरिँदै छ । यसैगरी, रगत पनि परीक्षण गर्न लागेको उनले जानकारी दिए ।
‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौं । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ’, रेग्मीले भनेका छन् । इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने डा रेग्मीले जनाए ।
रेग्मीका अनुसार, शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।