च्याम्पियन्स लिग: एट्लान्टासँग लिभरपुलको हार, सिटीको चौथो जीत
काठमाडौं, ११ मङ्सिर । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले हार व्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुल एट्लान्टासँग २-० ले पराजित भएको हो ।
एट्लान्टाको जीतमा जोसेप इलिसिच र रोबिन गसेन्सले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
६०औं मिनेटमा इलिसिचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए भने ६४औं मिनेटमा गसेन्सले अग्रता दोब्बर पारे ।
सोही समूहको अर्को खेलमा अयाक्सले मिजील्यान्डलाई ३-१ ले हराएको छ ।
हारका बाबजुद लिभरपुल ९ अंकसहित शीर्षस्थानमा छ भने समान ७-७ अंक भएका अयाक्स र एट्लान्टा गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । खाता खोल्न नसकेको मिजील्यान्ड पुछारमा छ ।
यस्तै समूह ‘सी’ को खेलमा म्यानचेस्टर सिटीले ओलम्पियाकसलाई १-० ले हराउँदै अपराजित यात्रा कायमै राखेको छ ।
सिटीको जीतमा ३६औं मिनेटमा फिल फोडेनले गरेको गोल नै निर्णायक बनेको थियो ।
सोही समूहको अर्को खेलमा पोर्टोले मार्सेललाई २-० ले हराएको छ ।
जीतसँगै ४ खेलबाट १२ अंक भएको सिटी शीर्षस्थानमा छ भने ९ अंकसहित पोर्टो दोस्रो, ३ अंक भएको ओल्म्पियाकस तेस्रो र अंकविहीन मार्सेल पुछारमा छ ।