साविक विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं, ११ मङ्सिर । साविक विजेता बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का लागि छनौट भएको छ । बुधबार राति भएको समूह चरणको खेलमा आरबी साल्जबर्गलाई पराजित गरेसँगै बायर्न दुई खेल खेल्नुअगावै अन्तिम १६ का लागि छनौट भएको हो ।
गएरातिको खेलमा १० खेलाडीमा सीमित भएतापनि बायर्नले साल्जबर्गलाई ३-१ ले हराएको हो । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र लेरोए सानेले एक-एक गोल गरेका थिए । साल्जबर्गका लागि मेर्गिम बेरिशाले एक गोल फर्काए ।
४२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औं मिनेटमा कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
६६औं मिनेटमा बायर्नका मार्क रोका दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो । तर कुनै दबाब महसुस नगरेको बायर्नका लागि त्यसको दुई मिनेटमै सानेले गोल गर्दै ३-० ले अघि बढाए । ७३औं मिनेटमा बेरिशाले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो ।
सोही समूहको अर्को खेलमा एट्लेटिको मड्रिड र लोकोमोतिभ मस्कोले गोलरहित बराबरी खेलेका छन् ।
जीतसँगै ४ खेलबाट १२ अंक जोडेको बायर्न शीर्षस्थानमा रहँदै अन्तिम १६ का लागि छनौट भएको छ । दोस्रो स्थानको एट्लेटिकोको ५ अंक छ भने मस्कोको ३अंक र साल्जबर्ग अंकविहीन छ ।
रियलले इन्टरलाई हरायो
यस्तै गएराति नै समपन्न समूह बी को खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २-० ले हराएको छ । रियलको जीतमा इडेन हाजार्डले एक गोल गरे भने एक गोल इन्टरका अचरफ हाकिमीबाट आत्मघाती भएको थियो ।
समूह बी कै अर्को खेलमा मन्चनग्लाडबाकले शाख्तर डोनेट्स्कलाई ४-० ले पराजित गरेको छ ।
जीतसँगै ४ खेलबाट ८ अंक भएको मन्चनग्लाडबाक शीर्षस्थानमा रहँदा ७ अंक भएको रियल दोस्रो स्थानमा छ । शाख्तर डोनेट्स्क ४ अंकसहित तेस्रो र २ अंकसहित इन्टर पुछारमा छ ।