scheduleसोमवारमाघ ५ गते, २०७७

यो सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैनः प्रम ओली

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय नछाड्ने बताएका छन् । सामाजिक सुरक्षा दिवस-२०७७ को अवसरमा प्रम ओलीले विहीबार जारी गरेको एक शुभकामना सन्देशमा भनेका छन्, ‘यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन ।’

‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन,’ उनले भनेका छन्, ‘मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।’

प्रम ओलीले सरकार साथमा छ भन्ने महसुस गरेर एक्लो महसुस नगर्न अपिल गरेका छन् । ‘यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिवद्धता भएको सरकार हो,’ उनले भनेका छन्, ‘यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’

यस्तो छ प्रधानमन्त्री ओलीको शुभकामना सन्देश-

आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।

विंसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थाल्यो । त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढायो ।

आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं । हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । एउटा नयाँ जमानाको सुरुवात, जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस् । कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं । हामीले यस सम्बन्धमा थुप्रै प्र्रयासहरु अगाडि बढाएका छौं, जो यहाँहरुमा जगजाहेर नै छ । र, सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको कुरा म यहाँहरुलाई अवगत गराउँन चाहन्छु ।

अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।

यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । यस अवसरमा म सबै दाजुभाइ दिदीबहिनीहरुमा सामाजिक सुरक्षा दिवसको सन्दर्भमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !

११ मंसिर २०७७

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay