‘नदी कटान नियन्त्रण र बस्ती संरक्षणमा गम्भीर छु’
एसपी यादव/सर्लाही, ११ मंसिर । सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष निर्वाचित संघीय सांसद तथा जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता महेन्द्रराय यादवले आफ्नो निर्वाचन क्षेत्रमा नदी कटान नियन्त्रण र बस्ती संरक्षणमा आफू गम्भीर रहेको दावी गरेका छन् । उनले बुधबार कबिलासी नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, मलङ्ग्वा नगरपालिका र कौडेना गाउँपालिकास्थित लखनदेई र झिम नदी निरीक्षण गर्दै उक्त कुरा बताएका हुन् ।
यी क्षेत्रहरुमा वर्षेनी बस्ती डुबाउने र जमिन कटान गर्ने समस्या रहेको छ । गत असार महिनामा आएको बाढीले भत्काएको तटबन्धको मर्मत सम्भार समेत गर्ने उद्देश्यले नदी निरक्षण गर्दै नेता यादवले खेतीयोग्य जमिन र बस्ती संरक्षणमा दिलोज्यानले लागिपर्ने प्रतिवद्धता जनाए ।
लखनदेई र झिम नदीको बाढीका कारण खेतीयोग्य जमिन र बस्ती असुरक्षित बन्दै गएकोले नदी नियन्त्रण गर्न अति आवश्यक रहेको सांसद यादवको ठहर रहेको छ । नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिदै सांसद यादवले ठाउँ-ठाउँमा भत्किएको तटबन्ध तत्काल मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सांसद यादवले अन्य नयाँ सम्भावित ठाउँहरुको पहिचान गरी तटबन्ध निर्माणका लागि आवश्यक प्रक्रिया थाल्न जनताको तटबन्ध कार्यक्रम सर्लाहीको कार्यालय प्रमुख डिभिजन इन्जिनियर रवीन्द्र कुमार शर्मालाई निर्देशन समेत दिएका छन् ।
निरीक्षणमा जनताको तटबन्ध कार्यक्रम सर्लाहीको कार्यालय प्रमुख डिभिजनल इन्जिनियर रवीन्द्र कुमार शर्मा, इन्जिनियर रन्धिर झा, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका प्रमुख कौशल किशोर राय, मलङ्ग्वा नपाका प्रमुख निरसल साह, साविक गम्हरिया गाविसका पूर्व अध्यक्ष एवं जसपाका नेता काशी राय, निर्वाचन क्षेत्र नं.२ का क्षेत्रीय अध्यक्ष रामविनय राय, मलङ्ग्वा नपा वडा नं. १० का वडा अध्यक्ष मुकेश झा, वडा नं. ९ का वडा अध्यक्ष दिपलाल महतो, वडा नं. ६ का वडा अध्यक्ष तैयब मिया मुकेरीलगायत पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।