scheduleआइतवारमाघ ४ गते, २०७७

पुष्पकमल दाहालको गोलचक्करमा कमरेड प्रचण्ड !

बिनाराम खड्का

दार्शनिक विचारधाराबाट सचेत नागरिक । राजनीतिक रुपमा जानकार श्रमजिवी । देशको दुर्गम दूरदराजबाट पछिल्लो राजनीतिक घटनाक्रमलाई मिहीनरुपमा नियालीरहेको एक स्वतन्त्र मानवचेत् । प्रत्येक नागरिकहरूले स्वच्छन्द धारणाहरू व्यक्त गरिरहेको अवस्थामा पनि समकालीन राजनीतिको एक प्रमुख पात्र प्रचण्डको बारेमा अनेकथरी टिप्पणी, कथा, कविता, अनुभव, अनुभूति लेख्दै र मेट्दै गर्नुपर्ने बाध्यता र विवशता ! प्रचण्डको पक्ष र विपक्षमा फेसबुक स्टाटस लेख्दै र मेट्दै गर्नुपर्ने अवस्था ! प्रचण्डको पक्ष विपक्षमा चियापसल, चोक, बजार, नागरिक जमघटमा धारणा फेरिफेरि बोल्नुपर्ने दोधार ! पछिल्लो नेकपा विवाद र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा अनेकथरी आँकलन र सम्भावनाहरूको बारेमा फरकफरक लेखाजोखा गर्नुपर्ने परिस्थिति !

प्रचण्ड मूल्याङ्कन

कतिपयलाई लाग्ला प्रचण्ड को हुन् र सम्झिनैपर्ने ? कतिपयलाई लाग्ला प्रचण्ड एकनास ईश्वर महात्मा हुन् उनको बारेमा टिप्पणी नै गर्न सकिंदैन ! कतिपयलाई लाग्ला प्रचण्ड नेपाली राजनीतिका घनघोर अपराधी हुन् र उनको बारेमा सकारात्मक टिप्पणी गर्नै सकिँदैन ! कतिपयलाई लाग्ला प्रचण्ड नातागोता, आफन्त, इष्टमित्र, कुल, कुटुम्बका पर्याय हुन् उनको बारेमा पारिवारीक साइनो नगाँसिएकाहरूले किन टाउको दुखाउने ! कतिपयलाई लाग्ला प्रचण्ड नेपाली राजनीतिक व्यापारका ठूला ठेकेदार हुन् ! राजनीतिको आवरणमा नाफा नोक्सान, आयव्यय, हरहिसाब, कमिसन, टेन्डर, ठेक्कापट्टाको कमिशन प्रतिशतमा नजोडिएकाहरू किन बोल्ने ! कतिपयलाई लाग्ला प्रचण्ड पार्टी विशेष, पार्टीभित्र पनि गुट विशेष, खेमा विशेषसँग आवद्ध व्यक्ति हुन् ! उक्त पार्टी र गुट बाहिरका सचेत नागरिक किन बोल्ने ?

बिनाराम खड्का

प्रचण्डको बारेमा अनेकथरी मूल्याङ्कन छन् । कसैको गाली । कसैको हाइहाइ । कसैको दुत्कार । कसैको स्वीकार । तर पनि प्रचण्ड नेपाली राजनीतिका समकालीन बिम्ब । बिम्बहरूका प्रतिबिम्ब । नेपाली राजनीतिक रङ्गमञ्चका हस्ती । नेपाली समाजका एक पात्र । नेपाली समाज चलायमान पार्ने तत्व । परिवर्तन, यथास्थिति, अग्रगमन, द्वन्द्व, गति, गतिशिलताका उद्दिपक हुन् । प्रचण्ड कसैका घरका डेरावाला मात्रै होइनन् । प्रचण्ड कसैका श्रीमान, कसैका नातेदार, कसैका आफन्त, कसैका व्यक्तिगत स्वार्थपूर्तिका साधन मात्र होइनन् । नेपाली राजनीतिका ज्यूँदा इतिहास हुन् । अग्रगमन, पश्चगमन, उन्नति, प्रगति, यथास्थिति र रुपान्तरणका उत्तोलक हुन् ।

प्रचण्डका प्रभावहरू
प्रचण्ड व्यक्ति होइन । प्रवृत्ति हो । धार हो । विचार हो । प्रवाह हो । गति हो । गतिशिलता हो । एकता हो । अनेकता हो । विविधता हो । एकतामा संघर्ष हो । संघर्षमा एकता हो । रुपान्तरण हो । विविधताको पहिचान हो । आत्म सम्मानहरूको स्वीकारोक्ति हो । प्रचण्ड कुनै निजी उपभोग्य नाफा नोक्सान विनिमय वस्तु होइन । प्रचण्ड सार्वजनिक सरोकारको विषय हो । आम चासोको विषय हो । प्रचण्ड छलफल र बहसको विषय हो । प्रचण्ड कुनै मार्सी चामलको बास्नादार भातको गाँस होइन । तरकारीको सुगन्धित नुन, तेल, मसला, अचार होइन । प्रचण्ड पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा धेरै मानिसहरूले प्राण त्यागेर स्थापित गरेको एक श्रृङ्खला हो । नकारात्मकता सकारात्मकताको समिश्रण हो । हजारौँ शहीद, घाइते, बेपत्ता, अङ्गभङ्ग, दमित, पीडित, शोषित, उत्पीडितहरूको सपनाहरूबाट निर्मित संघर्षको सार हो । सारहरूबाट खडा भएको उपसंहार हो । विश्लेषणहरूको संश्लेषण हो । खण्डहरहरूको झङ्कार हो । समयको आवश्यकताबाट सिर्जित विचार हो । निराकार सपनाहरूको सारभूत आकार हो । दमितहरूको आवाज हो ।

प्रचण्डका सीमाहरू
कतिपयको अनुभव छ । व्यवस्था, अवस्था र अनुभूतिको कोणबाट हेर्दा संघ, प्रदेश र स्थानीयका केही ‘बिप्ल्याँटा’ हरूको कारण प्रचण्डको कद घट्नुसम्म घटेको छ । कुनै बेलाका अडिग हिमाल प्रचण्ड अहिले बुहारीको पद थमौती गर्न बालुवाटारेहरूको टाङ्गमुनी छिर्ने लिलिपुट मानव भएको छ । छोरीलाई मेयर बनाउन जनताको अभिमत च्यात्ने राजनीतिक जोक्कर भएको छ । पदको लागि मरिहत्ते गर्नेहरूको कारण प्रचण्ड बलीको बोको भएको छ । यता न उता दिशाहीन भएको छ । इमान्दारिता र नैतिकता विहिनहरूको परपीडक झुन्ड भएको छ । पराधीनहरूको आश्रयदाता भएको छ । षड्यन्त्र, तिक्डम र छलकपटधारीहरूको अगुवा भएको छ ।

आफ्ना र आफन्तजनहरूको संरक्षणमा राजनीतिक विचारलाई तिलाञ्जली गर्नेहरूको कारण प्रचण्ड हुत्याइएको भकुण्डो भएको छ । गलहत्याइएको शरणार्थी भएको छ । तात्तातै र तत्काल अवसर खोज्नेहरूको चौघेरो र चङ्गुलमा फसेर कहिल्यै काँग्रेसतिर र कहिल्यै एमालेतिर हुर्रिने धोकेवाज भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो संघर्षबाट स्थापित प्रचण्डलाई थालमा राखिएको भन्टाझैँ यता न उता पार्ने काममा विचारविहीन, सिद्धान्तविहीन धुपौरेहरू अहोरात्र खटिएका छन् । केही ठेकेदारहरू, केही व्यापारीहरू, केही उच्चपदस्थ ब्युरोक्रयाट्सहरू, परिवर्तन हुँदा छँदाखाँदाको भाग खोसिन्छ कि भनी सशंकित हुनेहरू, प्रचण्डकै शब्दमा केही देशी विदेशी शक्तिका एजेन्टहरू प्रचण्डको विरासत मेट्न, प्रचण्डको इतिहास उल्ट्याउन, प्रचण्डको क्रान्तिकारिता सिध्याउन रातोदिन लागिपरेका छन् । लाग्दो हो- उनीहरूलाई हामीले प्रचण्डलाई आपद विपदमा ठूलो साथ दिएका छौँ । तर यथार्थ यो हो कि प्रचण्डका विरोधी आलोचकहरूको कारण प्रचण्डको उचाई घटेको होइन । प्रचण्डका सबैभन्दा नजिक कहलिनेहरूको संगतकै परिणाम प्रचण्ड निरन्तर भिरमा गुल्टिरहेको फर्सी भएका छन् ।

प्रचण्डधारको विरुद्धमा स्वयम् पुष्पकमल दाहाल खडा

हुँदाहुँदा पछिल्लोपटक त प्रचण्ड आफैं पुष्पकमल दाहाल बनेर प्रचण्डको विरुद्धमा स्वयम् उभिएका छन् । प्रचण्डलाई तिरस्कार र दुत्कार गर्दै पुष्पकमल दाहाल स्वयम् गोकुल, ईश्वर तथा सूर्यहरूको फेसबुक स्टाटस र चार हरफे ट्विटबाट भयक्रान्त स्तरमा ओर्लिइरहेका छन् । २०५१ सालमै राजनीतिक रङ्गमञ्चमा एउटा खास वैचारिक धारको नेतृत्वमा क्रियाशील झलनाथ, माधव, वामदेवहरूको ढाडसमा पुष्पकमल दाहाल आफैं प्रचण्डको मलामी बन्दैछन् । बहुदलीय जनवादको आच्छा झोले भरीया बन्ने दिशामा तत्पर छन् । विगतमा राजनैतिक वैचारिक विभेदकै कारण पार्टी विभाजनमा गएका उनै नारायणकाजीहरूका उक्साहटमा पुष्पकमल दाहाल स्वयम् प्रचण्डको विरुद्धमा गुटगत मोर्चाबन्दी कसिरहेका छन् ।

उही बहुदलीय जनवादकै फेरोमा झुन्डिएर वैतरनी तर्नु थियो ! त्यत्रो ठूलो राजनीतिक मतभिन्नता थिएन ! सत्ता, बहुमत र अंकगणितीय जोडघटाउ नै एकमात्र गन्तव्य थियो भने २०५१ सालमै किन पार्टी एकता गरिएन ? २०५२ पछि र २०७४ अघि भएका निर्वाचनमै कार्यगत एकता र पार्टी एकता गरेर किन चुनाव लडिएन ? जनयुद्धको नाममा भयङ्कर ठूलो संहार मच्चिइसकेपछि फेरि तरवार बेचुवा र घिउ बेचुवा कथाको पुनरावृत्ति किन हुँदैछ !? संघर्ष र सम्झौताबाट प्राप्त भइसकेको उपलब्धिमा फेरि किन बार्गेनिङ्ग भइरहेको छ ?

प्रचण्ड उपलब्धीहरूको निराशावादी मूल्याङ्कन

कति मानिसहरूलाई लागिरहेको छ । संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता, गणतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, संसदीय व्यवस्थाका विकृतिमाथि सुधार र समाजवादका प्रचण्ड सपना समयक्रममा असफलताको दिशामा अभिमुख हुँदैछन् ।

संसदीय व्यवस्थामाथिको प्रहार असंसदीय २/४ वटा विशेषता राखेर जारी गरिएको वर्णशंकर संविधानले बिटुल्यायो । प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रचण्ड एजेन्डा उनै पुष्पकमम दाहाल स्वयमले नोट अफ डिसेन्टमा खुम्च्याएर उहिल्यै छोडिसके । संघ, प्रदेश र स्थानीयका नयाँ राजा हुन् खोज्नेहरूको कारण संघीयता बदनामको चरणमा प्रवेश गरिसक्यो । धर्मनिरपेक्षता बहुसंख्यक जनमतको उपेक्षा भावमा रुपान्तरित हुँदै परम्परागत शक्तिकेन्द्र सत्ता पुनरआर्जनको माध्यम बन्दैछ । समावेशी समानुपातिकता नातावाद, कृपावाद, सालासाली वाद, भाइभतिजावाद, लोग्ने स्वास्नीवाद, माइती इष्टवाद, फरियावाद, अलिअलि रहेलपहेल गुट उपगुट र आय आर्जन कमिशनवादमा सीमित भइसक्यो । बाँकी रह्यो गणतन्त्र । शितलनिवासको सान, मान र अभिमान ! शाषकहरूको शासकीय कार्यशैली । एक राजा फालेर हजारौँ हजार राजाहरूको पुनरोदय !

के रहे बाँकी प्रचण्ड एजेन्डाहरू ? १० वर्षे लिगेसीको तितरबितर । केही मान्छे टिपेर विप्लवहरूको अलग यात्रा । बैद्ध गजुरेलहरू थकान चौतारीमा । बाबुरामहरूको चुलो ओदान जोड्दाजोड्दै, आगो फुक्दाफुक्दै वर्षौ व्यतित । बादलहरूको घामछाँया ! अलिकती रहेको प्रचण्ड राप, ताप, करेस्मेटिक्स र ऐतिहासिक विरासतमा दोस्रो, तेस्रो पुस्ता कथित विचारविहीनहरूको छिनाझपडी तानातान । अनि के लेख्ने प्रचण्डको बारेमा ?! किन लेख्ने प्रचण्डको बारेमा ! जबकी प्रचण्डको विनाशको यात्रामा उनै पुष्पकमल दाहाल र उनका सन्निकट चम्चे हनुमानहरू अग्रभागमा ! तर पनि नेपाली राजनीतिको ज्युँदो इतिहास ! केही त नलेखी भएन !

उपलब्धीहरूको सकारात्मक मूल्याङ्कन र सुधारका पक्षहरू

गणतन्त्र

गणतन्त्र जनताको उच्चतम चेतनाको उपज हो । वंशानुगत रुपमा परिवारबाट शासित जनता स्वयम राष्ट्र प्रमुख छान्न र छानिन पाउने विकसित लोकतन्त्रको आधार हो गणतन्त्र । १/२ जना अल्पज्ञानी पात्रको भुमिकाको कारण गणतन्त्रको औचित्यमाथि प्रश्न उठाउन सकिँदैन ।

संघीयता

संघीयता शासन प्रणालीहरूमध्ये सबैभन्दा उत्कृष्ठ व्यवस्था हो । तल्लो तहसम्म शासकीय अधिकारहरूको बाँडफाँड हो । जनताको घरदैलोमै सरकार पुर्‍याउने माध्यम हो । केही पात्रहरूको कारण संघीयतालाई उल्टो अर्थ कसरी लगाउने ! क्यामरुन, युगोस्लाभिया, चेक र युगान्डाजस्ता देशको नजिर देखाएर विश्वको ६० प्रतिशत बढी जनसंख्यामा सफलताकासाथ अवलम्वन गरिएको उम्दा शासन प्रणालीलाई खारेज गर्नको लागि त यो भन्दा राम्रो व्यवस्थाको बिजारोपन हुनुपर्छ होला । संघीयता फ्यालेर संवैधानिक राजतन्त्र वा सत्ता तानातानको भद्दा नमुना संसदीय शासनप्रणाली तिर फर्किन सम्भव छैन ।

धर्म निरपेक्षता

धर्म निरपेक्षतालाई कतिपयले सनातन धर्म, संस्कृति, प्रथा, परम्परामाथिको अनादर र तिरष्कारको रुपमा अर्थ्याए । धर्म व्यक्तिगत स्वतन्त्रता र आस्थाको विषय हो । सरकारले संस्थागत रुपमा धर्म अंगिकार गर्ने होइन । सरकार त सबै जात, जाति, भाषा, भाषी तथा सांस्कृतिक एकताको प्रतिक हो । सरकारले सबै धर्म, सम्प्रदाय, संस्कृतिको संरक्षण र सम्बर्धनमा अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्छ । सबै जात, जाति, भाषा, भाषीको साझा फूलबारीको रुपमा राज्यलाई धार्मिक तटस्थ निकायको रुपमा लिनुलाई अन्यथा अर्थ लगाउन मिल्दैन । सबै धर्मको एकमात्र उद्देश्य मानव कल्याण र पारस्परिक भाइचारा सम्बन्ध हो । एकलरुपमा गरिएको अतिवादी परिभाषाबाट धार्मिक रुपमा विभाजित हुनुपर्ने आवश्यकता छैन । एकल धर्म, एकल भाषातिर होइन । धार्मिक स्वतन्त्रतासहितको बहुलता समयको माग हो ।

समावेशीकरण समावेशिता

केही विकृतिको बावजुद समानुपातिक समावेशिताको कारण आज समाजमा सदियौँदेखि पछि परेका, पछाडि पारिएका उपेक्षित लिङ्ग, क्षेत्र, जात, जातिको शासन प्रणालीमा सहभागिता बढिरहेको छ । राज्यसत्ता शोषणको माध्यम होइन । आधुनिक राज्यसत्ताले कमजोर बर्गको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने हुन्छ । राज्यको विशाल दायरामा सबै नागरिकको समान पहुँच, प्रतिनिधित्व, सहभागिता तथा सम्मानको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । राज्यले नागरिकहरूको बीचमा कुनै पनि आधारमा विभेद गर्नुहुँदैन । राज्य प्रणालीमा सबैको न्यायोचित र समतामुलक सारवान सहभागिता नै समानुपातिक समावेशिताको मुलभूत सिद्धान्त हो । यसमा भएका कमजोरी सुधार गर्न सकिएला तर यसबाट विचलित हुन सकिँदैन । सबैको भलो होस् । राज्यका सबै आयामहरूमा सबैलाई समतामुलक समानता होस् । यो कुरा आफैंमा बेठीक होइन । विद्यमान कमजोरी सुधार गरी राज्यलाई सबै नागरिकहरूको साझा घर बनाउनुपर्छ ।

संसदीय व्यवस्थाको विकल्प सुदृढ गणतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी

केही पात्रको कारण अहिले ब्यङ्ग्यवान खेपिरहेको जस्तो भद्दा मजाकको विषय होइन गणतन्त्र । गणतन्त्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा संगसंगै जोड्नुपर्ने हुन्छ । विश्वका उत्कृष्ट लोकतान्त्रिक मुलुकहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी पद्धतिका गणतान्त्रिक व्यवस्थाको कारण जनताले सोझै आफ्ना प्रतिनिधि चुन्न सकेका छन् । जनताले आफ्ना प्रतिनिधि वारेसलाई प्रत्यक्ष रुपमा छान्न पाउनेगरी प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलको गणतान्तिक शासन व्यवस्था नेपालको आवश्यकता हो । देशभित्र र बाहिर रहेका प्रत्येक नेपाली नागरिकले भयरहित र निष्पक्ष रुपमा प्रत्यक्ष राष्ट्रप्रमुख छान्न पाउनु अहिलेको प्रमुख आवश्यकता हो । गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको गणतन्त्र हो । प्रचण्डहरूले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा पुष्पकमलहरूले छोडेपनि यो मुद्दा यथावत् जीवित छ । यसको आवश्यकता झन पुष्टि हुँदै गइरहेको छ ।

संसदीय व्यवस्थामा थुप्रै विकृतिहरू उत्पन्न भएकै हुन् । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन सिद्धान्तको गलत अभ्यास । कार्यकारीणी, न्यायीक र व्यवस्थापकीय अङ्गहरूको अनावश्वक टकराव, द्वन्द्व र बेमेल । राज्यप्रणालीलाई समष्टिगत अभिष्टबाट उपप्रणालीहरूमा विभक्त गर्ने प्रयास । सोझै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुनपर्ने कार्यकारी प्रमुख र राष्ट्रप्रमुख । १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै एउटा निर्वाचन क्षेत्रका मतदाताले छानेको प्रतिनिधिलाई देशकै कार्यकारी प्रमुखको रुपमा देशैभरीका मतदाताले स्वीकार्नुपर्ने वाध्यता । प्रधानमन्त्री तथा मन्त्रीको संसदप्रति उत्तरदायित्वको कारण सांसदहरूको टाउका यताउती पार्नमै पाँच बर्षे कार्यकाल व्यतित । कार्यपालिकामा विज्ञ र योग्यतम व्यक्ति होइन शक्ति सन्तुलनको लागि गुटगत प्रतिनिधित्व मिलाउनुपर्ने बाध्यताका कारण सरकारको प्रभावकारितामाथि बारम्वार प्रश्न चिन्ह उठ्ने गरेको जस्ता विगत वर्तमानको अवस्थाबाट संसदीय मोडेलमा ठूलो रुपान्तरणको आवश्यकता छ । वर्णशंकर संसदीय व्यवस्थाको सट्टा अध्यक्षतात्मक प्रणाली नै अबको विकल्प हो ।

समाजवाद

समाजवाद कहिल्यै मर्दैन । सरकारलाई जनताप्रति प्रत्यक्ष उत्तरदायित्व वोध नै समाजवाद हो । जनताका न्युनतम आवश्यकताहरूको परिपुर्ती, खुला, बजारमुखी, नाफामुखी बजारको साटो सरकारबाट नै जनतालाई गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने सामूहिक पद्धति हो । समुन्नत समाजवादतिरको यात्रा नै अबको गन्तव्य हो ।

चुनौती, निर्णय क्षमता र नेतृत्व

राज्य प्रणालीका अङ्गप्रत्यङ्गमा निरन्तर सुधार, परिमार्जन र रुपान्तरणको आवश्यकता पर्छ । जनताका चाहना, अपेक्षा र सपनाहरूकको समष्टिगत प्रतिफलको रुपमा शासकीय पद्धतिमा फेरबदल हुनेगर्छ । जनताका नविनतम आवश्यकताहरूको परिपूर्तिको लागि परिवर्तनकारी नेतृत्वको जरुरत पर्छ । समाजको विकास, मानवीय चेतना, विज्ञान प्रविधिको विकास, विश्व परिवेशमा उत्पन्न नयाँ खालका चुनौतीहरू, शासकीय मान्यताहरूमा विश्वव्यापी रुपान्तरणको लहरसँगै नेतृत्वको विकास हुने हो । नेतृत्व विचार, दर्शन, सिद्धान्त, सपना, विपना, आकांक्षाहरूको सार हो । नेतृत्व अगाडि बढ्नु हो । कठीन परिस्थितिमा पनि जोखिम मोलेर अगाडी बढ्न सक्ने निर्णय क्षमता हो ।

चुनौतीहरूको सामना गर्नसक्ने । देशलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने । जनताको जीवनस्तरमा सुधार ल्याउन सक्ने । रोजगारीको लागि विदेश पलायन भएका ५० लाख युवालाई स्वदेशमै रोजगारी दिन सक्ने । शिक्षा प्रणाली जीवनपयोगी बनाउनसक्ने । प्रशासनिक संयन्त्रमा रुपान्तरण गर्न सक्ने । नातावाद र कृपावादबाट माथि उठेको । सपनाहरूको विजारोपन गर्ने । सपनाहरूलाई यथार्थतताको उर्वर भूमिमा फलाउने, फुलाउने नेतृत्वको आवश्यकता छ । नेपाली जनताले व्यक्त गरेका असन्तुष्टीहरूको निराकरणको समष्टिगत सारको आकार । टुटफुट सपनाहरूको एकता । बाँकी सपनाहरूको परिपूर्ति । प्राप्त सपनाहरूको गोडमेल, संरक्षण र नवीनतम सपनाहरूको बिजारोपणको लागि एकपटक फेरि प्रचण्डहरूको आवश्यकता छ । तितरबितर भएर निराकार भएका प्रचण्ड विचारहरूलाई जोडेर निश्चित आकारको लागि प्रचण्डहरू एकठाउँमा उभिनु आवश्यक छ ।

पुष्पकमल दाहालको आहालमा प्रचण्ड

तर दुर्भाग्य ! प्रचण्डहरू ! जसलाई परिवर्तनको लागि प्राण त्याग गर्ने शहीदले अन्तिमसम्म उच्चारण गर्यो । अन्तिम चित्कारमा सम्झियो । शोषित, पीडितहरूले आफ्नै मुक्तिदाता ठानी अंकमाल गरे । अभाव, संकट, छटपटी, विभेद, अन्याय, अत्याचार, गरिबी, पछौटेपन, रोग, भोग, अविकासले आक्रान्त जीन्दगीको डुंगा तार्ने सहयोद्धाको रुपमा प्रचण्डहरू खोजे । प्रचण्डहरू रोजे । स्वतन्त्र र न्यायपूर्ण जीवन प्राप्तिको लालसा बोकेका हजारौंको प्राणको बलिवेदी र प्राण आहुतिसँगै प्रचण्ड बनेर जव हिलोमा लपेटिएका छविलाल दाहालहरू सत्ता राजनीतिको राष्ट्रिय खेलाडीको रुपमा उदाए अनि पुष्पकमल दाहालहरूको फोहोरी आहालमा चुर्लुम्म डुबे ।

उपसंहार र संसय

र, जनताबाट टाढिएर । जनताको आवश्यकताबाट अलग भएर बालुवाटार-धुम्बाराही-खुमलटार-पेरिसडाडा दुश्चक्रमा घन चक्कर मार्दै उद्देश्यहीन क्वारक्वार गर्न थाले । जब पुष्पकमल दाहालहरू विचारविहीन र गनत्वविहीन दौडधुपमा केन्द्रित भए । दाहालरुको बारेमा बोल्नै मुस्किल भो । अघि बढ्न खोजेको हो कि पछि हट्न खोजेको ? पश्चगमन, यथास्थिति, अग्रगमन वा गोलचक्करवाद !? दाहालहरूको बारेमा लेख्नै कठिन भो । प्रचण्डहरूको खोल ओडेका पुष्पकमलहरूको बारेमा उही प्रश्न दोहोरिरहन्छ प्रचण्डहरूको बारेमा के लेख्ने ? प्रचण्डहरूको बारेमा के बोल्ने ? दोधारै दोधारमा लेखिएको आलेख ! बाँकी जिम्मा समयको प्रवाहलाई ! धन्यवाद ।

(२०७७ मंसिर ११, मुसिकोट नगरपालिका ४, सोलाबाङ्ग, रुकुम पश्चिम)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay