प्रम ओलीमा नैतिकता छ भने राजीनामा दिएर प्रायश्चित गर्नुपर्छः डा. भट्टराई
काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसँग नैतिकता छ भने राजीनामा दिएर प्रायश्चित गर्नुपर्ने टिप्पणी गरेका छन् ।
डा. भट्टराईले ट्रान्सपरेन्सी इन्टरनेशनल एसियाको एक प्रतिवेदनमा ओलीलाई भ्रष्टाचारको संरक्षण भनेर टिप्पणी गरिएको खबर उद्धृत गर्दै विहीबार एक ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीत आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ,’ उनले भनेका छन् ।
उनले भ्रष्टाचारजस्ता समस्यालाई समाधान गर्न संरचनात्मक सुधार आवश्यक भएको सुझाव दिएका छन् । ‘अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है,’ उनले भनेका छन्, ‘शासकीय स्वरुप परिवर्तन, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकास बिना भ्रष्टाचार रोकिन्न ।’
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन् भन्दै एक नयाँ रिपोर्ट प्रकाशमा ल्याएको छ ।
पछिल्लो एक वर्षमा भ्रष्टाचार वृद्धि भएको र जनमत सर्वेक्षणअनुसार एसियामा नेपाल सबैभन्दा अगाडि रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको हो । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको देखिएको छ भने यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च हो ।