scheduleआइतवारमाघ ४ गते, २०७७

राजावादी प्रदर्शनको अर्थ के ? प्रभाव कति ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ११ मंसिर । केही हप्ता यता एकपछि अर्को ठूलो शहरमा राजावादी प्रदर्शनहरू भइरहेका छन् । बुटबलबाट शुरुवात भएको ‘मोटर साइकल र्‍याली’ को क्रम धनगढी, विराटनगर, जनकपुर हुँदै पोखरा पुगेको छ । ‘राष्ट्रवादी नागरिक’ को नाममा हुने गरेका यस्ता प्रदर्शनको पछाडि केकस्ता व्यक्ति, व्यक्तित्व, संघसंस्था क्रियाशील छन्, त्यो भने सतहमा आएको छैन ।

देशको एक मात्र राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले यी प्रदर्शनहरूमा संस्थागत संलग्नताको निर्णय गरेको छैन । तथापि यस्ता प्रर्दशनबाट राप्रपा नेताहरू खुशी देखिन्छन् । राप्रपा नेता/कार्यकर्ताहरूले ‘मोटर साइकल र्‍याली’ का तस्वीर, भिडियो र समाचार महत्वका साथ सम्प्रेषण गरिरहेको पाइन्छ ।

तर, पार्टीले संस्थागत निर्णय, संलग्नता र सक्रियता स्वीकार गरेको छैन । राप्रपा नेता कमल थापाले एक ट्वीटमा भनेका छन् कि यस्ता प्रर्दशन ‘जसले गरेको भए पनि खुशी लाग्छ’ । राप्रपाले पार्टीगत संलग्नता स्वीकार नगरेपनि राप्रपा निकटकै व्यक्ति र परिवारहरूको आन्तरिक सक्रियता र सहभागिता देख्न सकिन्छ । स्थानीय स्तरबाट प्राप्त सुचनाअनुसार यस्ता ‘मोटर साइकल र्‍याली’ को आयोजना र व्यवस्थापनमा पूर्वपञ्चहरूकै सहभागिता छ ।

प्रदर्शनको चरित्र चक्रीय भएबाट जनशक्तिलाई रोटेशनमा प्रयोग गरेको बुझिन्छ । एउटा शहरबाट अर्को शहरमा केही दिनको भिन्नता राखी उनै मानिसहरू परिचालित गरेको पाइन्छ । तथापि कार्यक्रमको दिन राम्रै भीड जम्मा गर्न सकेको हुँदा यी प्रदर्शनले मानिसको ध्यान खिचेका छन् ।

नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष बितिसेको छ । १२ वर्ष थोरै समय हैन । हरेक देशको इतिहासमा करिब एक दशक समयले नयाँ अध्याय र चरणका ढोकाहरू खोल्ने गर्दछन् । नेपालको राजनीतिक बहस यो अवधिमा नयाँ स्तरमा विकसित भइसकेको छ । राजतन्त्रको अन्त्य भएपछि जन्मिएका नेपालीहरू बयस्क हुन लागेका छन् । यस अर्थमा राजतन्त्र समर्थक प्रदर्शनहरू स्वभाविक भने हैनन् ।

तर अर्को पाटोबाट हेर्दा यसलाई अस्वभाविक मान्नु पर्ने देखिन्न । २४० वर्ष शासन गरेको संस्थाको पक्षमा समाजको एउटा सानो हिस्सा हुनु अस्वभाविक हैन । नेपालको राजनीतिक इतिहासका यो पुरानै प्रचलन हो । २००७ सालमा राणाशासनको अन्त्य भएपछि पनि राणाशासन समर्थकहरूको एउटा पंक्ति थियो । उनीहरूले गोर्खा परिषद नामको राजनीतिक दल नै बनाएका थिए । २०१७ सालको आमनिर्वाचनमा १९ सीटसहित त्यो दल प्रमुख प्रतिपक्षी दल बनेको थियो । त्यसपछिको घटनाक्रमले त्यो दल इतिहासको गर्तमा विलय भयो ।

२०४६ को जनान्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि पनि पञ्चायत फर्किन्छ भनेर विश्वास गर्ने एउटा पंक्ति समाजमा कायमै थियो । त्यही विश्वासको आधार राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई धारहरू एकै दिन जन्मेका थिए । २०५१ को आमनिर्वाचनमा उनीहरूले राम्रै भोट ल्याएका थिए । करिब १८ प्रतिशत लोकप्रिय मत र २० हासिल गरेका थिए । त्यसपछि त्यो दल विस्तारै कमजोर भयो । अहिले ३ प्रतिशतको थ्रेसहोल्ड पनि काट्न नसक्ने अवस्थामा पुगेको छ ।

नेपालमा राजा फर्काउने अभियान अघिल्ला यी दुई दृष्टान्त राणा शासन फर्काउन अभियान वा पञ्चायत फर्काउने अभियानभन्दा खासै भिन्न प्रकृतिको छैन । समाजको एउटा सानो तप्काले यदाकदा यस्ता प्रदर्शन गर्ने गरेको छ । त्यो राजनीतिक मूलधारमा अन्यौल, अस्थिरता र अकर्मण्यता बढेको मौका छोपेर ।

अहिले फेरि एकपटक त्यस्तै अवस्था सृजना भएको छ । सत्तारुढ नेकपाको अन्तर्संघर्ष लोकलाजको सीमा नाघेर उदाङ्गो भएको छ । शासकीय अस्तव्यस्तता, बेथिति, कुशासन र भ्रष्टाचार चरम हुँदै गएको छ । यस्तो बेला पश्चगामी शक्तिले धमिलो पानीमा माछा मार्न खोज्नु अस्वभाविक हैन ।

नेपालमा राजतन्त्र लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रिया र पद्धतिहरू पुरा भएर औपचारिक बिदाई भएको थियो । २००७ सालमा राजतन्त्रलाई जनताले राणाको खोपीबाट निकालेका थिए । आफैं भागेर नयाँ दिल्लीको शरणमा पुगेको राजतन्त्रलाई फर्काएर ल्याएका थिए । जनताले निर्वाचित गरेको संविधानसभा र त्यसले बनाउने ‘गणतन्त्रात्मक संविधान’ बमोजिम राजतन्त्र हिंड्ने विश्वासमा राजा त्रिभुवनलाई जनताले स्वीकार गरेका थिए ।

पूर्व राजाको समर्थनमा बुधबार पोखरामा निकालिएको मोटर साइकल र्‍याली । तस्बिरः राधिका कँडेल/रासस

 

तर, त्रिभुवनले आफ्नै घोषणाविपरित संविधानसभाको निर्वाचन नगराएपछि राजतन्त्र र जनताका बीचमा प्रत्यक्ष शक्तिसंघर्षको नयाँ चरण शुरुवात भएको थियो । यो संघर्ष हतारमा छिनोफानो भएको थिएन । राजा महेन्द्रले संवैधानिक राजतन्त्रको मान्यताविपरित २०१७ सालमा निर्वाचित संसद भंग गरेका थिए र जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हालेका थिए । राजा महेन्द्रको यो निरंकुश कदमले राजतन्त्रप्रतिको घृणालाई जनस्तरमा विकास गरेको थियो । राजा र जनताबीचको संघर्ष झनै चर्काे र कठोर भएको थियो ।

२०४७ सालको संविधानको तहत जनताले राजालाई अर्को अवसर दिएका थिए । राजा वीरेन्द्रले त्यसपछिको अवधिमा संवैधानिक राजतन्त्रको सीमा नाघेनन्, तसर्थ उनी जनताबीच लोकप्रिय रहे । नारायणहिटी दरबार हत्याकाण्डपछि राजतन्त्र निर्णायक रुपमा बदनाम भयो । राजा ज्ञानेन्द्र शाह रोलक्रम अनुसारका वैधानिक राजा थिएनन्, अर्कोतिर उनले संवैधानिक राजतन्त्रको सीमा नाघेका थिए । त्यसको सजाय उनले भोग्नु नै थियो, तर उनका व्यक्तिगत कमजोरीहरूको कारण राजसंस्था कै अन्त्य भयो ।

राजतन्त्रको बिदाई जननिर्वाचित संविधानसभाले एकमतले प्रस्ताव पारित गरिगरेको थियो । यो इतिहास नेपालको निकट विगतको इतिहास हो र जनताले बिर्सेका छैनन् ।

लोकतन्त्रले सबैलाई आफ्ना विचार राख्ने अधिकार दिन्छ । राजतन्त्रमा लोकतन्त्रवादी हुन पाइदैन तर लोकतन्त्रमा राजतन्त्रवादी हुन पाइन्छ । आजका अधिकांश राजावादी राजनीतिज्ञ तथा समर्थक परिवारहरू हिजो पञ्चायती शासक थिए । उनीहरूले आफ्नो शासनकालमा विरोधी दल र विचारमाथि चर्को दमन र अत्याचार गरेका थिए । तर आज लोकतन्त्र छ । तिनै मानिसहरू आज ‘राजा आउ, देश बचाउ’ भन्ने जुलुस गर्दै हिडिरहेका छन्, उनीहरूलाई कसैले रोकेको छैन । रोक्न पनि मिल्दैन ।

देशका अधिकांश दलहरू आज पनि गणतन्त्रवादी छन् । गत निर्वाचनको तथ्यांकमा राप्रपा ५औं शक्तिको हो । राप्रपाका भन्दा धेरै भोट ल्याउने, नेकपा, नेका, जसपा, विवेकशील–साझा सबै गणतन्त्रवादी पार्टी हुन् । राप्रपापछिका संसदमा उपस्थिति भएका नेमकिपा, राष्ट्रिय जनमोर्चाजस्ता पार्टीहरू पनि गणतन्त्रवादी हुन् । राजावादीहरूले गर्ने ससाना टुक्रे प्रदर्शनकै कारण जनतमको यथार्थ आंकलन हुने हैन ।

लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुन्छ । तिक्तता र झगडा पनि हुन्छ यदाकदा । तर आधारभूत लोकतन्त्रको सीमा तिनीहरूले नाघ्न सक्दैनन । देशको आधारभूत मान्यता, अवधारणा र प्रणालीमा नै कुनै अनिश्चय र खलल उत्पत्न भए उनीहरू एकता हुन कति समय लाग्दैन । लोकतान्त्रिक पद्धतिको यो यथार्थलाई आत्मसात गर्दा नेपालमा गणतन्त्र संस्थागत र सुस्थिर भइसकेको छ । यहाँ हुने यावत राजनीतिक मतभेद र झगडाहरू लोकतन्त्रको सीमाभित्र हुने झगडाहरू हुन् ।

राजावादीहरूले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सकारात्मक विभेद, सामाजिक न्याय, धर्मनिरपेक्षताजस्ता यावत मान्यतामाथि श्रृंखलावद्ध वैचारिक हमला गर्ने प्रयत्न गरिरहेका छन् । यो कुरा सबैलाई राम्रो जानकारी छ । उनीहरू आधुनिक लोकतान्त्रिक राज्यका यावत मान्यताहरूविरुद्ध उभिने प्रयत्न गर्दैछन्, जो सार्वभौम नेपाली नागरिकले करिब ७ दशक लामो संघर्षबाट प्राप्त गरेका हुन् । यी सजिलै हल्लिने स्तम्भहरू हैनन् ।

राजावादी प्रदर्शनहरूको आकार र प्रभावलाई धेरै आँक्नु पर्ने स्थिति आइसकेको छैन । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने उनीहरूको लोकतान्त्रिक अधिकारको सम्मान गर्न भने सबै लोकतन्त्र तथा गणतन्त्रवादीहरूको कर्तव्य हो । यही गुणले लोकतन्त्रलाई राजतन्त्रभन्दा फरक बनाउने हो ।

तर, गणतन्त्रवादी राजनीतिक दलहरूमा देखिने अकर्मण्यता भने किञ्चित क्षम्य हैन । यतिका लामो संघर्ष र ठूलो बलिदानमार्फत् स्थापित भएको लोकतन्त्रलाई राजावादीहरूले समेत गिज्याउने अवस्था आउनु कुनै राम्रो लक्षण हैन ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । दलको विकल्प दल नै हुन्छ । लोकतन्त्रमा समस्या आए अझ राम्रो लोकतन्त्रका लागि संघर्ष हुनेछ । दलमा समस्या आए अझ राम्रो दल बनाउने प्रक्रिया चल्ने छ । शासकीय शैली, स्वरुप र प्रणालीमा समस्या आए नयाँ शासकीय स्वरुप, शैली र प्रणालीको खोजी हुने छ । यो यथार्थलाई आत्मसात गर्नुको साटो ‘राजा आउँ’ जस्तो व्यर्थको प्रयत्नमा आफ्नो समय, शक्ति र ऊर्जालाई खर्च गर्नु कसैका लागि पनि हितकर हुँदैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay