scheduleसोमवारमाघ १२ गते, २०७७

प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

कर्णाली, १२ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका–८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ ।

प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिईन् । यसअघि दैलेखकै प्राडा पुण्यप्रसाद रेग्मीलाई विसं २०७५ मङ्सिर ३ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद्को आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेसँगै उनले ९ गते पदबहाली गरेका थिए ।

तीन महिनाअघि उपाध्यक्ष प्राडा रेग्मीले राजीनामा दिएपछि उक्त उपाध्यक्षको पद रिक्त रहेको थियो । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका (साविक लाटीकोईली–९ सुर्खेत)का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए ।

त्यसैगरी सल्यानको कुमाख गाउँपालिकाको वडा सङ्ख्या र सिमाना तथा दैलेख भगवतीमाई गाउँपालिकाको वडा सङ्ख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय उक्त बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सुरक्षा मापदण्ड–२०७७, कर्णाली प्रदेश सुरक्षा रणनीति–२०७७ र शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीले बताए । उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बैठकमा कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको छ ।

२२ करोड ५७ लाख स्थानीय तहमा हस्तान्तरण गरिने

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समपूरक तथा विशेष अनुदानतर्फ रु २२ करोड ५७ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो । बैठकले समपूरक र विशेष अनुदानतर्फका आयोजनाको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष ०७६/०७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट जम्मा २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay