scheduleबिहिवारफाल्गुन २० गते, २०७७

एउटा कहिल्यै नलेखिने पुस्तकः अडानी आफ्टर गान्धी

रामचन्द्र गुहा

हालै म फाइनान्सियल टाइम्समा एउटा लेख पढ्दै थिएँ । त्यसमा सुक्ष्म व्यहोरासहित सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता एक गुजराती व्यापारीको सम्पत्तिमा विस्मयकारी वृद्धि भएको कथा थियो ।

यस लेखको एक परिच्छेद यस्तो थियो– जब मोदीले कार्यभार सम्हाले उनी गुजरातबाट राजधानी नयाँ दिल्ली अडानीको निजी विमानबाट गए । यो मित्रताको त्यस्तो खुल्ला प्रदर्शन थियो जसले सत्तामा समवर्ती उदयको प्रतीक मान्न सकिन्थ्यो । मोदी सत्तामा आएपछि अडानीको सम्पत्तिमा २३० प्रतिशतको वृद्धि भयो र २६ अर्ब डलर पुग्यो ।

मोदीसँग मेरो कहिल्यै भेट भएको छैन । तर, यो लेख पढ्दापढ्दै मलाई एक घटना याद आयो । यदि मैले चाहन्थेँ भने मेरो अडानीसँग भने भेट हुने थियो र मैले उनीसँग मिलेर काम गर्नुपर्ने हुन्थ्यो । सन् २०१३ को सेप्टेम्बरमा मेरो एक किताब प्रकाशित भएको थियो– गान्धी बिफोर इन्डिया ।

यो किताब गान्धीको काठियावाढ मौजाको जीवन, साम्राज्यवादी लण्डनमा उनको शिक्षा, एक वकिल र कार्यकर्ताका रुपमा दक्षिण अफ्रिकामा उनको करिअर केन्द्रित थियो । त्यही वर्ष डिसेम्बरमा भएको मुम्बईको एक साहित्य उत्सवमा मैले आफ्नो नयाँ किताबबारे चर्चा गरेको थिएँ ।

मेरो वार्ता समाप्त भएपछि एक युवक मसँग भेट्न आए । उनले आफ्नो परिचय एक आकांक्षी लेखकका रुपमा दिए । उनी भन्दै थिए कि उनी केही महत्वपूर्ण कुरा गर्न चाहन्छन् तर तुरुन्तै बङ्गलुरु जान एयरपोर्ट हिंड्न हतार भइरहेको थियो । मैले ती युवकलाई आफ्नो इमेल दिएँ ताकी उनी के कुरा गर्न चाहन्छन्, इमेलमार्फत् मलाई लेख्न सकून् ।

रामचन्द्र गुहा

केही दिनपछि ती युवकले मेल गरे । उनले भने कि उनी एक कन्सल्टेन्सी फर्मसँग जोडिएका छन् । त्यो फर्ममा अहिले गौतम अडानीको जीवनीमाथि काम गर्ने कुरा भइरहेको छ । एक स्थापित साहित्यिक अभिकर्ताका अनुसार त्यस्तो जीवनीमाथि धेरै प्रकाशकहरूको रुचि छ । कन्सल्टेन्सी र अडानी समूह उच्च गुणस्तरको काम गर्न इच्छुक छ ।

त्यसका लागि हामीलाई मेन्टर र सल्लाहकारको भूमिकामा एक योग्य व्यक्तिको तलास छ । उनले अगाडि यो भनेका थिए कि त्यो मेन्टर र सल्लाहकारको भूमिका म गरूँ । त्यसका लागि उनले मसँग फर्म र अडानीको एक बैठक प्रस्तावित गरेका थिए ।

महात्मा गान्धीमाथि शोध गर्न म बारम्बार गुजरात गइरहन्छु । तसर्थ गौतम अडानीबारे मलाई केही जानकारी त थियो । मलाई साथीहरूले यो बताएका थिए कि गुजरात सरकारले तटीय इलाका परियोजनाबारे अडानी योजनालाई मन्जुरी दिएको थियो । त्यो परियोजनाको कारण माझीहरूको ठूलो संख्या विस्थापित हुनु परेको र सदाबहार वनको एउटा हिस्सामाथि नोक्सानी पुगेको थियो ।

सन् २०१३ को डिसेम्बरमा यो प्रष्ट हुँदै थियो कि मोदी भारतको भावी प्रधानमन्त्री हुँदैछन् । मोदी प्रधानमन्त्री हुने बित्तिकै गौतम अडानीको महत्व बढ्ने प्रष्टै थियो । अडानी झनै महत्वपूर्ण हुनेछन् भनेर बुझेका उनका सल्लाहकारहरूले यो महात्मा गान्धीको जीवनी लेखकलाई अडानीको जीवनी लेखक वा छद्म लेखक बनाउन चाहेका थिए ।

गौतम अडानीको जीवनी लेखनजस्तो रुचिहिन प्रस्ताव मेरा लागि नयाँ थिएन । गान्धीको जीवनी लेख्नु भन्दा धेरै वर्ष अघि मैले ब्रिटेनमा मानव वैज्ञानिक वेरियर एल्विनको जीवनी लेखेको थिएँ । एल्विन भारतीय आदिवासीबारे आधिकारिक जानकार थिए । सन् १९९९ मा त्यो जीवनीको किताब ‘सेवेजिङ द सिभिलाइज्ड’ अक्सफोर्डं युनिभर्सिटी प्रेसबाट खुबै प्रसंशित भएको थियो । यसको बिक्री पनि राम्रै भएको थियो ।

यो किताब छापिएको एकदुई महिनापछि नयाँ दिल्लीका एक सम्मानित लाइब्रेरियनले मलाई फोन गरेका थिए, जसलार्इं म अलिअलि चिन्थेँ । उनले मलाई यो सोधेका थिए कि प्रधानमन्त्री अटलबिहारी बाजपेयीको जीवनी लेख्न मलाई कुनै रुचि छ ?

बाजपेयी परिवारले ती लाइब्रेरियनसँग केही नाम मागेका थिए, त्यो सूचीमा उनले मेरो नाम पनि समावेश गरिदिएका थिए । मैले एल्विनको जीवनी लेखेको चर्चाबाट उनी प्रभावित थिए । उनी मलाई यो बुझाउन खोज्दै थिए कि प्रधानमन्त्रीको जीवनी लेखे सरकारी कार्यालयले कयौं प्रति खरिद गर्दिन्छन् । यसको हिन्दी अनुवाद आरएसएसका शाखाहरूले कयौंप्रति बेच्न सक्दछ । यसकारण मलाई राम्रै वित्तिय लाभ हुनेछ ।
तर म राजी भइनँ । कुनै अनुबन्धित जीवनी लेखकले सत्तामा बसेको कुनै राजनेताबारे स्वतन्त्र तथा निष्पष्क्ष जीवनी लेख्न सक्दछ जस्तो मलाई लागेन । त्यसका अतिरिक्त बाजपेयी आफैंमा एक प्रबुद्ध व्यक्ति थिए । उनको व्यक्तित्वमा आफ्नै प्रकारको आकर्षण थियो । तर, म उनको पार्टी भाजपालाई मन पराउँदिनँ । भाजपाको बहुसंख्यक तथा बर्चश्ववादी हिन्दुत्व गान्धीको समावेशी र बहुलतावादी हिन्दुत्वभन्दा ठीक उल्टो छ भन्ने मलाई थाहा थियो ।

बाजपेयीजीको जीवनी लेख्न मेरा लागि अनुबन्धित जीवनी लेखनको पहिलो प्रस्ताव थियो । सन् २००२ मा मेरो एक क्रिकेटबारेको किताब छापियो, एक खेलिरहेका र अर्का भर्खरै रिटायर्ड दुई क्रिकेटरले मलाई सोधेका थिए कि के म उनीहरूको जीवनी लेख्न मद्दत गर्न सक्दछु ?

सन् २००७ मा मेरो स्वतन्त्र भारतको इतिहासबारे किताब आयो । त्यतिखेरै एक कांग्रेस नेताका सुपुत्रले मसँग आफ्ना पिताको जीवनी लेखनमा मद्दत मागेका थिए । अर्का एक सक्रिय कांग्रेस नेता चाहन्थे कि म उनीमाथि किताब लेखूँ ।

त्यसैगरी भारतका एक अन्त्यन्त प्रतिष्ठित वैज्ञानिकका सहयोगीले मलाई ती जीवित नायकको ८० औं जन्मदिनको अवसरमा एक जीवनी लेख्न भनेका थिए । अर्का एक प्रसिद्ध अर्थशास्त्रीको र भर्खरै दिवंगत भएका एक आचार्यबारे जीवनी लेख्न समेत मलाई उनीहरूको परिवारबाट अनुरोध आएको थियो ।

अरु पनि थुप्रै शक्तिशाली तथा प्रसिद्ध भारतीयहरूको जीवनी लेख्न मलाई अनपेक्षित प्रस्ताव आउने गरेका छन् । मैले यस्ता कुनै पनि प्रस्ताव स्वीकार गरेको छैन । म अनुबन्धित जीवनी लेखक हुन सक्ने मानिस हैन । म आफ्नै लेखन परियोजनमा सधैं व्यस्त हुन्छु ।

कोही क्रिकेटरको असन्तुष्टिसँग मलाई कुनै सरोकार थिएन । न त शक्तिशाली राजनीतिज्ञ, प्रतिष्ठित वैज्ञानिकका बौद्धिक उपलब्धिहरूबारे लेख्न म आफूलाई सक्षम नै ठान्दछु । अनुबन्धित तथा अधिकृत जीवनी लेखनको म विरोधी हुँ । म त्यस्तो व्यक्तिको जीवनी लेख्न मन पराउँछु, जो भित्रैदेखि मलाई मन परेको होस् । त्यो व्यक्तिप्रति मेरो पनि रुचि होस् । त त्यस्तो जीवनी लेख्दै हिंड्न सक्दिन ताकी कुनै धनी मानिसले मलाई लेख्न भन्यो ।

मैले वेरियर एल्विनमाथि किताब लेखेँ किनकी उनले मेरो जिन्दगी बद्लिदिए । अर्थशास्त्रको एक अन्यमनस्क छात्रको रुपमा मैले उनका कामको सामना गरेको थिए । एल्विनले लेखेको पढेर म समाजशास्त्र र सामाजिक इतिहासको लेखनतिर प्रेरित भए । मैले गान्धीबारे लेखेँ, किनकी विद्यार्थी जीवनदेखि नै मलाई उनको जीवन र विरासतबारे रुचि थियो ।

जब पछि म इतिहासकारका रुपमा काम गर्न थालेँ, मैले दुनियाँका विभिन्न सङ्ग्राहलयहरूमा गान्धी सम्बन्धी दुर्लभ सामग्रीहरू भेटेँ, जसले मलाई उनको दुई भागमा जीवनी लेख्न प्रेरित गरे ।
सन् २०१३ को डिसेम्बरमा जब मलाई इनबक्समा गौतम अडानीको जीवनी लेख्ने प्रस्ताव आयो, त्यतिन्जेल म यस्ता प्रस्ताव अस्वीकार गर्न अनुभवी भइसकेको थिए । मैले त्यो युवकलाई जवाफ दिएँ कि उसको कन्सल्टेसी फर्मका लागि मेन्टर वा सल्लाहकारको काम गर्न मबाट सम्भव छैन । किनकी म गान्धीको जीवनीको दोस्रो खण्ड लेख्न व्यस्त छु ।

अडानीको जीवनी लेखन प्रस्तावको चिठ्ठी मैले केही साथीहरूलाई देखाएको थिएँ । मैले यो पनि भनेको थिएँ कि यदि यो प्रस्ताव स्वीकार गर्ने हो भने यसको शीर्षक ‘अ बायोग्रासर्फ जर्नी फ्रम गान्धी टु अडानी’ हुने रहेछ ।

मेरा एक साथीले भने यो नलेखिएको किताबको अझ गज्जबको शीर्षक सुझाएका थिए– अडानी आफ्टर गान्धी ।

-अमर उजालाबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay