scheduleबिहिवारमाघ ८ गते, २०७७

ओली समूहको चतुर्‍याईः अरुलाई छुँदै नछुने, प्रचण्डलाई छाड्दै नछाड्ने

प्रतिभा पराजुली/साझापोस्ट टिप्पणी

काठमाडौं, १४ मंसिर । ‘…तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ? सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुःखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनर्स्थापनाको लागि सचिवालयमा विषय एजेण्डा बनाउनु भएको छ ?’

यी हरफहरु नेकपाका अध्यक्षद्वयको दोहोरी दस्ताबेजबाट लिइएको हो । यस्तो लाग्छ कि दस्तावेजका यी हरफहरु पढ्दा जनयुद्ध र यसमा सहभागी सहिद परिवार, बेपत्ता परिवार र घाइते अपाङ्गता भएकाहरु देख्दा प्रधानमन्त्री केपी शर्मा ओलीको मन भत्भती पोलिरहेको छ । उनले छिट्टै राहतका कार्यक्रम ल्याउँदैछन् । इतिहासमा गरेको योगदानका लागि भारी सम्मान गर्दैछन् ।

त्यसो त, दस्तावेजमा यस्ता हरफहरु लेख्ने ओली उनै व्यक्ति हुन् जसले माओवादीलाई गुरिल्ला र अपराधीको दर्जा दिँदै आए । सक्दो अपमान गर्दै आए । राहत र पुनर्स्थापनाको प्याकेजमा सधैं भाँजो हाल्दै आए ।

त्यसो त अर्का अध्यक्ष प्रचण्डमाथि पनि लडाकु शिविरमा भ्रष्टाचार गरेको, सत्ता स्वार्थमा लिप्त भएर युद्धमा रगत र पसिना बगाउनेहरुलाई बेवास्ता गर्दै आएको, आफू राजसी जीवन बाँच्दै लडाकुहरु भोकै मर्ने अवस्थामा पुर्‍याएको जस्ता आरोपहरु लाग्दै आएका छन् ।

तर यहाँनेर प्रम ओलीले जनयुद्ध र यसमा सहभागीहरुप्रति आफ्नो सोच बदलेर हृदय पगाल्दै भावुक भएर यी हरफहरु लेखेका भने होइनन् । उनको उद्देश्य प्रचण्डलाई आफ्नो विरासतबाट अलगथलग गराउनु रहेको देखिन्छ ।

अध्यक्ष प्रचण्डको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको जवाफमा ३८ पृष्ठ लामो प्रतिवेदन अगाडि सारेका ओलीको दस्तावेजमा यस्ता धेरै हरफहरु छन् जसले प्रचण्डलाई पूर्वमाओवादीबाट पनि अलग्याउने रणनीति लिएको देखिन्छ ।

दस्तावेजमा प्रचण्डले अहिलेसम्म गरेका गल्तीहरुलाई संवेदनशील बनाउँदै प्रस्तुत गरिएको छ । ३८ पृष्ठ लामो दस्तावेज पढिसकेपछि निष्कर्ष सुनाउन सकिन्छ- दस्तावेजमा प्रचण्डलाई छाड्दै नछाड्ने, सकेजति हमला गर्ने तर पूर्वमाओवादीलाई छुँदै नछुने, जनयुद्धलाई छुँदै नछुने बरु सहानुभूति लिने उद्देश्य राखेको बुझ्न सकिन्छ ।

दस्तावेजमा प्रचण्डसँग काँधमा काँध मिलाएर ओलीविरुद्ध लडिरहेका पूर्वएमाले समूहका नेताहरुलाई पनि कहिँकतै छोइएको छैन । बरु यसअघि प्रचण्डले माधव नेपाल र एमालेलाई कसरी र कहाँ कहाँ धोका दिएका थिए, प्रहार गरेका थिए भन्ने कुरा खोतलिएको छ । यसको सन्देश हो- ओली समूहले प्रचण्डलाई जनयुद्ध, पूर्वमाओवादी समूह र पूर्वएमालेका नेपाल-खनाल-गौतम समूहबाट अलग्याएर आक्रमण गर्ने रणनीति अगाडि सारेको छ ।

दस्तावेजको ३८ पेजमा सकेसम्म र सम्भव भएसम्म प्रचण्ड बाहेक अरु कसैलाई पनि आक्रमण गरिएको छैन । यसरी ओली समूहले प्रचण्डविरुद्ध ‘एक्ल्याऊ र आक्रमण गर’को रणनीति लिएको देखिन्छ ।

दस्तावेजको पृष्ठ ५ मा लेखिएको छ- ‘तर निर्वाचन– सफलताको उन्मादमा तपाईंले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो । उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला । कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ?’

यहाँ चलाखीपूर्वक नेपाली कांग्रेस र माधव नेपाल हुँदै एमाले पङ्कतिको सहानुभूति लिन खोजिएको छ । जबकि यी सबै घटनाहरु भइसकेपछि ओली प्रचण्डसँग एकता गर्न तयार भएका हुन् । दस्तावेजमा धेरै प्रसङ्गहरु एकताअघिका छन् ।

एकअर्कालाई खुइल्याउनेक्रममा अध्यक्षद्वयले चिहानबाट समेत तथ्यहरु खोतल्ने प्रयास गरेका छन् । नेकपानिकट पत्रकार राजेश राई लेख्छन्, ‘कमरेडहरु, पार्टी दुईवटा भै गयो भने त खै के होला, जे होला । तर एउटै रह्यो भने याद गर्नुहोस्, विपक्षीहरुले मतदाताको लागि नयाँ गीतको रचना गर्नु नै परेन । तपाईहरुद्धारा प्रस्तुत यही गीत घन्काइदिए पुग्ने भयो । होइन र ? इतिहासमा यस्तो घाउ थप्नुभयो, फुट्दा नी दुख्ने, जुट्दा झनै दुखिरहने ।’ अवस्था यस्तै देखिन्छ ।

तत्कालीन माओवादीभित्रको पालुङटार प्लेनमपछिका दृश्यहरुलाई पनि ओलीले सम्झाएका छन् । दस्तावेजमा प्रचण्ड संविधानभन्दा जनविद्रोहको पक्षधर भएको उनले संकेत गरेका छन् । पालुङटार प्लेनममा प्रचण्ड र मोहन वैद्यले जनविद्रोहको नीति लिएका थिए भने डा. भट्टराईले शान्ति र संविधानको लाइन लिएका थिए । पहिलो संविधानसभाबाट संविधान नबन्नुका पछाडि प्रचण्डको यही गल्तीले काम गरेको चर्चा हुने गरेको छ । ओलीको दस्तावेजमा लेखिएको छ- ‘संविधान निर्माण र यसप्रतिको तपाईंको ‘निष्ठा’ तपाईंले दाबी गरे जस्तो ‘निष्ठा’ होइन, परिवर्तित शक्ति सन्तुलनले निर्माण गरेको वाध्यात्मक परिस्थितिको उपज थियो ।’

दस्तावेजमा ओलीले यसअघि प्रचण्डले डा.बाबुराम भट्टराईलाई संविधानसभा भंग गरेको भन्दै लगाउने गरेको आरोप झुटो भएको खुलासा गरेका छन् । ‘संविधानसभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपाईंले कसरी लत्याउनु भयो र मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पुर्‍याउनु भयो, इतिहासले यति सजिलै भुल्ने छैन । तैपनि, राजनीतिक दलहरुले सुझबुझका साथसंविधानसभाको दोस्रो निर्वाचन गराए ।’

प्रचण्डले आफ्नै पार्टीका डा. भट्टराईलाई हटाएर संविधानसभा भंग गर्न लगाउँदै खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पिएका थिए । तर डा. भट्टराईलाई संविधानसभा भंग गरेको आरोप लाग्दै आएको छ । यहाँनेर ओलीले जनता समाजवादी पार्टीको पनि सहानुभूति बटुल्न खोजेका छन् र प्रचण्डलाई सबैतिरबाट एक्ल्याउन चाहेका छन् ।

ओलीले दस्तावेजमा कुनै बेला प्रचण्ड गठबन्धनले ‘एमालेविहिन मुलुक’ बनाउने अभियानमा रहेको उल्लेख गर्दै पूर्वएमालेहरुको सहानुभूति लिने प्रयास गरेका छन् ।

अध्यक्ष ओलीले दस्तावेजमा शान्ति प्रक्रियाको बाँकी काम प्रचण्डले नै रोकेको आरोप लगाउँदै पूर्वमाओवादीको सहानुभूति लिन खोजेका छन् ।

ओलीले पूर्वमाओवादीहरुलाई इतिहासको याद दिलाउँदै प्रचण्डको चरित्र कस्तो थियो भन्ने चित्रण दस्तावेजमा गर्न खोजेका छन् । दस्तावेजमा भनिएको छ- ‘तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्नु भए हुन्थ्यो । जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुःखद मृत्यु समेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अंकमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो ।’

ओलीले दस्तावेजमा सिके राउतको प्रसंशा गर्दै मधेसी युवाको सहानुभूति लिन खोजेका छन् भने विप्लवको नेतृत्वको पार्टीप्रति भने सैद्धान्तिक हमला गरेका छन् ।

दस्तावेजमा प्रचण्डलाई ओलीको प्रश्न छ, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?’

दस्तावेजमा ओलीले प्रचण्डलाई गतिशील होइन, अस्थिर र अवसरवादी नेताको रुपमा चित्रण गर्दै त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्‍याएको आरोप लगाएका छन् ।

दस्तावेजमा लेखिएको छ, ‘तपाईंले आफ्नो अस्थिरतालाई आफ्नो गतिशीलताका रुपमा आत्मप्रशंसा गर्ने गर्नुभएको छ । गतिशीलता र अस्थिरताका बीचमा रहेको भिन्नता बुझ्नु भएको छैन भने एकचोटी घोत्लिन म आग्रह गर्छु । गतिशीलता लक्ष्यमा निर्निमेष हेरेर अविचलित रुपमा अगाडि बढ्ने प्रक्रियाको नाम हो भने अस्थिरता जहाँ ढुंगा खस्यो त्यहीँ निशाना भने जस्तो अवसरवादी तरिका हो । म चाहन्छु, तपाईँ गतिशीलताका नाममा अस्थिरताको संवाहक नबन्नुस् । कुनै बेला स्वयं प्रधानमन्त्री हुँदा ‘म प्रधानमन्त्री हुँ कि विद्रोही नेता हुँ, अलमलमा छु’ भनेर अभिव्यक्ति दिनु हुन्थ्यो । त्यो अलमलले तपाईँलाई र खुद नेपालको कम्युनिष्ट आन्दोलनलाई कति क्षति पुर्‍यायो, समिक्षा गर्नुभएकै
होला ।’

समग्रमा, नेकपाभित्र ओली समूहले प्रचण्डलाई सबै राजनीतिक शक्तिबाट अलग्याएर आक्रमण गर्ने नीति लिएको देखिन्छ । यसअघि ओलीलाई कार्यनीतिकरुपमा माओवादीसँग एकता गरेको आरोप लाग्दै आएको छ । उनीमाथि कुटिलतापूर्वक माओवादीलाई निलेको आरोप लगाउने गरिन्छ ।

एक पूर्वमाओवादी नेता भन्छन्, ‘माओवादी आन्दोलनबाट निर्माण भएका व्यक्तित्व, गौरव र उपलब्धि पनि समाप्त भयो, त्यो आन्दोलनले आर्जन गरेको शक्ति पनि कब्जा भयो । ओली राजनीतिको यो कुटिलतालाई कमरेड प्रचण्डले बुझेनन् । ओली सफल भए ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay