ट्रम्पलाई अर्को धक्का, धाँधली भएको भन्दै दायर अर्को मुद्दा पनि खारेज
काठमाडौं, १४ मंसिर अमेरिकामा राष्ट्रपति निर्वाचनको क्रममा हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध दायर गरिएको मुद्दा खारेज गरिएको छ ।
डोनाल्ड ट्रम्प अभियानको तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको हो । त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको बताइएको छ ।
राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ गयराति यस्तो फैसला गरेका हुन् । पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन ७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो । तर, यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र ऐनलाई चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् ।