scheduleबिहिवारमाघ ८ गते, २०७७

एङ्गेल्सको पुनरागमन

जोहन बेलामी फोष्टर

कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सको राजनीतिक तथा बौद्धिक साझेदारीसँग तुलनीय दृष्टान्त संसारमा बिरलै होलान् । उनीहरूले सन् १८४८ को प्रसिद्ध कम्युनिष्ट घोषणापत्रमा सहलेखन मात्र गरेनन्, त्यस वर्षका क्रान्तिकारी सामाजिक आन्दोलनहरूमा सँगै भाग मात्र लिएनन्, त्यसअघिको सन् १८४५ को द होली फेमेली र सन् १८४६ को जर्मन आइडोलोजीका लागि सँगै काम गरे ।

सन् १९७१ को अन्त्यतिरदेखि यी दुई वैज्ञानिक समाजवादीहरू निकटतामा रहे । एकअर्कासँग दैनिक सँगै रहन सके । त्यो समय उनीहरूको अध्ययनमा तीव्र उतरचढाव थियो । कोठामा दुई किनारामा उनीहरू अध्ययन गर्थे, भुईँभरि किताब र पत्रपत्रिका असरल्ल छरिएका हुन्थे । त्यस्तै भुईमा जुत्ता घिसार्दै उनीहरू घुमीघुमी आफ्ना विभिन्न विचार, योजना र परियोजनाबारे छलफल गर्दथे ।

उनीहरू आफूले लेखी सिध्याएका परिच्छेदहरू बारम्बार एकअर्कालाई पढेर सुनाउँथे । एङ्गेल्सले ड्युहरिङ मत–खण्डन जसको एक अध्याय मार्क्सले लेखेका थिए, प्रकाशनअघि पुरै किताब आफैंले पढेर मार्क्सलाई सुनाएका थिए । मार्क्सले एङ्गेल्सको समाजवादः युटोपियन र वैज्ञानिकको परिचय लेखे ।

सन् १८८३ मा मार्क्सको मृत्युपछि उनका अनन्य मित्र मार्क्सले छोडेर गएका मस्यौदाहरूको सम्पादन गरी पुँजीको दोस्रो र तेस्रो खण्ड प्रकाशन योग्य बनाए । यद्यपि एङ्गेल्स यो स्वीकार गर्थे कि उनी मार्क्सको छायामा खडा छन् यथार्थमा उनी आफैं ठूला बौद्धिक तथा राजनीतिक दिग्गज थिए ।

त्यति हुँदाहुँदै पनि दशकौंदेखि केही प्राज्ञिकहरू यो भन्दै आएका छन् कि एङ्गेल्सले मार्क्सका रचनाहरूलाई कमजोर भनाए, बिगारे । जस्तो कि सन् २००२ मा राजनीतिक वैज्ञानिक जोहन ए, स्टेनलीले मार्क्सको मृत्युउपरान्तको समयलाई अध्ययन गर्दै मार्क्स र एङ्गेल्सलाई फरक व्यक्तित्व र फरक सोच भएका चिन्तकको रुपमा देखाउन खोजेका थिए । एङ्गेल्सलाई मार्क्सबाट, मार्क्सवादी विचार र आन्दोलनबाट अलग्याउने प्रयास उचित हैनन् । एङ्गेल्स जो आफैंमा मार्क्सवादका स्रोत थिए, उनै मार्क्सवादी थिएनन् भन्न मिल्दैन ।

जोहन बेलामी फोष्टर

लगभग ४२ वर्ष अघि, सन् १९७४ को डिसेम्बर १२ मा वासिङटनको सदावहार ओलम्पिया कलेजमा भएको डेविड म्याकलेलनको ‘कार्ल मार्क्सः प्रसिद्धीको उतरचढाव’ प्रवचन कार्यक्रममा सामेल भएको थिए । अघिल्लो वर्ष म्याकलेलनको कार्ल मार्क्स उनको जीवन र विचार प्रकाशित भएको थियो, जुन मैले मिहिन अध्ययन गरेको थिए ।

तर, त्यो दिन म्याकलेलनको भनाई निक्कै छुद्र थियो । उनी यो भन्दै थिए कि एङ्गेल्स मार्क्स हैनन् । मार्क्सका विचारलाई बुझ्न मार्क्सबारे मौलिक अध्ययन हुनु पर्दछ । आधिकारिक मार्क्सको खोजी गर्न गहुँलाई एङ्गेल्सको चक्कीबाट बाहिर निकाल्न पर्दछ । म्याकलेलनको तर्क थियो कि एङ्गेल्सले मार्क्सवादमा ‘पोजिटिभिज्म’ छिराए, जुन दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय हुँदै स्टालिनवादमा पुग्यो । त्यसको केही वर्षपछि प्रकाशित म्याकलेननले लेखेको एङ्गेल्सको छोटो जीवनीमा पनि ती आलोचनाहरू समावेश गरिएका थिए ।

त्यो मेरो जीवनको एङ्गेल्सविरोधी दृष्टिकोणसँग पहिलो परिचय थियो, जसलाई पश्चिमा प्राज्ञिक वामपन्थको विशेषता मानिन्छ । यी दृष्टिकोण प्रकारान्तले ‘पश्चिमा मार्क्सवाद’ को एक फरक दार्शनिक परम्परासँग जोडिन्छ । यसलाई यदाकदा औपचारिक मार्क्सवाद वा सोभियत मार्क्सवादको विपरित भन्ने गरिन्छ । यस दृष्टिकोणको मुख्य चिन्तन एङ्गेल्सको ‘प्रकृतिको द्वन्द्वात्मकता’ लाई अस्वीकार गर्नु हो, जस्तो कि जर्ज लुकाजले यसलाई ‘केवल वस्तुवादी द्वन्द्वात्मकता’ भनेका थिए ।

अधिकांश पश्चिमा मार्क्सवादीहरूका लागि द्वन्द्वात्मकताको अर्थ वस्तु–चेतन सम्बन्धले अभिन्न हुन्छ । त्यसको सार संसारलाई हामी त्यति मात्र बुझ्न सक्दछौं, जति हामीद्वारा निर्मित तथा विस्तारित छ भन्ने हो । यसप्रकारको दृष्टिकोणले ‘पोजिटिभिज्म’ लाई अस्वीकृत गदर्छ, जुन सोभियत विचारधारामा आधिकारिक थियो । साथसाथै मार्क्सवादमा अरु थुप्रै कुरा समेत संक्रमित गराउँदछ ।

यस्तो सोचले मार्क्सवादलाई विस्तारै आदर्शवादतिर प्रेरित गर्दछ । ऐतिहासिक भौतिकवादको लामो परम्परालाई छोड्ने प्रयत्न गर्दछ । भौतिकवादलाई मानविकी र समाजिक विज्ञानबाट टुटाएर एक तटस्थ प्राकृतिक दर्शनका रुपमा स्थापित गर्दछ ।

एङ्गेल्सलाई मार्क्सबाट अलग गर्ने प्रयत्न अचेल पश्चिमा वामपन्थी प्राज्ञिकहरूबीच एकप्रकारको लोकप्रिय पराक्रम बन्दैछ । जस्तो कि राजनीतिक सिद्धान्तकार टेरेल कार्वरले सन् १९८४ मा ‘मार्क्सले आफूलाई मार्क्सवादी भन्न अस्वीकार गरेका थिए’ मा लेखेका छन् । कार्वरको दृष्टिकोणमा एङ्गेल्सले मार्क्सका विचारलाई दोहोर्‍याउँथे मात्र, एङ्गेल्सको भिन्नै कुनै विचार थिएन । यस दृष्टिकोणबाट त एङ्गेल्स नै संसारको पहिलो मार्क्सवादी थिए भन्नु पर्ने हुन्छ ।

फेरि कार्वर यो भन्छन् कि एङ्गेल्सले मार्क्सवादको अन्वेषण गर्ने ‘सप्त पाप’ मात्र गरेका छैनन्, उनले वस्तुवाद, अर्ध–हिगेलवाद, प्रत्यक्षतावाद, द्वन्द्वात्मकतावादजस्ता अरु थुप्रै चिजहरू प्रवर्द्धन गरेका छन् जो मार्क्सको मौलिक चिन्तनभन्दा कोशौं टाढा थिए ।

एङ्गेल्सले मार्क्सको विचारलाई एक ‘मेथोडोलजी’ मा बदलिदिए भन्ने धारणा सही हैन । एङ्गेल्सलाई मार्क्सवादबाट अलग गरेर कार्वर मार्क्स एक ‘उदार चिन्तक’ थिए भन्ने पुष्टि गर्न चाहन्छन्, यस्तो दृष्टिकोणले मार्क्सलाई एक यथास्थितिवादी चिन्तकको रुपमा स्वीकार्य बनाउँछ तर त्यसको क्रान्तिकारी सारतत्वलाई भने जीवित रहन दिँदैन ।

एङ्गेल्समाथिका अधिकांश आलोचनाहरू ड्युहरिङ मत–खण्डनमा हावी वैज्ञानिकतावाद र अधुरो पुस्तक प्रकृतिको द्वन्द्वात्मकतामाथि केन्द्रित हुने गर्दछन् । म्याकलेलनले एङ्गेल्सको जीवनी लेख्दा त्यही भनेका छन् कि प्रकृतिको वस्तुगततामाथि एङ्गेल्सको रुचिले उनलाई इतिहास हैन, प्राकृतिक दर्शनतिर प्रवृत बनाउँछ । म्याकलेलनको आरोप छ कि एङ्गेल्सको यस्तो रुचिले मार्क्सवादमा ‘वस्तुवादको अवधारणा’ लाई भित्र्याउँछ, जुन मार्क्सवादका लागि विल्कुलै अपरिचित थियो ।

एङ्गेल्सको मुख्य गल्ती नै यही मानियो कि उनले ‘चेतनको द्वन्द्वात्मकता’ लाई छोडे र ‘वस्तुको द्वन्द्वात्मकता’ लाई मात्र समाते जसले बिस्तारै मार्क्सवादलाई ‘वैज्ञानिक विश्वदृष्टिकोण’ तिर लगिदियो ।

म्याकलेलनको भनाईमा यस्तो हुनु कुनै आश्चर्य थिएन । सोभियत शासनलाई सुदृढ गर्न एङ्गेल्सको दार्शनिक अश्लिलतालाई प्रवर्द्धन गर्नु सोभियतकालीन पाठ्यपुस्तकहरूको मुख्य दार्शनिक सामग्री बन्थ्यो । यसरी पश्चिमा मार्क्सवादीहरूले मार्क्सलाई एक शुद्ध बौद्धिक र एङ्गेल्सलाई एक छुद्र प्रचारकका रुपमा चित्रण गर्न थाले ।
तर, एङ्गेल्सका शुभचिन्तकहरू अझै समाप्त भइसकेका थिएनन् । समकालीन मार्क्सवादी सिद्धान्तमा एङ्गेल्सका लागि एक आकर्षक भाग्यरेखा इतिहासकार इपी थोमसनले सन् १९८७ मा सिद्धान्तको दरिद्रतामार्फत् कोरे, जो लुईस अल्थसरको संरचनात्मक मार्क्सवादको सिधै विरोधी थियो । थोमसनले ऐतिहासिक भौतिकवादलाई ऐतिहासिक वस्तुतता तथा अनुभविकताबाट सम्न्धविच्छेद गरेको कुनै अमूर्त र सम्मोहनपूर्ण सिद्धान्त हैन भन्दै प्रतिरक्षा गरे ।

थोमसनले यसलाई एक अनुभविक द्वन्द्वात्मकताको मामिला सिद्ध गरे । यस प्रयोजनका लागि उनले एङ्गेल्सको अत्याधिक प्रसंशा र उपयोग गरे । त्यसको केही वर्षपछि मार्क्सवादी अर्थशास्त्री पौल स्वाजीले ‘मार्क्सवादमाथि चार प्रवचन’ मार्फत् एङ्गेल्सको द्वन्द्ववादी दृष्टिकोणको महत्व र उनको यान्त्रिकतावाद र निगनात्मक दृष्टिप्रतिको आलोचनाको महत्वलाई बलियो गरी पुनर्स्थापित गरे ।

तर एङ्गेल्सको ख्याति र महत्वलाई शास्त्रीय मार्क्सवादी सिद्धान्तकार, इतिहासकार र अर्थशास्त्रीभन्दा बढी प्रकृति वैज्ञानिकहरूले पुनर्स्थापित गरे । सन् १९७५ मा स्टेफेन जोय ग्लाउडले ‘प्राकृतिक इतिहास’ लेखे, जसले एङ्गेल्सको मानव विकासक्रम सिद्धान्तलाई खुल्ला पक्षपोषण गर्दथ्यो ।

केही वर्षपछि सन् १९८३ मा ग्लाउडको आफ्नो दृष्टिकोणलाई न्यूयोर्क रिभ्यु अफ बुक्समा विस्तारित गर्दै भने कि मानव विकासक्रम सिद्धान्तको सार यथार्थमा ‘अनुवंश–संस्कृति सहविकास’ (जिन–कल्चर को-इभोलुसन) हो । यसको केन्द्रमा श्रम हुन्छ । यो निष्कर्ष एङ्गेल्सको सन् १८७६ को ‘प्रकृतिको द्वन्द्वात्मकता’ को एक वाक्य ‘नरबानरबाट मानिस हुनुको संक्रमणमा मुख्य भूमिका श्रमको हुन्छ’ थियो ।

त्यही वर्ष मेडिकल समाजशास्त्री हवार्ड विट्किजनले आफ्नो कृति ‘द सेकेन्ड सिकनेस’ मा एङ्गेल्सलाई एक सामाजिक महारोगविशेषज्ञका रुपमा चित्रण गर्दै यो लेखे की सन् १८४४ मा २४ वर्षका एङ्गेल्सले कसरी ‘इङ्गल्याण्डमा श्रमिक वर्गको अवस्था’ महामारीका सामाजिक कारणलाई खोतले र जनस्वास्थ्य दृष्टिकोणका क्षेत्रमा एक महत्वपूर्ण खोज गरे । त्यसको दुई वर्षपछि सन् १९८५ मा रिचार्ड लियोन्टिन र लेभी ‘द्वन्द्वात्मक बायोलोजिष्ट’ का रुपमा उदाए जसले एङ्गेल्सलाई ‘बारम्बार गलत भनिएको सही मान्छे’ का रुपमा वर्णन गरे ।
सन् १९८० मा मार्क्सवादभित्र पारिस्थितिक–समाजवाद (इकोसोसियोलिज्म) को जन्म भयो । यसको पहिलो चरणमा टेड बेन्टनले मार्क्स र एङ्गेल्सको आलोचना गरेका थिए । माल्थसको प्राकृतिक सीमाको सिद्धान्तलाई पर्याप्त ध्यान नदिइएको उनको आलोचना थियो । तर, सन १९९० को दशकमा यो बहसले नयाँ मोड लियो । सन् १९९९ मा पौल ब्रुकेटले ‘मार्क्सवाद र प्रकृति’ मा मार्क्सवादको ऐतिहासिक भौतिकवादभित्र भौतिकता र जैविकता दुवै तत्वको सम्बन्ध विश्लेषण शास्त्रीय धारमा समाविष्ट भएको लेखे । यस प्रयासले मार्क्समाथि प्रकाश पार्थे, सँगसँगै एङ्गेल्सको जैविकतावादी योगदानको समेत चर्चा गर्थे ।

एङ्गेल्सको ‘प्रकृतिको द्वन्द्वात्मकता’ बाट प्रारम्भ भएको जैविक मार्क्सवादप्रतिको बढ्दो मान्यताले प्रकृति विज्ञान सम्बन्धि एङ्गेल्सका रचनाहरूप्रतिको रुचिलाई झनै बढाएको छ । सन् २००० यता एङ्गेल्स र उनका रचनाकेन्द्रित अध्ययन अनुसन्धानहरू निरन्तर बढिरहेका छन् । यो प्रयासले ‘वातावरणीय द्वन्द्ववाद’को ज्ञानशाखालाई विस्तारित गर्दैछ ।

‘ड्युहरिङ मत–खण्डन’ मा भएको एङ्गेल्सको प्रसिद्ध कथन– ‘प्रकृति नै द्वन्द्ववादको प्रमाण हो’ ले समकालीन पुँजीवादमाथिको आलोचनालाई अपरिहार्य बनाइदिन्छ । अधिकांश पश्चिमा मार्क्सवादीहरू यही परम्पराभित्र छन् । एङ्गेल्सको उपरोक्त कथनको आजको दृष्टान्त ‘जैविकता नै द्वन्द्ववादको प्रमाण हो ’ बन्न पुगेको छ । यसले समकालीन पुँजीवादी विमर्शमा जस्तै समकालीन जैविकतावादी विमर्शमा पनि ठूलो अर्थ राख्दछ ।

मानव जातिले प्रकृतिमाथि विजय हासिल गरेको भन्दै हामी आफैंले आफैंलाई प्रसंशा गर्दै आएका छौं । तर त्यस्ता प्रत्येक जितका लागि प्रकृतिले मान्छेसँग बदला लिएको छ । यस्ता विजयको पहिलो चरणमा मान्छेले केही जितेजस्तो देखिन्छ, तर दोस्रो र तेस्रो चरणमा त्यस्ता कल्पना नै नगरिएका फरक परिणाम आउने गरेका छन्, जसले पहिलो चरणको जीतका उपलब्धिलाई खारेज गर्दिन्छ ।

मार्क्स र एङ्गेल्सका लागि समाजवादको सारतत्व मानवता र प्रकृतिको उपापचय प्रक्रियाको विवेकपूर्ण नियमन हो । एउटा त्यस्तो बाटो जहाँबाट मानव गत्यात्मकतालाई पूर्ण सम्भावनामा प्रवर्द्धन गर्न सकियोस्, साथै भविष्यको पुस्ताको आवश्यकताको रक्षाकवच बन्न सकियोस् ।

निःसन्देह, मार्क्स मात्र फर्किएका छैनन्, मार्क्ससँगै एङ्गेल्स पनि फर्किएका छन् । उनले एक्काइशौं शताब्दिको संकटग्रस्त र एक खास क्रान्तिकारी समयको परिभाषा गर्न, हाम्रा आशा र प्रेरणाहरूका लागि संघर्ष गर्न सुचित गरिरहेका छन् ।

(सन् १८२० नोभेम्बर २८ मा जन्मिएका फ्रेडरिख एङ्गेल्सको यसवर्ष नोभेम्बर २८ मा २००औं जन्मजयन्ति मनाइएको छ । यस सन्दर्भमा द ज्याकोबिन्समा प्रकाशित द रिटर्न अफ एङ्गेल्सबाट हामीले यो आलेख संक्षेपीकरणसहित भावानुवाद गरेका छौं । ओरिगन विश्वविद्यालयमा समाजशास्त्र प्राध्यापन गरिरहेका लेखक फोस्टर मन्थ्ली रिभ्युका सम्पादक समेत हुन्- सम्पादक)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay