सरकार फेर्न बानी परेकाहरु छट्पटाउन थालेः परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी, १४ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षदिनमा सरकार फेर्न बानी परेकाहरु छटपटाउन थालेको प्रतिक्रिया दिएका छन् । उनले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको टिप्पणी गरे ।
सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले वर्ष-वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रह गरेका हुन् ।
नेपाली जनताले सरकारबाट रिजल्ट, डेलिभरी र आउटपुट चाहेको बताउँदै कोही पनि निराश नहुन आग्रह गरे । उनले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गरे ।
सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी भइरहेकोमा उनको आरोप थियो । उनले सरकारलाई रचनात्मक सुझाव दिन आग्रह पनि गरे ।
सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला भइरहेको उल्लेख गर्दै उनले यस्तो हल्ला निराधार रहेको दावी गरे । जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने उनको तर्क थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढिरहेको उनले दावी गरे ।