स्पेनिस लालिगा फुटबलमा ओसासुनामाथि बार्सिलोनाको फराकिलो जीत
काठमाडौं, १४ मङ्सिर । स्पेनिस लालिगा फुटबल अन्तर्गत आइतबार बेलुका सम्पन्न खेलमा बार्सिलोनाले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० को फराकिलो अन्तरले हराएको हो ।
बार्सिलोनाको जीतमा मार्टिन ब्राथवेट, एन्टोइन ग्रिजम्यान फिलिपे कौटिन्हो र कप्तान लियोनल मेसीले १-१ गोल गरेका थिए । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो ।
खेलको २९औं मिनेटमा ब्राथवेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५७औं मिनेटमा कौटिन्होले गोल गरेपछि बार्सिलोना ३ ० ले अघि बढ्यो । ७३औं मिनेटमा कप्तान मेसीले गोल गरेपछि बार्साको ४ ० को जीत सुनिश्चित भएको थियो ।
जीतसँगै ९ खेलबाट १४ अंक भएको बार्सिलोना अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । त्यसैगरी १० खेलबाट ११ अंक भएको ओसासुना १५औं स्थानमा रहेको छ ।