दक्षिण अफ्रिकाविरुद्धको टी-२० श्रृंखला इंग्ल्यान्डले जित्यो
काठमाडौं, १५ मङ्सिर । दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले तीन खेलको टी-२० श्रृंखला जितेको छ । आइतबार भएको दोस्रो टी-२० मा ४ विकेटको जीत दर्ता गरेसँगै इंग्ल्यान्ड एक खेल खेल्नुअगावै श्रृंखला जित्न सफल भएको हो ।
बोलान्ड पार्कमा दक्षिण अफ्रिकाले दिएको १४७ रनको लक्ष्य इंग्ल्यान्डले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो । इंग्ल्यान्डको जीतमा डेविड मलानले ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान इयान मोर्गान २६ रनमा अविजित रहे भने जस बट्लरले २२ रन बनाए । दक्षिण अफ्रिकाका तब्रेज शाम्शीले ३, लुंगीसानी एंगिडीले २ र कगिसो रबाडाले १ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको द.अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि कप्तान क्विन्टन डिककले ३०, जर्ज लिन्डेले २९ र रासी भान डर डुसेनले अविजित २५ रन बनाएका थिए । इंग्ल्यान्डका आदिल रशिदले २ तथा क्रिस जोर्डन, टम करान र जोफ्रा आर्चरले १-१ विकेट हात पारे ।
यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी२० खेल मङ्गलबार हुनेछ ।