प्रिमियर लिग: आर्सनल वुल्भससँग घरमै स्तब्ध, चेल्सीसँग बराबरी खेलेको टोटनहाम शीर्षमा
काठमाडौं, १५ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा वुल्भरह्याम्पटन वान्डरर्स वुल्भस विजयी भएको छ । लिगमा पाँचौं जीत निकाल्ने क्रममा वुल्भसले आर्सनललाई उसैको मैदानमा २-१ ले हरायो ।
वुल्भसको जीतमा पेड्रो नेटो र डानियल पोडेन्सले १-१ गोल गरेका थिए । आर्सनलका लागि गाब्रियलले एक गोल फर्काए । सबै गोल पहिलो हाफमै भएका थिए ।
खेलको २७औं मिनेटमा नेटोको गोलमार्फत वुल्भसले अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटमै आर्सनलका गाब्रियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
४२औं मिनेटमा पोडेन्सले गोल गर्दै वुल्भसलाई २-१ ले अघि बढाए । दोस्रो हाफमा दुवै टोलीले पाएका मौका सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन र खेल वुल्भसले २-१ ले जित्यो ।
जीतसँगै १० खेलबाट १७ अंक भएको वुल्भस छैटौं स्थानमा उक्लँदा पराजित आर्सनल भने १३ अंकसहित १४औं स्थानमा रहेको छ ।
टोटनहाम शीर्षमा उक्लियो
यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी र टोटनहामले गोलरहित बराबरी खेलेका छन् । चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर खेर फालेका थिए ।
यस बराबरीपछि टोटनहाम भने शीर्षस्थानमा उक्लिएको छ । १० खेलबाट २१ अंक भएको टोटनहाम गोलअन्तरका आधारमा शीर्षमा उक्लिएको हो । दोस्रो स्थानको लिभरपुलको पनि समान २१ अंक नै रहेको छ ।
चेल्सीले भने शीर्षमा उक्लने मौका गुमाएको छ । उसको १९ अंक रहेको छ र तेस्रो स्थानमा यथावत् रहेको छ ।