चोटका कारण वार्नरले टी-२० श्रृंखला गुमाउने, कमिन्सलाई आराम दिइयो
काठमाडौं, १५ मङ्सिर । अस्ट्रेलियन क्रिकेट टोलीका स्टार खेलाडी एवम् बाँयाहाते ओपनर ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको अन्तिम एकदिवसीय खेल तथा टी-२० श्रृंखलाअन्तर्गतको तीनै खेल गुमाउने भएका छन् ।
आइतबार भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा कम्मरमा समस्या देखिएपछि लागेका उनलाई तत्कालै परीक्षणका लागि अस्पताल लगिएको थियो । समस्या जटिल नभएपनि त्यसपश्चात् उनलाई आराम गर्नका लागि सल्लाह दिइएको थियो र उनी घरमै आराम गरिरहेका छन् । उक्त खेलमा वार्नरले ८३ रन पनि बनाएका थिए ।
भारतविरुद्ध डिसेम्बर १७ देखि सुरु हुने टेस्टमा ओपनर वार्नरको भूमिका अहम् हुने भएकाले उनलाई केही साता आराम गरी टेस्टका लागि सुरक्षित राख्न लागिएको हो ।
त्यसैगरी तीव्र गतिका बलर प्याट कमिन्सलाई पनि टेस्ट क्रिकेट सुरु हुने बेलासम्मका लागि आराम दिइएको छ । उनलाई भने चोटको समस्या नभई टेस्टमा मानसिक एवम् शारीरिक रुपले तयार रहनका लागि आराम दिइएको प्रशिक्षक जस्टिन ल्याङ्गरले बताएका छन् ।
‘वार्नरले आफूलाई चोटबाट पूर्णरुपमा मुक्त भएर टेस्ट खेल्नका लागि आराम गरिरहेका छन् भने कमिन्स हाम्रो मुख्य बलर हुन् र खेलाडीहरु शारीरिक र मानसिक रुपमा तयार भएमात्र प्रदर्शन उत्कृष्ट हुने भएका कारण उनलाई पनि आराम दिएका छौं’, प्रशिक्षक ल्याङ्गरले भनेका छन् ।
कमिन्सले गत महिना यूएईमा आयोजना भएको इन्डियन प्रिमियर लिग आइपिएलमा पनि सबै १४ खेलहरु खेलेका थिए । त्यसपछि अस्ट्रेलिया फर्किएर तीन साताको आरामपछि भारतसँगको श्रृंखला सुरु भएको हो ।
यसैबीच टी२० श्रृंखलाका लागि वार्नरको ठाउँमा डार्सी शर्टलाई ल्याइएको छ । शर्ट पनि बाँयाहाते विस्फोटक ब्याट्सम्यान हुन् ।
अस्ट्रेलियाले भारतविरुद्धको तीन खेलको श्रृंखला एक खेलअगावै जितिसकेको छ । पहिलो खेलमा ६६ र दोस्रो खेलमा ५१ रनले जीत निकालेको अस्ट्रेलिया तेस्रो खेलमा पनि जीत निकाल्दै श्रृंखला क्लिनस्वीप गर्न चाहन्छ भने भारत सान्त्वना जीतको खोजीमा रहनेछ । तेस्रो तथा अन्तिम खेल बुधबार हुँदैछ ।