scheduleसोमवारमाघ १२ गते, २०७७

एम्बुलेन्स दुर्घटना हुँदा एक बिरामीको ज्यान गयो, तीन घाइते

विराटनगर, १५ मङ्सिर । मोरङको विराटनगरमा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सप्तरीबाट बिरामी बोकेर विराटनगर आउँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स कञ्चनबारीस्थित कोसी राजमार्गअन्तर्गत सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लरीमा पछाडिबाट ठोक्किएको थियो ।

गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो ।

एक्कासि दमले च्यापेपछि मण्डललाई बिपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक हरिनारायण यादव भने फरार छन् । लरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay