कोरोना संक्रमणबाट पोखरामा तीन र स्याङ्जामा एक कोरोना संक्रमितको मृत्यु
कास्की, १५ मंसिर । कोरोना संक्रमणबाट पोखरामा ३ र स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५८ पुगेको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३ का ६५ वर्षीय एक पुरुष रहेका छन् । उनको मंसिर १४ गते दिउँसो ४ः३३ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
उनमा ८ गते कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड निमोनियाको लक्षण देखिएको थियो । त्यस्तै पोखरा-१६ कै ५७ वर्षीया अर्की संक्रमित महिलाको पनि मंसिर १५ गते बिहान मृत्यु भएको छ ।
मृत्यु हुने अन्यमा पोखरा-१८ का ५१ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय पुरुष रहेका छन् ।