पार्टी फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने नसोचे हुन्छः वरिष्ठ नेता खनाल
इलाम, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने नसोच्न सचेत गराएका छन् । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा सोमबार अस्पताल शिलान्यास गर्दै नेता खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने जिकिर गरे ।
उनले फुट चाहने शक्तिलाई संकेत गर्दै भने, ‘पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश कसैले नगर्दा हुन्छ ।’
उनले नेकपाको बहस देखेर फुट्ने अड्कलबाजी मिथ्या सावित हुने उनको निष्कर्ष थियो । उनले भने, ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न ।’
फुटको हल्ला चल्नुमा मिडियालाई दोष देखाउँदै नेता खनालले भने, ‘खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईंहरूलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ ।’
उनले नेकपाभित्र विद्यमान बहस र विवाद पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘नेकपालाई कसले फुटाउन सक्छ कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ हामी चुनौती दिन चाहन्छौं ।’
उनले नेकपा फुटाउन अहिलेको कानूनले नदिए तर्क गरे । ‘हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौं, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन,’ उनले भने ।