scheduleसोमवारबैशाख ६ गते, २०७८

नेकपा नेताहरु ‘तैं चुप मैं चुप’ !

काठमाडौं, १६ मङ्सिर । सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दै जाँदा दुई अध्यक्षबीच आरोप–प्रत्यारोपसँगै एकअर्काको पोल खुल्न थालेपछि एकाएक ‘तैं चुप मैं चुप’ को अवस्थामा पुगेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी बैठकमै एक अर्कालाई लक्षित गरी आरोप–पत्र पेश भएपछि विवाद थप छताछुल्ल भएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अगुवाईमा पार्टी वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त रुपमा सचिवालय बैठकमा १९ पृष्ठको प्रस्ताव (छलफल पत्र) पेश गरेपछि नेकपा विवाद व्यक्ति लक्षित आरोप प्रत्यारोपमा पुगेको थियो ।

त्यसलगत्तै बसेको सचिवालय बैठकमा उक्त पत्रको प्रतिउत्तरमा प्रधानमन्त्रीले दोब्बर लामो ३८ पृष्ठको पत्र पेश गर्दै प्रचण्डमाथि लक्षित गरी आरोप लगाएपछि अहिले दुवैको पत्रलाई सचिवालयमै गुपचुप राख्‍ने र विवाद मिलाउने तयारी भइरहेको छ ।

प्रचण्डको पत्रमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र सरकारको काम समेतको आलोचना गरिएपछि प्रधानमन्त्री ओलीले काउन्टर दिँदै प्रचण्डलाई जनयुद्धदेखि शहीद, लडाकु र पार्टी सञ्चालनमा भएका कमजोरी औंल्याउँदै धम्कीपूर्ण जवाफ दिएपछि दुई अध्यक्ष ‘तैं चुप मैं चुप’ हुनैपर्ने बाध्यात्मक अवस्थामा आईपुगेका हुन् । ओलीले प्रचण्डको कमजोरी खोज्दै युद्ध अपराधीलाई जस्तै आरोप लगाउन आफ्ना विश्‍वासिला नेता कार्यकर्ता खटाएपछि प्रचण्ड हच्किएका हुन् ।

पूर्व एमालेका केही नेता उचालेर प्रचण्ड हिरो बन्‍न खोजेको र उनलाई हिरोबाट जिरो बनाउन आफूहरु सक्षम रहेको भन्दै ओली पक्षले देशव्यापी प्रचण्ड विरोधी क्याम्पेनिङ चलाइरहेको बुझिएको छ । ‘ओलीसँग टक्कर लिन खोजे प्रचण्डले पार्टीमा नराम्रो नियति भोग्नुपर्ने हुन्छ’ ओली पक्षीय एक नेताले भने, ‘एकलौटी प्रस्ताव ल्याएर आरोप लगाउनु गल्ती भयो भनेर ओलीसँग मिले अझै प्रचण्डलाई नेता स्वीकार्न सक्छौं अन्यथा सोच्‍नैपर्छ ।’

यता प्रचण्ड-नेपाल पक्षले पनि प्रधानमन्त्रीले म सच्चिन तयार छु भनेर आत्मालोचना गरे मात्रै मिलेर जान सकिने भनेको छ । यस्तै ओली र प्रचण्डको तर्फबाट सचिवालयमा प्रस्तुत दुवै प्रस्तावलाई पार्टीको तल्लो कमिटीसम्म लैजाने तयारीमा प्रचण्ड-नेपाल पक्ष छ भने दुवै प्रस्तावलाई सचिवालयमै गुपचुप राख्‍ने र दुवै अध्यक्ष मिलेर साझा प्रस्ताव तयार गर्ने रणनीतिमा ओली पक्ष देखिएको छ ।

आज मङ्गलबार पनि नेकपा सचिवालय बैठक बस्‍ने छ । आजको बैठकअगाडि अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल सँग छुट्टाछुट्टै भेट गर्न चाहेका छन् । तर प्रचण्ड-नेपाल भने अब एक्लाएक्लै भेट्न नजाने रणनीतिमा देखिन्छन् । उनीहरुले अब जसले जे कुरा भन्‍ने हो सिधै पार्टी बैठकमा राख्नुपर्ने अडान लिएको नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay