scheduleबिहिवारमाघ ८ गते, २०७७

बैठकअघि जनार्दनको बोलीले तरङ्ग, महरा पनि सक्रिय

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकलाई बालुवाटारबाट धुम्बाराहीमा सारिएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षले छ्ट्टा–छ्ट्टै रणनीति बनाएर प्रस्तुत हुने तयारी गरेका छन् । आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको संयुक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसङ्ग कोट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको बताइएको छ ।

बैठकअगाडि नेताहरुको दौडधुप बाक्लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन् ।

राष्ट्रपतिदेखि प्रधानसेनापतिसम्मले सोमबारका कतिपय भेटघाटमा समय दिए । यसैबीच नेकपाको विवाद समाधान कार्यदलका सदस्य तथा एकताको सुत्रधार मानिएका जनार्दन शर्मा प्रभाकरले आजको बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनसक्ने आशयको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।

आजको बैठकमा ओलीको ३८ पृष्ठको बदलामा प्रचण्डले पनि पुनः लिखित जवाफ पेश गर्न सक्ने सम्भावना देखिएको छ । सोमबार उनले झण्डै ११ घण्टा खुमलटार छाडेका छन् । उनले ढोलाहिटीस्थित छोरी गंगाको घरमा पुगेर प्रम ओलीविरुद्धको रणनीति तय गर्न समय बिताएका छन् । प्रचण्डनिकट नेताहरुका अनुसार उनले लिखित जवाफ नै पेश गर्न चाहेकोले त्यसैको तयारी गरेको हुनसक्ने अनुमान गरेका छन् ।

सोमबार नै प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बालुवाटारमा भेटे । लगत्तै उनले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग लामो छलफल गरे ।

उता बालुवाटारको सन्देश बोकेर ईश्वर पोखरेल शितलनिवास पुगेका थिए । सोमबार पोखरेलले शितलनिवासमा झण्डै दुई घण्टा समय बिताएका थिए ।

पछिल्लो समय मुलप्रवाहको राजनीतिमा निष्क्रिय रहेका स्थायी समिति सदस्य कृष्णबहादुर महरा सोमबार सक्रिय देखिए । उनले भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको घरमा केही समय राजनीतिक परामर्शमा समय बिताए ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay