भारतमा चर्कियो किसान आन्दोलन, सरकारले वार्तामा बोलायो
काठमाडौं, १६ मंसिर । भारतमा किसानहरुको जारी आन्दोलनपछि केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ । नयाँ कृषि कानुनको विरोधमा दिल्लीको सीमा नाकामा धर्नामा बसेका किसानहरुलाई आज वार्तामा बोलाइएको हो ।
किसानहरुले ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज नै वार्तामा बोलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय तय गरिएको बताए ।
कृषि मन्त्रालयका सचिव संजय अग्रवालले एक विज्ञप्ति जारी गरी किसान युनियनका नेतालाई मन्त्री सम्मिलित समितिले वार्ताका लागि बोलाएको बताएका छन् । मन्त्रालयले दिल्लीस्थित विज्ञान भवनमा ३२ वटा युनियनलाई वार्ताका लागि बोलाएको जनाएको छ।