नेकपा बैठक धुम्बाराहीमा नबस्ने
काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । मंगलबार १ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको हो ।
यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । मंगलबार बिहान बैठक स्थल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै सारिएको एक सचिवालय सदस्यले जानकारी दिए ।
बैठक स्थल किन सारिएको हो भन्ने बारे खुलाइएको छैन । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बोलाएको भन्दै नेकपा शीर्ष नेतृत्वले आलोचना खेप्दै आएको छ ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले यसअघि प्रस्तुत गरेको ३८ पृष्ठको दस्तावेजमाथि प्रचण्ड-माधव नेपाल समूहका ५ सचिवालय सदस्यले संयुक्तरुपमा जवाफ दिने तयारी रहेको खुमलटार स्रोतले जनाएको छ ।