बालुवाटारमा महासचिवलाई जन्मदिनको केक, वामदेवले भने- १०० वर्ष बाँच्नुस्
काठमाडौं, १६ मंसिर । सत्तारुढ नेकपाभित्र विवादले उत्कर्ष रुप लिँदै गर्दा शीर्ष नेताहरुबीच शत्रुतापूर्ण सम्बन्ध विकास हुन थालेको छ । मंगलबार बोलाइएको सचिवालय बैठक सुरक्षाको कारण देखाउँदै धुम्बाराहीबाट बालुवाटार नै सारिएको छ ।
बैठकमा रस्साकस्सी पर्नुअघि माहौल हार्दिकतापूर्ण बनाउन प्रधानमन्त्री कार्यालयले पार्टी महासचिव विष्णु पौडेलको जन्मदिन मनाएको छ । बैठक स्थलमा ६२ वर्ष पुगेका अर्थमन्त्री समेत रहेका पौडेललाई जन्मदिनको शुभकामना दिँदै केट काटिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘महासचिव कमरेड विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे शुभकामना दिंदै पार्टी सचिवालयकाे बैठक शुरू भएकाे छ,’ थापाले भने, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पाेखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचवलाई जन्मदिनकाे बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गर्नुभएको छ ।’
केक खुवाउँदै पार्टी उपाध्यक्ष वामदेव गौतमले महासचिव पौडेललाई १०० वर्ष बाँच्न मात्र भनेनन्, उनले राम्रो काम गरेर जान शुभकामना पनि दिए । यसैसाता गौतमले पौडेललाई कार्यकारी अध्यक्षले बोलाएको बैठक आयोजना गर्न सुझाव दिएका थिए ।
‘उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गाैतमले १०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला भन्दै शब्दमा शुभकामना दिनुभएको छ,’ जन्मोत्सवको माहौललाई शब्दमा उतार्दै सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
जन्मदिनको केक खाएसँगै नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
तस्बिरहरुः सूर्य थापा